close

कानुन निर्माणमा म्याङलुङले देखायो नमुना

कानुन निर्माणमा म्याङलुङले देखायो नमुना

Trulli
ADVERTISEMENT

तेह्रथुम- संविधानले नागरिकको सेवा प्रवाहलाई सहज बनाउन स्थानीय तहलाई आवश्यक ऐन, कानुन निर्माणको अधिकार दिएको छ । तर, सुरुआती चरणमा जनप्रतिनिधि निर्वाचित भएर आउँदा पर्याप्त कानुन थिएनन् । औचित्य र आवश्यकताका आधारमा कानुन निर्माण हुँदै गए । तेह्रथुमको म्याङलुङ नगरपालिकाले आफूलाई चाहिने ऐन, कानुन निर्माणलाई निरन्तरता दिँदा अहिले नगरमा कानुनसम्मत ठूला आयोजना सञ्चालन हुन थालेका छन् । 

 

जनप्रतिनिधि निर्वाचित भएर आए पनि म्याङलुङ नगरपालिकालाई दैनिक प्रशासन चलाउन नियम, कानुन अभाव थियो । सबै प्रकारका कानुन तथा नियमावली बनेका थिएनन् । नियम, कानुन नबन्दा नगरको विकास र सेवा प्रवाहमा चुनौती थियो । तर, जनप्रतिनिधिले आवश्यकताअनुसारको कानुन सिक्दै, बनाउँदै जाँदा अहिले हरेक काम कानुनसम्मत रूपमा अघि बढेका छन् । नगरपालिकाले १७ वटा ऐन, कानुन बनाएर लागू गरेको म्याङलुङ नगरपालिका प्रमुख सञ्जयकुमार तुम्बाहाङफेले बताए ।


कानुन र ऐनमुताविक नगरपालिकाले नगरसभा सञ्चालन गर्दै आएको छ । नगरसभामार्फत बजेट भाषण, ऐन, कानुन पारित गर्दै आएको छ । टोल भेला, वडा भेला हँुदै, नगर भेला गरेर योजना छनोट र प्राथमिकीकरण गर्ने काम भएको छ । यसरी ऐन, कानुन र कार्यविधिका आधारमा काम गर्दा विवाद कम हुने गरेको छ । सोही ऐनमा टेकेर अघि बढाइएका कतिपय पूर्वाधार निर्माण सहज ढंगले सञ्चालनमा छन् भने योजना प्रभावकारी बन्दै गएको नगरप्रमुख तुम्बाहाङफेको बुझाइ छ । 


नगरपालिकाले कतिपय ऐन, कानुन निर्माण र कार्यान्वयनमा अप्ठेरो सामना गरेको छ । खानी तथा प्राकृतिक वस्तु उत्खनन् तथा प्रयोग तथा यसको समस्या समाधान गर्न तत्काल निर्णय गर्नुपर्ने हुन्छ । तर, संघीय र प्रदेश सरकारले कानुन नबनाइदिँदा यससम्बन्धी कानुन निर्माण हुन सकेको छैन । यद्यपि, नगरपालिकाले यस्ता समस्या छिटो र सहज ढंगले समाधान गर्न कोसिस गरेको छ । सोही कारण विभिन्न काम सहज ढंगले समयमै सम्पन्न हुन थालेका नगरपालिकाको भौतिक पूर्वाधार शाखाका इन्जिनियर सुमन खड्का दाबी गर्छन् ।


कानुन बनाएर काम गर्दा नगरपालिकाको सेवा प्रवाह दिगो बन्न पुगेको छ । हरेक काममा सुशासन र पारदर्शिता कायम हुन पुगेको छ । म्याङलुङका जनप्रतिनिधिले कानुन निर्माणमा देखाएको तदारुकताले आगामी दिनमा विकास निर्माण र दीर्घकालीन रणनीति बनाउन सहज हुने देखिन्छ । जनपेक्षाअनुसार काम गर्ने जनप्रतिनिधिको निष्ठाकै कारण कार्य सम्पादन सहज हुने अवस्था बनेको छ ।