close

जुवाडे र जँड्याहालाई १५ दिन ढुङ्गा बोक्ने सजाय

जुवाडे र जँड्याहालाई १५ दिन ढुङ्गा बोक्ने सजाय

Trulli
ADVERTISEMENT

डोटी । केआई सिंह गाउँपालिका-७ मा जुवा तास खेल्न र मदिरा खान प्रतिबन्ध छ । गाउँपालिका-७ का वडाध्यक्ष दिलबहादुर बलायरले शपथ खाएपछि पहिलो निर्णय गर्दै प्रतिबन्धित तास खेलेका र मदिरा खाएकालाई सार्वजनिक स्थानमा १५ दिन ढुङ्गा बोकाउने निर्णय गरेका हुन् । 

'म लामो समयदेखि सामाजिक सेवामै छु । यसअघि नगद कारबाही गर्दा कारबाही तिर्दै खेल्ने र खाने प्रवृत्ति नरोकिएपछि समाजमै खटाउने निर्णय गरिएको हो । ' उनले पालिका खबरसँग भने 'यस्ता गतिविधि गर्नेलाई कारबाही गर्दा ९० हजारसम्म राजश्व उठ्यो तर प्रवृत्ति रोकिएन । त्यसैले यस्ता कार्यलाई रोक्नकै लागि रचनात्मक कारबाहीको व्यवस्था गरिएको हो । '

यसले समाजिक टेवा पुग्ने र गल्ती गर्नेहरू लज्जित भएर यस्ता कार्य न्यूनीकरण हुनेमा वडाध्यक्ष बलायर विश्वस्त छन् । उनका अनुसार कारबाही स्वरूप उनीहरूले वडा कार्यालय, विद्यालय वा विभिन्न संस्थाका ढुङ्गा बोक्नुपर्नेछ । 

वडाध्यक्ष दिलबहादुर बलायरका अनुसार मदिरा बेच्नेलाई ३० दिन ढुङ्गा बोकाइने छ । समाजमै उनीहरूलाई सार्वजनिक हुँदै ढुङ्गा बोक्नु परेपछि नियन्त्रण हुने उनको विश्वास छ । 

उनका अनुसार वडाका ३४ जना व्यापारीसँगको सल्लाहमै निर्णय गरिएको हो । यस कार्यले अहिले वडामा मदिरा खाने र तास खेल्ने शून्यमा झरेको उनी बताउँछन्  । साथै यस निर्णयले गर्दा महिलाहरूले घरको काममा श्रीमान् वा घरका अन्य पुरुष सदस्यको सहयोग पाएका छन् भने तास खेलेर दिनभर बस्नेहरूको संख्या शून्यमा झरेको छ ।