close

थाँक्रेमा वडास्तरीय सार्वजनिक सुनुवाइ 

थाँक्रेमा वडास्तरीय सार्वजनिक सुनुवाइ 

Trulli
ADVERTISEMENT

धादिङ - गाउँपालिकाबाट प्रवाह गरिएका सेवा सुविधाको उपयोगिता, कार्यक्रमको उपलब्धि र बजेट व्यवस्थापनका सबल र कमजोर पक्षका विषयमा नागरिकको धारणा बुझ्न धादिङको थाँक्रे गाउँपालिकाले सबै वडाहरूमा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । 

 

विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना महामारीले सबैलाई आक्रान्त पारिरहेका बेला गाउँपालिकाबाट विगतमा संचालन गरिएका कार्यक्रमहरूको उपलब्धि र व्यवस्थापकीय पक्षका बारेमा जानकारी दिन सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । 

 

गाउँ कार्यपालिकाको निर्णयअनुसार स्वास्थ्य मापदण्ड र भौतिक दूरीको समेत पालना गर्दै ११ वटै वडामा संचालित सार्वजनिक सुनुवाइ १५ असोजमा वडा नम्बर- २ बाट सुरु भएर २३ असोजमा वडा नम्बर- ७ को हाप्सेचौरमा पुगेर सम्पन्न  गरिएको हो । 


    
थाँक्रे गाउँपालिकाको आयोजना र स्थानीय कृषि रेडियोको सहजीकरणमा संचालन गरिएको सार्वजनिक सुनुवाइमा वडास्तरमा संचालन भएका नीति, योजना, बजेट र  कार्यक्रमका बारेमा समुदाय तहमा जानकारी गराई दोहोरो संवाद गराइएको थियो । 


    
कोभिड– १९ का कारण विगतका वर्षहरूमा जस्तै व्यापक जनसहभागिता गराएर कार्यक्रम संचालन गर्न नसकिए पनि सरोकारवाला पक्ष र समुदायका प्रतिनिधिहरूको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको कार्यक्रमका सहजकर्ता सरोज पौडेलले बताए । 

 

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी वडावासीहरूले बजार अनुगमन, फोहोर व्यवस्थापन, खानेपानी, बाटो, कृषि, स्वास्थ्य, शिक्षा, पालिकाको भवन, वडा कार्यालयलगायतका विभिन्न विषयमा प्रश्नहरू राखेका थिए । 

 

कार्यक्रममा उठेका सवालहरूका विषयमा सम्बन्धित वडाका अध्यक्षहरू र थाँक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साललगायतले सम्बोधन गरेका थिए ।

    
वडाभित्रका योजनालाई के कसरी सम्पन्न गरिएको छ, कति बजेट खर्च भएको छ भन्ने विषयमा हरेक नागरिकले थाहा पाउनु अधिकारको कुरा भएकाले सार्वजनिक सुनुवाइ गरेर जनताका गुनासा र जिज्ञासा सुन्न खोजिएको पालिका अध्यक्ष आचार्यले बताए ।