close

मनरा शिसवामा जनतासँग मेयर कार्यक्रम

मनरा शिसवामा जनतासँग मेयर कार्यक्रम

Trulli
ADVERTISEMENT

महोत्तरी । मनरा शिसवा नगरपालिकाले जनताको समस्या बुझ्न जनतासँग मेयर कार्यक्रम लागू गरेको छ ।

नगरप्रमुख मोहन पाण्डेले नगरभित्रका जनताको दुःख बुझ्न र जनाताले चाहे अनुसार विकासका कार्यक्रम गर्न जनतासँग मेयर कार्यक्रमको सुरुआत गरेको बताए ।
 
उनले  पालिकाको कार्यालयमा बसेर योजना बनाउँदा जनताको दुःख पीडाको जानकारी नभएको,समस्या सामाधान गर्न नसकेको र आवश्यक विकासको कामसमेत नभइरहेको गुनासो आउन थालेपछि नगरभित्रका प्रत्येक गाउँ टोलमा गएर जनताका समस्या बुझ्दै योजना बनाउन लागेको जानकारी दिए । 

नगरप्रमुख तथा जनप्रतिनिधिको टोलीले नगरवासीकै चाहनाअनुरुप काम गर्ने प्रतिबद्धता जनाउँदै गाउँमै गएर राय सुझाव सङ्कलन गर्दै आएका छन् । गाउँमै योजना बनाउन थालेपछि मनरासिस्वा –४ का नरेश राउत, शिवजी सहनी, दुःखा मुखियालगायतका स्थानीयले आफ्नो टोलमा बाटो, नाला, किसानका लागि सिँचाइको व्यवस्थापन, शिक्षामा देखिएको कमी कमजोरी र स्वास्थ्यचौकीमा पर्याप्त औषधिको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

वडा नं ५  सुदीश सहनी, रामबाबु यादव र बेचन रायले  गाउँका लागि गाउँमै योजना बनाउँदा दिगो हुने बताए ।

दश वडा रहेको सो नगरपालिकाको जनसङ्ख्या करिब ५० हजारको हाराहारी  छ ।  नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जीनियर तथा अन्य आवश्यक जनशक्तिसहितको टोली पालिकाको गाउँ–टोलमा पुग्न थालेपछि सर्वसाधारणले साँच्चिकै गाउँ–टोलमै सिंहदरबार र आफ्नो स्थानीय सरकारको अनुभूति गर्न थालेको वडा नं ६ का बलिराम साह, बिर्जु साह र विष्णु सहनीले बताए ।