close

वडा वडामा पुगेर सेवा दिदै ‘व्यास नगरपालिका’

वडा वडामा पुगेर सेवा दिदै ‘व्यास नगरपालिका’

Trulli
ADVERTISEMENT

तनहुँ। व्यास नगरपालिकाले पुस ११ देखि २० गतेसम्म एकिकृत घुम्ती सेवा मार्फत नगरबासीलाई घर आँगनमा पुगेर सेवा दिन लागेको छ । सामाजिक सुरक्षा भत्ता कार्ड बितरण र पञ्जिकरण एकाइबाट व्यक्तिगत घट्ना दर्ताको व्यवस्था मिलाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । 

योजना सम्झौता तथा किस्ता सिफारिस, बालीहरुमा देखापर्ने रोगको जैविक विषादी, तरकारीका उन्नत बीउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिने छ । विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य, पाठेघरको मुख र स्तान क्यान्सरा ,एचआइभी, टिबि, औलो रोग, मधुमेह, उच्च रक्तचाप परीक्षण हुनेछ । 

कोभिड–१९को खोप, आङ खस्ने समस्या जाँच र उपचार, औषधि वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा र दुईवर्ष मूनिका बालबालिकाहरुको वृद्धि अनुगमन र पोषण सम्बन्धि सेवा प्रदान गरिनेछ । 

    आयुर्वेद एकाईबाट विभिन्न २५ किसिमका आयुर्वेद औषधि वितरण र आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धमा आवश्यक ज्ञान दिइने नगरपालिकाले जनाएको छ । पशु स्वास्थ्य सेवाको लागि उपचार, रोग निदान, सामान्य शल्यक्रिया, पशु स्वास्थ्यका लागि औषधि वितरण र पशु भ्याक्सिन लगायतका सेवा पशुपन्छी उपशाखाबाट प्रदान गर्ने व्यवस्था मिलाइएको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । ज्येष्ठ नागरिक परिचयपत्र वितरण,अपाङ्गता भएकाको परिचयपत्र र महिला विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम रहेको छ ।