close

हुम्लाका वडा सरकार अझै भाडामा सञ्चालित

हुम्लाका वडा सरकार अझै भाडामा सञ्चालित

Trulli
ADVERTISEMENT

हुम्ला । हुम्लाका एक दर्जन वडा सरकार अझै भाडाको भवनबाट सञ्चालित छन् । स्थानीय सरकार सञ्चालन भएको साढे ६ वर्ष वितिसक्दा पनि हुम्लाका १२ वडा सरकार भाडाको भवनबाट सञ्चालन हुँदै आएको हो । 

हुम्लाका सात वडा गाउँपालिकामा ४४ वटा वडा कार्यालय सञ्चालनमा छन् । ती मध्ये ३२ वटा वडा कार्यालय आफ्नो भवनबाट सञ्चालनमा छन् । आफ्नै नाममा जग्गा भएको र गाउँ सरकारले सहयोग गरेका वडा कार्यालयको भवन निर्माण भएको जनाइएको छ । 

  १२ वटा वडा कार्यालयमध्ये दुई वटा वडाको जग्गा भए पनि भवन निर्माण हुन सकेको छैन । आठ वटा वडाको आफ्नो जग्गा पनि नभएकोले गर्दा भवन निर्माण हुन नसकेको जनाइएको छ । 

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा ६ वटै वडा सरकार आफ्नो भवनबाट सञ्चालित छन् । सबै वडा कार्यालयको आफ्नै भवन भएको्ले भवन निर्माण गर्न सहज भएको गाउँपालिकाले जनाएको छ । 

सिमकोट गाउँपालिकामा रहेका ८ वटा वडामध्ये वडा नम्बर ३ र ६ को मात्र आफ्नै भवन छ । वडा नम्बर ८ को आफ्नो जग्गा भए पनि भवन जीर्ण छ । उक्त गाउँपालिकाका वडा नम्बर २ को जग्गा विद्यालयको भए पनि वडाले आफ्नो भवन निर्माण गरेर कार्यालय सञ्चालन गरिरहेको छ । सिमकोट गाउँपालिकाका बाँकी वडा १, ४, ५ र ७ भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएका छन् ।

 खार्पुनाथ गाउँपालिकामा पनि ५ वटै वडा सरकार आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ । सर्केगार्ड गाउँपालिकामा आठ वटा वडामध्ये १, ३, ४, ५, ६, ७ र ८ को आफ्नै भवन निर्माण भएर कार्यालय सञ्चालन हुँदै आएको छ । वडा नम्बर २ को जग्गा भए पनि भवन नभएका कारण भाडाको घरमा कार्यालय स्थापना गरिएको छ ।

 चंखेली गाउँपालिकामा पनि ६ वटै वडा सरकार आफ्नै भवनबाट सञ्चालनमा रहेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए ।

अदानचुली गाउँपालिकाका ६ वटा वडामध्ये वडा नम्बर २ र ३ ले आफ्नो भवन पाएको छ । गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाका अनुसार सरकारले वडा नम्बर ४ को भवन निर्माणको लागि बजेट विनियोजन गरिएपनि स्थान उपयुक्त नभएकोले निर्माण कार्य रोकिएको छ । हाल गाउँपालिकाको केन्द्रमै ल्याएर सेवा दिइरहेको उनले बताए । वडा नम्बर ५ ले पनि गाउँपालिकाको केन्द्रमै कार्यालय ल्याएको छ । वडा नम्बर १ र ६ ले गाउँमै कार्यालय भाडामा लिएर सेवा प्रवाह भइरहेको उनले बताए ।

ताँजाकोट गाउँपालिकाका ५ वटै वडाका भवन अस्थायी संरचमा सञ्चालित छन् ।  हाल सबै वडा कार्यालयको पक्की भवन निर्माण भइरहेको  निमित्त प्रमुुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए ।