close

बुटवलमा शैक्षिक संस्थाका अगुवाइरुसँग छलफल

बुटवलमा शैक्षिक संस्थाका अगुवाइरुसँग छलफल

Trulli
ADVERTISEMENT

रुपन्देही  । बुटवल उपमहानगरपालिकाले   शैक्षिक संस्थाका अगुवाइरुसँग छलफल गरेको छ । उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आइतबार पालिका क्षेत्रका शैक्षिक संस्थाको अगुवाइहरुसँग छलफल गरेको हो । 

छलफल कार्यक्रमका बोल्दै सहभागीहरुले सामुदायिक र संस्थागत विद्यालयले उत्पादन गर्ने जनशक्ति विदेश जानबाट रोक्नका लागि तीन तहकै सरकारले योजना ल्याउनुपर्ने सुझाव दिएका छन् । उनीहरुले देशमा उत्पादन भएको जनशक्ति खपत गर्नका लागि पर्याप्त क्षेत्र नभएकाले दक्ष जनशक्तिसमेत विदेश पलायन हुने अवस्था रहेकाले आगामी नीति कार्यक्रममार्फत् उत्पादित जनशक्ति स्वदेशमै रोजगार र स्वरोजगार हुनसक्ने गरी नीति ल्याउन सुझाव दिएका हुन् ।

सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरुले बुटवल शिक्षाको क्षेत्रमा अग्रणी रहेको भन्दै उत्पादित जनशक्तिलाई खपत गर्ने नीति ल्याउनुपर्ने बताए । उनीहरुले बुटवलभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधार गर्दै देशमै उदाहरणीय नगरका रुपमा स्थापित गर्न साथ दिने बताए ।
संस्थागत विद्यालयका अगुवाहरुले सरकारी नीतिका कारण मर्कामा परेको र केही राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुको धम्की र चन्दाआतंकका कारण निरुत्साहित भएको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन उपमहानगरसँग माग गरे ।

उनीहरुले विद्यालयहरुले स्तरीय शिक्षा प्रदान गर्न लाखौं करोडौं लगानी गरेपनि लगानी सुरक्षित हुने र अभिभावकले जिम्मेवारीबोध गर्ने वातावरण बिग्रदै गएको भन्दै सरकारी नीतिमा सुधार ल्याउनुपर्ने बताए ।  उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई शैक्षिक क्षेत्रमा अग्रणी नगर बनाउनका लागि शिक्षा क्षेत्रमा थप सुधार ल्याउन सार्वजनिक र संस्थागत विद्यालयले अझै मेहनत गर्नुपर्ने बताए ।

बुटवललाई शैक्षिक हबका रुपमा चिनिएपनि बजारले माग गरेअनुसार सीप र प्राविधिक क्षेत्रमा कमजोर रहेकाले आगामी दिनमा सुधार गर्दै जानका लागि प्राविधिक शिक्षामा जोड दिन उनले आग्रह गरे । उनले सामुदायिक र संस्थागत विद्यालयहरुले किताबी ज्ञानका साथसाथै अनुशासनमा जोड दिनुपर्ने र कुलतमा फस्नबाट जोगाउने गरी नैतिक शिक्षा दिनुपर्नेमा जोड दिए ।

बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।