close

‘एक घर, एक धारा’ पाएपछि रुगाबासीमा खुशीयाली

‘एक घर, एक धारा’ पाएपछि रुगाबासीमा खुशीयाली

Trulli
ADVERTISEMENT

मुगु - छायाँनाथ रारा नगरपालिका वडा नं १३ स्थित रुगा गाउँका नागरिकहरूका घरघरमा धारा पुगेको छ । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत नगरपालिकाको पहलमा जनताका घरमा पानी खानेपानीको धारा पुगेको हो ।

प्रत्येक निर्वाचनका समयमा खानेपानी पु¥याउने राजनीतिक दलका नेताको प्रतिबद्धता रहँदै आएको भए पनि यसपटक भने नागरिकले खानेपानीको धारा पाएपछि एक आपसमा खुशी साट्न पाएका छन् भने वर्षौंदेखि नदीको पानी पिउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

छायाँनाथ नगरपालिकाले सात किलोमिटर परबाट गाउँसम्म पानी ल्याउन सफल भएको नगर प्रमुख विष्णुकुमार भामले जानकारी दिए । उनका अनुसार रू ३८ लाख ३४ हजार ४६ लगानीमा रुगा गाउँमा ‘एक घर, एक धारा’ अभियान सम्पन्न भएको ।

रुगा गाउँ दलित बाहुल्यता रहेको बस्ती हो । यहाँ १०५ वटा धाराहरू निर्माण गरिएका छन् । सुक्खा र भिरालो जमिन भएका कारण गाउँ नजिकै कुनै पनि पानीको मुहान फेला पार्न नसक्दा वर्षौंदेखि खानेपानी उपलब्ध हुन सकेको थिएन । यहाँका मानिसहरू घण्टौं हिँडेर नदीको पानी ल्याएर पिउन बाध्य थिए । 

घरघरमा धारासहित शुद्ध खानेपानी उपलब्ध भएपछि स्थानीय बासी दङ्ग छन् । स्थानीय  बलबहादुर थापाले गाउँमा खानेपानी आएदेखि आफूहरूलाई धेरै सहज भएको बताए । पानीको अभावमा सबैभन्दा बढी महिला,बालबालिकाहरूलाई राहत मिलेको छ । उनले सहजरूपमा पानी उपलब्ध नहुँदा पिउन, खेतवारीमा प्रयोग गर्न र सरसफाइमा समस्या भएको थियो तर अहिले धारामा पानी आउन थालेको छ, सहज भएको छ । 

‘हामी महिलाहरूलाई लुगा धुन, भाँडा सफा गर्न, नुहाउन र बाल बच्चालाई सफा सुग्घर गर्न पानी बढी नै चाहिने भएकाले पानी बोक्न धेरै समस्या थियो । अब धेरै सजिलो भएको छ,’ स्थानीय महिला हरिकन्या नेपालीले भनिन्, ‘आफ्नै खेतबारीमा तरकारी खेती गरेर अब आम्दानीसमेत गर्न सहज हुन्छ ।’