close

खेतीमा आत्मनिर्भर बन्न रामपुरमा तरकारीका बिरुवा वितरण

खेतीमा आत्मनिर्भर बन्न रामपुरमा तरकारीका बिरुवा वितरण

Trulli
ADVERTISEMENT

पाल्पा - तरकारी खेतीमा किसानलाई आत्मनिर्भर बनाउनका लागि पाल्पाको रामपुर नगरपालिकाले व्यावसायिक तरकारी खेतीमा जोड दिएको छ । नगरपालिका आफैले उन्नत प्रविधिबाट विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरी किसनालाई उपलब्ध गराउन थालेको छ ।

गुणस्तरिय बिरुवा नहुँदा पनि किसनाले लगानी र मेहनत गरे अनुसारको उत्पादन लिन नसकिरहेको अवस्थामा नगरपालिका आफैले बिरुवा उत्पादन कार्य सुरु गरेको छ । नगरपालिकाले निर्माण गरेको उच्च प्रविधिको तरकारी टनेल (हाइटेक) मा उत्पादन गरेको बिरुवा किसानलाई अनुदानमा उपलब्ध गराएको छ । हाइटेक टनेलको नर्सरीमा तयार भएका उन्नत जातका काउली, बन्दा, ब्रोकाउली, प्याजका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाका उप प्रमुख बालकुमारी थापाले बताए।

 किसानलाई हाइटेक टनेलबाटै बिरुवा वितरण गर्दै नगर उपप्रमुख थापाले रामपुरमा बाहिरबाट आयातित तरकारीलाई निरुत्साहित गरी स्थानीय उत्पादन बढाउन उन्नत प्रविधिबाट उत्पादन भएका गुणस्तरिय बिरुवा उपलब्ध गराइएको बताउँछन् ।

प्रचलित बजार मूल्यको ५० प्रतिशतअनुदानमा एभरेष्ट ग्रीन जातको ब्रोकाउली, सुपर ह्वाइट टप जातको काउली, ग्रीन टप बन्दा, रेड क्रियोल र नासिक– ५३ जातको प्याजको बेर्ना किसानलाई वितरणकार्य भएको छ । ब्रोकाउली प्रति बेर्ना रु तीन, काउली र बन्दा साँढे दुई रुपैयाँ र प्याजको बेर्ना रु एकको दशवटाका दरले वितरण गरिएको छ ।

नगरपालिकाले उन्नत प्रविधिबाट आफ्नै नर्सरीमा उत्पादन गरेको गुणस्तरिय बिरुवा सहुलियत दरमा पाएपछि किसानलाई धेरै राहत मिलेको किसान गङ्गा श्रेष्ठले बताए । 'बाहिर खरिद गर्नुपर्दा किसनाले महँगो मूल्य तिर्नुपर्ने र समयमा नै बिरुवा नपाइने समस्याले धेरै ठाउँमा भौतारिनुपर्ने थियो, खोजेजस्तै राम्रा बिरुवा नगरपालिकाबाटै सस्तो मूल्यमा पाएपछि धेरै सजिलो भयो,' उनले भने । 

नगरपालिकाले अहिले उत्पादन भएको करिब ४० हजार ब्रोकाउली, काउली र बन्दाको बेर्ना वितरण गर्ने जनाएको छ । सार्वजनिक सूचना निकालेर नगरपालिकाले किसानको मागको आधारमा बिरुवा विरतण गरेको छ । रामपुरमा बुटवल, भैरहवालगायतका बजारबाट दिनहुँ ठूलो परिमाणमा तरकारी भित्रिने गरिरहेको छ ।

गुणस्तरिय बिरुवाको अभावमा व्यावसायीक उत्पादनमा लागेका किसानले लगानी अनुसार प्रतिफल लिन नसकिरहेको बताउँछन् । अब भने उन्नत प्रविधिबाट गुणस्तरिय बिरुवा आफ्नै ठाउँमा पाएपछि उत्पादन बढ्ने र व्यावसायिक कृषिमा किसनालाई धेरै सघाउ पुग्ने युवा किसान दिलबहादुर थापाले बताए। 

कृषिलाई व्यावसायीकरण गर्न र विदेश जान लागेका, विदेश गएर फर्केका युवालाई गाउँमै बसेर व्यावसाय गर्न हौसला प्रदान गर्दै युवा स्वरोजगार कार्यक्रममार्फत दुई वर्षसम्मका लागि तीस लाख रुपैयाँसम्म ब्याज अनुदान कार्यक्रम सञ्चालन गरेपछि तरकारी, पशुपक्षीपालन व्यवसायमा युवाको आकर्षण बढ्दै गएको नगरपालिकाकाले जनाएको छ ।  

नगरपालिकाले कृषिमा रामपुरलाई आत्मनिर्भर बनाउन स्थानीय तहमा जनप्रतिनिधि आएपछि तीन सय मेट्रिकटन क्षमताको शीत भण्डार, हाइटेक टनेल निर्माण गरेको छ । नगरका विभिन्न वडामा फरक–फरक खालको पकेट, ब्लक कार्यक्रम सञ्चालन भइरहेका छन् ।