close

पैदल पुल तर्न ५० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता

पैदल पुल तर्न ५० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता

Trulli
ADVERTISEMENT

कैलाली- कैलारी गाउँपालिकामा नदी ओहोरदोहोर गर्न महँगो शुल्क तिर्नु परेको छ । गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका नदीमा ओहोरदोहोर गर्ने नागरिकबाट पटके शुल्क लिनका लागि ठेक्का सम्झौता नै गरेको हो । 

गाउँपालिकाको वडा नम्बर ३ र ७ मा पर्ने मोहना नदीमा काठको पुल तर्न मोहनपुर, शिवरत्नपुर, हौसलपुरलगायत गाउँहरूका नागरिकले शुल्क तिर्दै आएका छन् । नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने मोहना नदीमा गाउँपालिकाले वर्षातमा डुङ्गा र अन्य समयमा काठेपुल राख्न ठेक्का दिने गरेको छ । 

पालिकाले नदीको तीन वटा घाटको लागि ठेक्का लगाएको हो । घाटको लागि ठेक्का पाएका ठेकेदारहरूले दैनिक रूपमा ओहोरदोहोर गर्नेहरूबाट चर्को शुल्क लिने गरेका हुन् । ठेकेदारहरूले पुलमा हिँडेबापत प्रतिव्यक्तिबाट २० रुपैयाँदेखि ५० रुपैयाँ र मोटरसाइकलसहित पुलमा हिँडेको ८० रुपैयाँसम्म लिने गरेका छन् । 

गाउँपालिकाका अनुसार गत साउनमा ठेक्का लगाइएको हो । सम्झौतामा दररेट नतोकिएको हुँदा ठेकेदारले आफूखुशी शुल्क निर्धारण गरेको गाउँपालिकाले स्वीकार गरेको छ । स्थानीयको गुनासोका आधारमा अनुगमन गरी अधिकतम २० रुपैयाँभन्दा बढी शुल्क लिएमा कारबाहीका लागि सचेत गराइएको गाउँपालिका अध्यक्ष राज समझ चौधरीले पालिकाखबरलाई बताए ।