close

पहिरो पीडितका लागि जग्गा खोज्दै स्थानीय सरकार

पहिरो पीडितका लागि जग्गा खोज्दै स्थानीय सरकार

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– मैवाखोला गाउँपालिकाले पहिरोले विस्थापित भएका परिवारको स्थायी बसोबासका लागि जग्गा खोज्न थालेको छ । गत असार २ गते वर्षाको कारण गएको बाढी र पहिरोले विस्थापित परिवारलाई स्थायी बसोबासको लागि गाउँपालिकाले जग्गा खोज्न थालेको हो । 

गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै जग्गा उपलब्ध गराउन न्यूनतम मूल्यसहित प्रस्ताव पेस गर्न जग्गादातालाई आह्वान गरेको छ । आवश्यक र उपयुक्त जग्गाका लागि क्षेत्र तोक्दै गाउँपालिकाले १५ दिनभित्र प्रस्ताव पेस गर्ने सम्बन्धित जग्गाधनीलाई आह्वान गरेको हो ।

गाउँपालिकाको वडा ३ साँघुस्थित लुकुवा खोला, कागते खोला, बाङ्गेलाम बस्ती र लुकुवा सडकभित्रका जग्गाधनीले प्रस्ताव पेस गर्न गाउँपालिकाले अनुरोध गरेको छ । यस्तै वडा ४ को ताल, आहालडाँडा, हेलिप्याड, जुकेपानी मुहान र कँदेलेडाँडाभित्रका जग्गाधनीलाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो । 

गत असार २ गते वर्षाको कारण गएको बाढी र पहिरोले विस्थापित परिवारलाई गाउँपालिकाले एकीकृत बस्ती हस्तान्तरण गरेर अस्थायी बसोबासको लागि व्यवस्था मिलाएको छ ।  वडा नं ४ ओदकस्थित शेर्पा बस्तीका विस्थापित भएका ६५ परिवारलाई साँघुस्थित निर्माणाधीन मदन भण्डारी स्मृति रङ्गशालामा पालिकाले एकिकृत बस्ती तथा अस्थायी आवास तयार गरि हस्तान्तरण गरेको थियो । 

हाल ती परिवारको लागि स्थायी बासस्थान तयार गर्न जग्गा खोजी गर्न थालिएको पालिका अध्यक्ष विजय प्रकाश वोमनले जानकारी दिए । उनका अनुसार पहिरोपीडितलाई निःशुल्क जग्गा उपलब्ध गराइने छ । जग्गा खोजी भएपछि राष्ट्रिय विपद जोखिम न्युनिकरण व्यवस्थापन, प्रदेश सरकार र स्थानीय सरकार मिलेर स्थायी आवास तयार गर्ने उनले जानकारी दिए ।