close

आज राष्ट्रिय बाल दिवस : प्रधानमन्त्री भन्छन् - सरकारले संरक्षण गर्छ

आज राष्ट्रिय बाल दिवस : प्रधानमन्त्री भन्छन् - सरकारले संरक्षण गर्छ

Trulli
ADVERTISEMENT

काठमाडौँ- आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदैछ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । 

विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए । 

प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न/गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुर्व्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।