close

समन्वय समितिले बनायो १६ वटा वडा कार्यालय

समन्वय समितिले बनायो १६ वटा वडा कार्यालय

Trulli
ADVERTISEMENT

पोखरा– जिल्ला समन्वय समिति कास्कीले आफ्नै लगानीमा जिल्लाका १५ वटा वडा कार्यालय भवन निर्माण गरेको छ । अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडा भवनहरु समन्वय समितिले निर्माण गरेको हो । समन्वय समिति र सम्बन्धित गाउँपालिकाको संयुक्त लगानीमा भवन बनाईएको समन्वय प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।


उनका अनुसार मादीका ९, अन्नपूर्णका ६ र माछापुच्छ्रेको एउटा वडा भवन पालिका र जिल्ला समन्वय समितिको संयुक्त लगानीमा निर्माण गर्न लागिएको हो । मादीका ४ र १२ नम्बरको भवन पूरा भैसकेको छ भने ५, ६, ७, ८ र ९ नम्बरको कार्यालय निर्माणाधीन छन् । ३ र १० नम्बर वडा पनि निर्माणको चरणमा अघि बढिसकेको गाउँपालिकाका प्रबक्ता लालबहादुर गुरुङले जानकारी दिए । ु


यस्तै, अन्नपूर्ण गाउँपालिकाका ३, ४, ५, ७, ८ र ९ नम्बर वडा भवन निर्माणाधीन छन् । ६ र ११ मा पनि माग छ । माछापुच्छ«ेको ९ नम्बर वडा भवन निर्माण सकिएर उद्घाटन हुन बाँकी छ । समन्वय समितिको मौज्दात कोषबाट भवन निर्माण गरिएको क्षेत्रीले जानकारी दिए । यी भवन बनाउँदा समन्वय समितिको ६० र सम्बन्धित पालिकाको ४० प्रतिशत लगानी हुन्छ ।


तत्कालीन जिल्ला विकास समिति हुँदैमा ३० करोड रुपैयाँ मौज्दात कोषको रकम थियो । त्यही रकम समन्वय समितिले पालिकालाई हस्तान्तरण गरेको हो । निर्देशिका अनुसार पालिकाका प्रशासकीय भवन, वडा भवन, खानेपानी संरचना, शिक्षा पूर्वाधार र स्वास्थ्य संरचना निर्माणका लागि मात्रै खर्च गर्न पाइन्छ ।

 

‘सबै साझेदारीमा गर्नुपर्छ । हाम्रो प्राथमिकता वडा भवनमै हो । अहिले भाडामा बसिरहेका वडा कार्यालयहरुलाई आफ्नै भवन दिनुपर्छ भनेर लागेका छौं,’ क्षेत्रीले भने, ‘यसबाहेक खानेपानी र विद्यालयमा पनि लगानी भएको छ ।’


अहिले माछापुच्छ्रे, मादी, अन्नपूर्ण र रुपाका ब्यवस्थित भवन छैनन् । सबै नयाँ बनाउने चरणमा छन् । सबै पालिकाको भवन बनाउन थप २ करोडका दरले उपलब्ध गराउने उनको भनाइ छ । पोखरा महानगरपालिकालाई भने ८ करोड दिने तयारी छ ।


मौज्दात कोषबाहेक समन्वय समितिको आफ्नै आन्तरिक आम्दानी पनि छ । लिजमा दिएको जग्गा र सटरभाडाबाट बार्षिक १ करोड भन्दा बढी आम्दानी भैरहेको छ । सबै आम्दानी पालिकामा पठाउने क्षेत्रीको भनाई छ । कास्की भर ५ पालिका र ७२ वटा वडा छन् ।