close

प्रदेश यातायातमन्त्रीले गरे भरतपुर यातायात सेवा कार्यालयको अनुगमन 

घुस खाने कर्मचारीलाई कारबाहीको चेतावनी

प्रदेश यातायातमन्त्रीले गरे भरतपुर यातायात सेवा कार्यालयको अनुगमन 

घुस खाने कर्मचारीलाई कारबाहीको चेतावनी

Trulli
ADVERTISEMENT

चितवन– बागमती प्रदेशका श्रम तथा यातयातमन्त्री घनश्याम दाहालले यातयात कार्यालयमा सेवाग्राहीसँग घुस खाने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

 

आइतबार भरतपुरस्थित यातायात सेवा कार्यालयको अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री दाहालले कुनै पनि बहानामा नागरिकबाट घुस लिएको खबर आए कर्मचारीलाई कारबाही गर्ने बताएका हुन् ।

 

‘चितवनमा केही दिनअघि कर्मचारीले सेवाग्राहीबाट घुस खाएको घटना बाहिर आएको छ, सेवाग्राहीलाई समस्या देखाएर घुस खाने काम बन्द गर्र्नुस्, फेला परे कारबाही गर्छौं’, उनले भने । मन्त्री दाहालले सेवाग्राहीलाई कर्मचारीले बढी पैसा मागे अख्तियार दुरुपयोग आयोगमा उजुरी गर्न सेवाग्राहीलाई आग्रह गरे ।

 

उनले बागमती प्रदेशमा यातायात सेवालाई नमुना बनाउने अभियानमा गृह जिल्ला चितवनबाट अनुगमन सुरु गरिएको जानकारी दिए । यातायात क्षेत्रमा बागमती प्रदेशलाई मुलुककै नुमना बनाउने घोषण उनले गरे । यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने सेवाप्रति सेवाग्राहीको जनगुनासो बढेपछि सेवालाई गुनासोरहित बनाउन यातायात सेवा कार्यालय भरतपुरबाट अभियान थालिएको उनको भनाइ छ ।

 

‘यातायात कार्यालयलाई एउटा गतिमा लग्नुपर्नेछ’, उनले भने, ‘कार्यालयमा हुने ढिलासुस्तीबारे जनगुनासो आउनुभएन, सेवाग्राहीलाई छिटोभन्दा छिटो सेवा दिनुस्,’ उनले कर्मचारीलाई निर्देशन दिए । मन्त्री दाहालले अहिले नवीकरणको काम गर्दा त गुनासो आउँछ भने भोलि चितवनमा लाइसेन्स नै बनाउँदा के होला भनी प्रतिप्रश्न गरे ।

 

अहिले सबैभन्दा बढी काम यातयात कार्यालयबाट हुने र बदनामा पनि कार्यालय नै रहेको उनको टिप्पणी छ । चितवनको यातयात कार्यालयलाई देशकै नमुना बनाउन सरकार तत्पर रहेको उनले दाबी गरे ।

 

मन्त्री दाहालले लाइनमा बसेका सेवाग्राहीसँग कार्यालयले प्रदान गर्ने सेवाबारे जानकारीसमेत लिएका थिए । सेवाग्राहीले सेवा पाउन निकै खर्चिलो र झन्झटिलो भएको प्रतिक्रिया दिए । मन्त्रीले कार्यालय अनुगमनपछि कार्यालय प्रमुखको कार्यकक्षमै कर्मचारीलाई घुस खाएर काम नगर्न चेतावनी दिए । जनतालाई छिटो–छरितो र सरकारले तोकेको राजस्व रकम लिएर सेवा प्रदान गर्न मन्त्री दाहालले कर्मचारीसँग आग्रह गरे ।

 

यातायात कार्यालयले दिने सेवा–सुविधाप्रति जनगुनासो आएपछि छड्के अनुगमनमा आएको बताउँदै मन्त्री दाहालले जनताले पाउनुपर्ने सेवा–सुविधामा आर्थिक चलखेल भएको जानकारी पाउनासाथ कारबाही गर्ने चेतावनी दिए ।

 

यातायात कार्यालयका कर्मचारीले लाइसेन्स नवीकरण, बाटो इजाजत र जाँचपासमा घुस खाने गरेको र रकम नदिँदा काम ढिलासुस्ती गर्ने जनगुनासो बढेपछि मन्त्री दाहालले छड्के अनुगमन गरेको बताए ।

 

भरतपुर यातायात सेवा कार्यालय प्रमुख विनोद पौडेलले रातदिन नागरिकको सेवा गरिरहेको दाबी गरे । उनले भने,‘कार्यालय सडक छेउमै छ । यहाँ आउने सेवाग्राहीका सवारी सडकसम्मै पार्किङ भइरहेका छन् । छिटो सेवा विस्तार गर्ने व्यवस्था मिलाइदिन मन्त्रीसँग आग्रह गर्छु ।’