close

विकास रोक्ने भेलमा ठडिँदै छ पुल

विकास रोक्ने भेलमा ठडिँदै छ पुल

Trulli
ADVERTISEMENT

तनहुँ- दुई वर्षअघि जुँडीफाँटमा क्याङदीको भेलले स्याङ्जा चिसापानीका पदमबहादुर अर्याल क्षेत्रीको ज्यान बालबाल बच्यो । असारे भेलमा मोटरसाइकलसहित खोला तर्दै गर्दा उनी मुस्किलले बाँचे ।

 

उर्लेको भेलमा ढुंगा भेटियो, त्यसैलाई समातेर जसोतसो उनले ज्यान जोगाए । मोटरसाईललाई भने खोलाले ५० मिटर तल पुर्‍यायो । अहिले पनि त्यो घटना सम्झँदा क्षेत्रीको मन डराउँछ । उनी भन्छन्, ‘त्यो दिन धन्न भाग्य बलियो रहेछ र बाँचेँ । ढुंगा साँच्चिकै देउता सावित भयो मेरा लागि ।’ 

 

यस्तै अनुभव छ, जिप चालक लेखनाथ लम्सालसँग पनि । परार साल बर्खाको बेला क्याङदी तर्दै गर्दा सानो थियो । जब जिप खोलाको बीचमा पुग्यो, एक्कासि उर्लेर आएको भेलले बगाइदियो । सञ्जोगले त्यो दिन जिपमा सवार सबै पुरुष यात्रु थिए । उनीहरू पौडिएर बाँच्न सके । यात्रुले नै डोरीले तानेर लम्साललाई बचाउन सफल भए । ८ वर्षदेखि उनले यसरी नै जोखिम मोलेर सवारी चलाइरहेका छन् ।

 

‘यहाँ त पहिलै पुल बन्नुपर्ने थियो । हिउँदमा केही गाह्रोसाह्रो छैन । असार- साउनमा डराई-डराई खोला पस्नुपर्छ’, उनले भने । लगातार पानी परेका बेला खोला भेल भएर बग्ने हुँदा केही दिन सवारी आउजाउ बन्दसमेत हुने गरेको उनले सुनाए ।


स्याङ्जा भए पनि हरिनासबासीको बजार तनहुँको दुलेगौँडा हो । स्थानीयलाई ओहोरदोहोर गरिरहनुपर्छ । किनमेल गर्न, औषधोपचार गराउन, उच्च शिक्षाका लागि शुक्लागण्डकीमा बग्ने क्याङ्दी नतरी सुखै छैन । 

 

बर्खाका बेला क्याङदीको भेलले कतिको यात्रा रोकिदिन्छ । सुत्केरी गराउन पोखरा लैजानुपर्ने भीमादको बाटो हुँदै जान्छन् । हिउँदको चिसोमा पनि खुट्टा र जुत्ता नभिजाई खोला तर्न पाइँदैन । पुल नहुँदा शुक्लागण्डकी वडा नम्बर ११ जुँडीफाँट आसपासका बस्तीका स्कुले केटाकेटी पनि आधा घन्टा लामो बाटो घुमेर विद्यालय पुग्नुपर्छ । 


हरिनासबासीले जोखिम मोलेर क्याङदी तरेपछि मोटरबाटोको हालत उस्तै छ । बर्खामा हिलो र चिप्लो हुन्छ । जिप चालक लम्साल भन्छन्, ‘बर्खामा गाडी यात्रुले धकेल्दै धकेल्दै ल्याउनुपर्छ । हिउँदमा बुङबुङती धुलो उड्छ ।’

 

१८ वर्ष अगाडि बनेको बाटो हिउँदमा मर्मत ग¥यो, बर्खा लाग्नेबित्तिकै ठूला भ्वाङ पर्छन् । ठाउँ-ठाउँमा पहिरो खस्छ । सवारीमा यात्रा गर्न पनि कठिन छ । हरिनासबासीलाई कहिले चिल्लो कालोपत्रे बाटो बन्ला र सुखले यात्रा गर्न पाइएला भन्ने आशा छ । 

 

अब भने हरिनासको समृद्धि रोक्ने क्याङदीको भेल वारपार गर्न पक्की पुल बन्न थालेको छ । कालोपत्रे सडकमा गाडी गुडाउने चालक र चढ्ने यात्रुको सपना पनि पूरा हुँदै छ ।

 

गण्डकी प्रदेश सरकारले जुँडीफाँटमा पुल र ढोरबाराही मार्गको जुँडीफाँट-चिसापनी हुँदै हरिनास गाउँपालिकाको केन्द्र पुग्ने सडक कालोपत्रेका लागि गत वर्ष बजेट विनियोजन गरेको थियो । 

 

२०७५ कात्तिकमा यहाँको महिमा माविले प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरेको महायज्ञ उद्घाटन गर्न आएका बेला पुल बनाइदिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको वाचाअनुसार बजेट विनियोजन भएको हो ।


ठेक्का लागे पनि अघिल्लो वर्ष कोरोना कहरले काम सुरु भएन । यतिबेला भने धमाधम काम भइरहेको छ । पुल निर्माण थालिएको छ भने सडक स्तरोन्नतिको कामले गति लिएको छ ।


४० मिटर लामो पुल बन्नेछ । १६ किलोमिटर सडक कालोपत्रे हुनेछ । ३२ करोड ६५ लाख ४७ हजार १ सय ४९ रुपैयाँमा पुल र सडक कालोपत्रे गर्न गोल्डेनगुड बानिया जेभीले ठेक्का पाएको छ । १५ जेठ २०७६ मा सम्झौता भएको सडक कालोपत्रेको र पुल निर्माणको म्याद २ वर्षको छ । 


पुल बनेर सडक कालोपत्रे भएपछि हरिनास गाउँपालिकाको केन्द्र गण्डकी प्रदेशको केन्द्र पोखरासँग कालोपत्रे बाटोले जोडिनेछ । क्याङदीमा पुल र सडक कालोपत्रे भएपछि हरिनासमा विकासको लहर भित्रिने गाउँपालिका उपाध्यक्ष झनमाया पराजुली बताउँछिन् । 


उनी भन्छिन्, ‘वर्षौंदेखिको हरिनासबासीको सपना पूरा हुँदै छ । गाउँबासी खुसी छन् ।’ सडक र पुलले बसाइँसराइ रोक्ने र कृषि उत्पादनमा लाग्न प्रेरित गर्ने उनको ठम्याइ छ । 

 

यस्तै, हरिनासमै पहिलो पटक सडक कालोपत्रे गरिएको छ । राम्चेदेखी रोदीखोलासम्म १ हजार ३ सय ४० मिटर सडक कालोपत्रे गरिएको हो । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा यो सडक कालोपत्रे भएको उपाध्यक्ष पराजुलीले जानकारी दिइन् । उनका अनुसार कालोपत्रेका लागि १ करोड ६१ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो ।