close

पोखराको महँगो सडक : साढे ३ किलोमिटरमा पौने २ अर्ब लगानी

पोखराको महँगो सडक : साढे ३ किलोमिटरमा पौने २ अर्ब लगानी

Trulli
ADVERTISEMENT

कास्की- पोखराको तालचोकदेखि वेगनाससम्मको सडक स्तरोन्नति गरिने भएको छ । करिब साढे ३ किलोमिटर सडकका लागि विश्व बैंकको सहयोगमा झन्डै पौने २ अर्ब रुपैयाँ लगानी गरिनेछ ।

 

यो सडक १ अर्ब ६० करोड ५० लाख रुपैयाँको लागतमा स्तरोन्नति गर्न लागिएको महानगरले जनाएको छ । लागत अनुमानका हिसाबले यो सडक सबैभन्दा महँगो हुनेछ । 


विश्व बैंककै सहयोगमा डीपीआरसमेत तयार गरिएको छ । ३.२८ किलोमिटर यो सडक ४ लेनको हुनेछ ।

 

सडक दायाँबायाँ साइकल ट्रयाक, पैदल मार्ग, व्यवस्थित नाला, हरियाली, पार्किङ र सौर्य बत्ती राखिने प्रोजेक्ट इन्जिनियर नवराज बोहराले जानकारी दिए । सडकमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिने उनी बताउँछन् । 

 

बुधबार सडकको डीपीआर सार्वजनिक गरिएको थियो । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले सडकलाई पोखराको नमुनाको रूपमा विकास गरिने बताए । 

 

‘वर्षौंदेखि नागरिकले प्रतीक्षा गरेको एउटा सपना पूरा हुँदै छ । हामीले यसलाई नमुना सडकको रूपमा स्तरोन्नति गर्न लाग्यौँ’, उनले भने, ‘समयमै काम सक्नुपर्ने चुनौती छ । सडक बनेपछि वेगनासताल क्षेत्रको पर्यटन उकासिन्छ ।’


विश्व बैंकको सहयोगमा बन्न लागेको यो सडक निर्माणपछि साझेदारीमा अरू विकासका ढोकासमेत खुल्ने नगरप्रमुख जिसीले बताए । बाटो विस्तार गर्ने क्रममा खानेपानी, विद्युत् र टेलिफोन स्थानान्तरणको काम एकीकृत रूपमा गरिने उनले जानकारी दिए ।

 
महानगरका प्रमुख प्रसासकीय अधिकृत महेश बरालले आयोजनाको लागत नबढ्ने गरी काम गर्न आग्रह गरे । यस आयोजनामा सहरी विकास मन्त्रालयसँग पनि सम्झौता गरेर कार्य अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

 

वैदेशिक सहायतामा निर्माण गरिने सडक भएकाले निर्माण सम्पन्न हुँदा डीपीआरमा तोकिएअनुसारको गुणस्तर कायम हुनुपर्ने सर्त रहेको उनले औँल्याए ।