close

नमुना सडकमा ठेकेदारको बदमासी, नाफा कमाउन जनप्रतिनिधिकै ‘सेटिङ’

नमुना सडकमा ठेकेदारको बदमासी, नाफा कमाउन जनप्रतिनिधिकै ‘सेटिङ’

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नतिका लागि सञ्चालित सडक आयोजनाका ठेकेदारले ठेक्का सम्झौता नगर्दै बदमासी गरेका छन् ।

 

ठेक्का प्रतिस्पर्धामा छनोट भएको देव एन्ड सायर–तिलक जेभीका प्रतिनिधिले सम्झौता नहुँदै आयोजना निर्माण स्थलमा कम गुणस्तरको निर्माण सामग्री लगेर भण्डारण गरेका हुन् ।


सडक खण्डको ज्यामिरेस्थित एक व्यक्तिको घरमा केही दिनअघि ठेकेदार कम्पनीका प्रतिनिधिले अग्नि ब्रान्डको ३ सय ५० बोरा पीपीसी सिमेन्ट लगेर भण्डारण गरेका थिए ।


गाउँपालिकाका पदाधिकारी, कर्मचारी र प्राविधिकको मिलेमतोमा ओपिसी सिमेन्ट प्रयोग गर्नुपर्नेमा पीपीसी सिमेन्ट प्रयोग गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् । प्राविधिकका अनुसार ढिलो सेट हुने पीपीसी सिमेन्ट छिटो जम्ने र बढी मूल्य पर्ने ओपिसी सिमेन्टभन्दा सस्तो पर्छ ।


यसैगरी क्रसरबाट प्रशोधन गरिएको गिटी, बालुवा प्रयोग गर्ने कबोलेका ठेकेदारले म्याग्दी खोलाको अप्रशोधित गुणस्तरहीन बालुवा लगेर निर्माण स्थलमा थुपार्न थालेका छन् ।


राष्ट्रिय योजना आयोगसँगको साझेदारीमा गाउँपालिकाले २ करोड ८० लाख रुपैयाँ कबोलेको देव एन्ड सायर तिलक जेभीसँग ठेक्का सम्झौता प्रक्रिया अघि बढाएको छ । ३ करोड ३४ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो ।

 

कम कबोलेको सो कम्पनीसँग सम्झौता भने भइसकेको छैन । सम्झौता नगर्दै ठेकेदारले निर्माण स्थलमा कम गुणस्तरको निर्माण सामग्री आपूर्ति गर्नुलाई मिलेमतो र रहस्यको रूपमा शंका गर्न थालिएको छ ।


सो आयोजनाको प्रतिनिधि म्याग्दीमा धेरै सडक र विकास आयोजना ठेक्का लिएर अलपत्र पार्दै आएका निर्माण व्यवसायी संघ म्याग्दीका वरिष्ठ उपाध्यक्ष विपिन खड्का हुन् ।

 

मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले कुन गुणस्तरको सिमेन्ट प्रयोग गर्ने भन्ने तय र ठेक्का सम्झौता पनि भइनसकेको भन्दै ठेकेदारको संरक्षण गर्ने हिसाबले प्रतिक्रिया दिए ।


इञ्जिनियर सुजन पौडेलले भने स्थानीयले गुनासो गरेपछि प्राविधिक विपिन आचार्यलाई गोदाम निरीक्षणका लागि पठाइएको बताए ।


आयोजना निर्माण व्यवसायी खड्काले प्राविधिक, कर्मचारी र पदाधिकारीसँगको ‘सेटिङ’ मा ठेक्का लिएको गुनासो आएको छ । खड्काले भने गाउँपालिकासँग समन्वय नगरी निर्माण स्थलमा कम गुणस्तरको सिमेन्ट लैजाने कमजोरी भएको भन्दै त्यसलाई फिर्ता गर्ने प्रतिक्रिया दिए ।


२०७५ मा गाउँपालिकाले ट्रयाक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी वडा नम्बर ३ को वडा कार्यालय हुँदै ४ नम्बर वडाको कार्यालय रहेको बुकेनी जोड्ने सडकको पोकदेखि ज्यामिरे हुँदै पहिरो खोरियासम्मको पहिलो खण्डको स्तरोन्नति हालै सकिएको थियो ।


साविक बरंजा गाविसमा पर्ने ३ र ४ नम्बर वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई गाउँपालिकाले प्राथमिकता दिएको छ । यो सडकबाट १ हजारभन्दा बढी घरधुरी लाभान्वित हुनेछन् ।