close

३ सय ७ मिटरको पुल बनाउन १० वर्षले पनि पुगेन !

एउटा पुल जसका लागि ५ पटक म्याद थपियो

३ सय ७ मिटरको पुल बनाउन १० वर्षले पनि पुगेन !

एउटा पुल जसका लागि ५ पटक म्याद थपियो

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ सिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माण कम्पनीको बेवास्ताले अलपत्र परेको छ । ८ वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने पुल अहिलेसम्म अलपत्र बनेको हो । 

 

त्रियुगा नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको १० वर्ष बितिसके पनि अहिलेसम्म अधुरै छ । १० वर्षदेखि निर्माणाधीन सिवाई पुलको काम ७५ प्रतिशत मात्र भएको छ ।

 

२३ असार २०६७ मा सुरु गरेर २२ असार २०७० भित्र निर्माण हुने गरी पुल बनाउने जिम्मा महालक्ष्मी लोकप्रिय जेभी कलंकी काठमाडौंले लिएको थियो । १३ स्पानको ३ सय ७ दशमलव ६ मिटर लम्बाइ र ५ मिटर चौडाइको यो पुल अहिलेसम्म निर्माण पूरा नभएको गाईघाट–दिक्तेल सडक योजना कार्यालयले जनाएको छ ।


पुलको आर्थिक वर्ष २०७०/७१ सम्पन गर्ने गरी ठेक्का सम्झौता भई काम सुरु गरिएको थियो । सुरुमा ठेक्का ९ करोड ७६ लाख रुपैयाँको लागत स्टिमेट गरिए पनि मूल्य समायोजनका कारण ११ करोड रुपैयाँभन्दा बढी पुगिसकेको छ ।


निर्माणाधीन पुलको ५ पटक म्याद थपिइसकेको छ । तोकिएको समय काम नगरेकाले सडक योजना कार्यालयले निर्माण कम्पनी महालक्ष्मी लोकप्रिय जेभी कन्स्ट्रक्सनलाई १० प्रतिशत जरिवाना गरी कारबाही गरिसकेको गाईघाट-दिक्तेल सडक योजना कार्यालय गाईघाटका प्रमुख डिभिजन इञ्जिनियर गोपालप्रसाद खकुरेलले जानकारी दिए ।


‘कार्यालयले पुल निर्माणमा ढिलासुस्ती गरेकाले पटक-पटक म्याद थप गर्दासमेत काम सम्पन्न नगरेपछि १० प्रतिशतले १ करोड रुपैयाँ जरिवानासहित कारबाही गरिएको छ’, प्रमुख खकुरेलले भने ।


महालक्ष्मी लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडाैंका प्रतिनिधि केदारप्रसाद तिम्सिना भने बालाजु काठमाडौंका स्वाइल ट्रेस्ट गर्ने कन्सल्टेन्ट कम्पनीले गलत गरेकाले ढिलाइ भएको बताउँछन् । ‘सडक विभागले कन्सल्टेन्सीले दिएको रिपोर्टअनुसार ओपन फाउन्डेसनमा काम गर्ने गरी ठेक्का लगाएकामा काम गर्ने क्रममा ओपन फाउन्डेसन असफल भएपछि पुनः डिजाइन गर्न डेढ वर्ष लाग्यो ।

 

त्यसपछि पिलर लगाउने स्थानमा ठूल्ठूला काठका मुढा भेटिएपछि निकाल्न ४ वर्ष खर्चिनुपरेकाले निर्माणमा ढिलाइ भएको हो’, तिम्सिनाले भने ।

 

पिलरमुनि भेटिएका सालका मुढा निकाल्न ड्रयागलाइन मेसिन आवश्यक पर्ने भएकाले मेसिन ल्याउन ढिलाइ भएर रूखको ठुटा झिक्न समय लागेको हो । काम गर्ने सिलसिलामा ७ नम्बर पिलरमा ८ वटा, १० नम्बर पिलरमा १२ वटा र उत्तरतिरको स्याम्पमा १० वटा ठूला सालका मुढा भेटिएका थियो ।

 

पिलरमुनि भेटिएका सालका मुढा निकाल्न बाहिरबाट गोताखोर ल्याउनु परेकाले त्यसका लागि मात्र ७ करोड रुपैयाँ बढी खर्च भएको उनले बताए । पुलको अन्तिम पिलरमा जमिनमुनिको बयल गाड्ने काम सकिएर डेढ मिटर मोटाइको ढलान पनि सकिइसकेको उनको भनाइ छ । 

 

तर, जमिनमुनिको ढलानमा वर्किङ भएकाले त्यसलाई गोताखोरको माध्यमद्वारा टाल्ने काम भइरहेको र केही दिनमा सकेर जमिनमाथिको हात्तीपाइले ढलान गरिने जानकारी उनले दिए । पुलको बाँकी रहेको एउटा पिलर र एउटा स्याप्प वैशाखभित्र निर्माण सम्पन्न गरी जिम्मा दिने तयारीमा जुटेको उनले सुनाए । 


ठेक्का लिएको महालक्ष्मी लोकप्रिय जेभी कन्स्ट्रक्सनले आफूले काम नगरेर अन्यलाई जिम्मा दिएकाले पनि ढिलाइ भएको स्थानीयको गुनासो छ । पुल निर्माण सुरु गर्दा महालक्ष्मी लोकप्रिय जेभी कन्स्ट्रक्सनको मालिक आफैं भएको भन्दै रामेछापका कमलविक्रम कार्कीले काम थालेका थिए । 


तर, उनले महालक्ष्मी लोकप्रिय जेभी कन्स्ट्रक्सनसँग सबकन्ट्याक्टर भएर काम गरेको र घाटा भएपछि काम अलपत्र पारेर भागेकाले पनि निर्माणमा ढिलाइ भएको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष देवनारायण चौधरीले बताए ।


महालक्ष्मी लोकप्रिय जेभी कन्स्ट्रक्सनले पनि पुल निर्माण विभिन्न बहानामा कछुवा गतिमा अगाडि बढाइरहेको वडाध्यक्ष चौधरी बताउँछन् । पुल निर्माणमा ढिलासुस्ती हुँदा राज्यलाई मूल्य समायोजनको नाममा बर्सेनि करोडौँ रुपैयाँ नोक्सान भइरहेको स्थानीय सुनाउँछन् ।

 

यो पुल गाईघाट-दिक्तेल सडक योजना कार्यालय गाईघाटले हेर्दै आएको छ । योजना कार्यालय गाईघाटका प्रमुख गोपालप्रसाद खकुरेलले निर्माणाधीन पुलको काम चालू आर्थिक वर्षभित्र सम्पन्न हुने गरी काम लगाइएको दाबी गरे । चालू आर्थिक वर्षमा पुल सञ्चालनमा ल्याउने योजना रहेको उनले जानकारी दिए ।

 

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५, ९, १० का स्थानीयलाई नगरको केन्द्र आउजाउ गर्न त्रियुगा नदीमा पुल निर्माण नहुँदा वर्षको ७ महिना जोखिम मोलेरै डुंगा चढ्नुपर्ने बाध्यता छ । हिउँदमा अस्थायी रूपमा बनाइएको बालुवाको पुलले राहत दिए पनि वर्षामा समस्या भोग्नु परेको स्थानीयको गुनासो छ ।

 

सप्तरीको फत्तेपुर, उदयपुरको सिवाई-बेलटार हुँदै खोटाङको चिसापानी बजार जोड्ने गरी चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ त्रियुगा नदीमा पुल निर्माण भइरहेको हो । पुल निर्माण सुरुदेखि नै सुस्त गतिमा भइरहेको चौदण्डीगढी नगरप्रमुख खग्रेन्द राईले बताए ।


‘पुल छिटो सक्न र कामलाई तीव्रता दिन कन्स्ट्रक्सन कम्पनी र सडक विभागलाई पटक-पटक अनुरोध गरेका छौँ’, नगरप्रमुख राईले भने, ‘नगरपालिकाले पनि पुल चाँडै सकियोस् भनेर कन्स्ट्रक्सन कम्पनीलाई सहयोग गरिरहेकै छ ।

 

३ सय ७ मिटर लामो डबल लेनको पुल निर्माण सम्पन्न भई सञ्चालनमा आए दोस्रो ठूलो व्यापारिक केन्द्र बेल्टार बजारसँगै सप्तरीको पूर्व, उत्तर र खोटाङको दक्षिण भेगका बासिन्दाले राहत पाउने थिए ।’