close

डीएमगेट-बिसनपुर सडक कालोपत्रे 

डीएमगेट-बिसनपुर सडक कालोपत्रे 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुर सदरमुकाम गाईघाटस्थित डीएमग्रेट लक्ष्मीपुर खण्डको सडक कालोपत्रे भएको छ । ३ वर्षअघि नै कालोपत्रे हुनुपर्नेमा विभिन्न कारणले रोकिन पुगेको त्रियुगा नगरपालिका वडा नम्बर १२ डीएमगेट-लक्ष्मीपुर खण्डको सडकमा बल्ल कालोपत्रे भएको हो ।

 

त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को डिएमगेटदेखि बिसनपुर हुँदै त्रियुगाको वडा नम्बर १३ लक्ष्मीपुरसँग जोडिने सडकमा कालोपत्रे सम्पन्न भएको भएको हो । 

 

तत्कालीन डिभिजन सहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजबाट कालोपत्रे गर्ने भनिएको सो खण्डको सडक सुरुमा त्रियुगा आफैंले गर्ने गरी आर्थिक वर्ष २०७४/७५ मा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

 

‘नगर नमुना सडक’ बनाउने घोषणासहित ९० लाख रुपैयाँमा ठेक्का लागेर काम सुरु भए लगत्तै असार लागेपछि नदीजन्य पदार्थ उत्खननमा रोक लागेकाले काम रोकिएको थियो । 


राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम लागू भएका जिल्लामध्ये उदयपुर पनि एक भएकाले त्यसबेला प्रशासनले ढुंगा, गिट्टी बालुवा उत्खनन र बिक्री वितरणमा रोक लगाएका कारण काम अघि बढ्न नसकेको त्रियुगा नगरप्रमुख बलदेव चौधरीले बताए । 

 

काम रोकिएसँगै आर्थिक वर्ष समाप्त भएपछि रकम फ्रिज भएकाले रोकिएको काम सहरी विकास कार्यालयमार्फत अघि बढाउन खोजे पनि चौडाइ विवादले पुनः अवरुद्ध हुन पुगेको थियो ।

 

३ वर्षअघि गर्ने भनिएको कालोपत्रेको काम चालू वर्ष नगरपालिकाले अघि बढाएको नगरप्रमुख चौधरीको भनाइ छ । 


चालू वर्ष प्रदेश सरकारको ५० लाख रुपैयाँको समपूरक बजेटबाट ७ मिटर चौडाइको ५ सय ४० मिटर सडक कालोपत्रे गरिएको छ । बाँकी खण्डमा कालोपत्रे गर्न थप बजेट आवश्यक पर्ने भएकाले स्रोत खोजी भइरहेको नगरपालिकाले जनाएको छ । 

 

बजेट व्यवस्था गर्न सके चालू वर्ष र नसके आगामी वर्षभित्र बिसनपुरसम्म कालोपत्रे गर्ने गरी स्रोतको खोजी भइरहेको हो । 

 

त्रियुगाको वडा नम्बर १२ का वडाध्यक्ष जयविक्रम राईले डीएमगेटदेखि बिसनपुरसम्म आधा किलोमिटर कालोपत्रे भएको र बाँकी काम गर्न आवश्यक स्रोत जुटाउन वडा र नगरपालिकाले विभिन्न निकायसँग पहल गरिरहेको बताए । 

 

बिसनपुरदेखि लक्ष्मीपुर-पोर्ताहासम्मको ६.५० किलोमिटर खण्डमध्ये अब ६ किलोमिटर खण्डमा कालोपत्रे गर्न बाँकी छ, जसमध्ये यही वर्ष विनियोजित ५० लाख रुपैयाँ बजेटबाट थप आधा किलोमिटर कालोपत्रे हुने उनले जानकारी दिए ।

 

बाँकी खण्डमा पनि सकेसम्म चालू वर्ष नै कालोपत्रे गरिसक्ने गरी बजेटको खोजी भइरहेको छ । 


सोही सडकको बिसनपुरस्थित बरुवा खोलादेखि पारितर्फ भने कालोपत्रे गर्ने गरी सघन सहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजले गत वर्ष नै ठेक्का लगाएर निर्माण भइरहेको छ । सगरमाथा कन्स्ट्रक्सन गाईघाटले निर्माणको जिम्मा पाएको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष राईले बताए ।

 

सदरमकुामको सडक त्यसमाथि नगरको नमुना सडक घोषणा गरिएकाले डीएमगेट-बिसनपुर खण्डमा छिटोभन्दा छिटो कालोपत्रे गरिसक्नुपर्ने स्थानीयको माग रहेको वडाध्यक्ष राईले सुनाए ।