close

जन्तेढुंगामा खुल्यो पाँचौँ सामुदायिक स्वास्थ्य इकाइ केन्द्र 

जन्तेढुंगामा खुल्यो पाँचौँ सामुदायिक स्वास्थ्य इकाइ केन्द्र 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकामा पाँचौँ सामुदायिक स्वास्थ्य इकाइ केन्द्र विस्तार गरिएको छ । 

 

स्वास्थ्य सेवा लिन घन्टौँ हिँड्न बाध्य नागरिकलाई लक्षित गरेर जन्तेढुंगाको वडा नम्बर ४ डम्बर्खुशिवालयको कात्तिकेमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको हो ।

 

बुधबार गाउँपालिका अध्यक्ष शंकर राईले कात्तिकेस्थित सामुदायिक स्वास्थ्य इकाइ केन्द्र उद्घाटन गरे । 

 

सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ गत २७ माघमा डम्बर्खुशिवालयकै बाम्राङमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको थियो ।

 

कात्तिकेमा गाउँपालिकाकै पाँचौँ सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको हो । आवश्यक औषधीसहित १ जना अहेब र १ जना अनमीको व्यवस्था गरेर डम्बर्खुशिवालयको बाम्राङमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।

 

स्वास्थ्य सेवाका लागि आधा घन्टाभन्दा बढी समय हिँड्न बाध्य सर्वसाधारणलाई लक्षित गर्दै स्वास्थ्य चौकीसरहको सेवा प्रवाह गर्ने गरी सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । 

 

यसअघि जन्तेढुंगाको वडा नम्बर ४ डम्बर्खुशिवालयको बाम्राङ, वडा नम्बर २ बोपुङको डुम्रेबोटे, वडा नम्बर १ देवीस्थानको सिक्किमटार र वडा नम्बर ५ चिसापानीको खुटाछिरुवाघारमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना भइसकेका छन् ।

 

सामान्य उपाचारका लागि घन्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्न बाध्य सर्वसाधारणलाई आफ्नै गाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने गरी चालू आर्थिक वर्षभित्रै बाँकी २ वटा वडामा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र विस्तार गरिने गाउँपालिकाले जनाएको छ । 

 

यस्तै, जन्तेढुंगाको वडा नम्बर ४ डम्बर्खुशिवालयमा बर्थिङ सेन्टर पनि स्थापना गरिएको छ । गाउँपालिकाकै दोस्रो बर्थिङ सेन्टरबाट गत १४ पुसदेखि सेवा सुरु गरिसकिएको छ । 

 

यसअघि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए ।