close

पूर्वाधारमा कैफियत गर्ने व्यवसायीलाई कारबाही गर्न पालिकाको माग

पूर्वाधारमा कैफियत गर्ने व्यवसायीलाई कारबाही गर्न पालिकाको माग

Trulli
ADVERTISEMENT

खोटाङ– स्वास्थ्य चौकी भवन निर्माणमा ढिलासुस्ती भएपछि खोटाङको साकेला गाउँपालिकाले ठेकेदारमाथि कारबाही गर्न माग गरेको छ ।

 

साकेलाको वडा नम्बर ५ मात्तिम बिर्तामा ३ वर्षमा निर्माण गरिसक्नुपर्ने स्वास्थ्य चौकी भवन ५ वर्षमा पनि पूरा नभएपछि गाउँपालिकाले ठेकेदार कम्पनी यूएस–नाना जेभी नीलकण्ठ धादिङलाई कारबाहीको माग गरेको हो ।

 

स्वास्थ्य चौकी भवन निर्माण पूरा गर्न निर्माण कम्पनीलाई बारम्बार आग्रह र ताकेता गर्दा पनि बेवास्ता गरेको भन्दै गाउँपालिकाले कानुनी कारबाहीका लागि सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई २० फागुनमा पत्राचार गरेको छ । 

 

स्वास्थ्य चौकीको अधुरो काम शीघ्र पूरा गर्न लिखित र मौखिक आग्रह गर्दा र सचेत गराउँदा पनि ठेकेदार कम्पनीले बेवास्ता गरेकाले कानुनी कारबाहीका लागि प्रक्रिया अघि आयोजनालाई पत्राचार गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए । 

 

‘भवन निर्माण पूरा गर्न निर्माण व्यवसायीलाई चारपल्टसम्म पत्र पठाइसक्यौँ । तोकिएको समय स्वास्थ्य चौकी भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको छ’, गाउँपालिका अध्यक्ष खड्काले भने ।


३ वर्षमा पूरा गर्ने गरी २० कात्तिक २०७२ मा सम्झौता गरिएको स्वास्थ्य चौकी भवनको फिनिसिङ काम मात्र बाँकी छ । ३१ असार २०७७ सम्म थप भएको म्याद सकिएपछि पुनः थपिएको ६ महिने म्याद पनि गत २९ पुसमा गुज्रिइसकेको संघीय सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोद सिंले बताए । यूएस–नाना जेभीले २ करोड १६ लाख रुपैयाँमा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको हो । 

 

बैंक ग्यारेन्टी तान्न पत्राचार 

 

स्वास्थ्य चौकीको भवन निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि साकेला गाउँपालिकाले पत्राचार गरेपछि सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले बैंक ग्यारेन्टी तान्ने प्रक्रिया थालेको छ ।

 

ठेकेदार कम्पनीले सम्झौताअनुसारको काम नगरेको तथा हालसम्म पेस्की रकमको १८ लाख रुपैयाँ फस्र्यौट नगरेको भन्दै सघन सहरी तथा भवन निर्माण आयोजनाले प्राइम कमर्सियल बैंक, कमलपोखरीलाई जमानत रकमबाट रकम भुक्तानीका लागि पत्राचार गरेको हो ।

 

आयोजना प्रमुख प्रकीर्ण तुलाधरले बिहीबार पठाएको पत्रमा ‘पेस्की रकममध्ये हालसम्म १८ लाख रुपैयाँ फस्र्योट हुन नसकेको उल्लेख गर्दै प्राइम कमर्सियल बैंकबाट जारी भएको बैंक जमानतबाट आयोजनाको नाममा रकम भुक्तानी गरिदिन’ भनिएको छ ।