close

सडकमा रुपाको लोभलाग्दो फड्काे (भिडियो खबर) 

सडकमा रुपाको लोभलाग्दो फड्काे (भिडियो खबर) 

ADVERTISEMENT

कास्की- विकास भनेकै सडक । आज पनि नेपालका हरेक गाउँको विकासे परिभाषा सडकमा पुगेर जोडिन्छ । जहाँ सडक, त्यहाँ विकास । यो परिभाषा मात्रै होइन, अपरिहार्य पूर्वाधार पनि हो ।

 

कास्की धेरैको अनुमानमा धेरै विकसित जिल्ला हुन आउँछ । तर, सुन्दा अचम्म लाग्छ, यहाँका ५ पालिका मध्ये ३ पालिकामा २ वर्षअघिसम्म कालोपत्रे सडकै थिएन । तर, रूपा गाउँपालिकाले भने सडक निर्माणमा फड्को मारेको छ । 

 

गण्डकी प्रदेशको कास्की जिल्लामा ४ गाउँपालिका छन् । ४ मध्ये अन्नपूर्ण गाउँपालिका अन्नपूर्ण राजमार्गसँग जोडिएकाले सडक सञ्जालसँग मात्र नभई पक्की सडक नै बनिसकेको छ । उता, माछापुच्छे« गाउँपालिकामा बल्ल कालोपत्रेको काम सुरु भएको छ । यस्तै, मादी गाउँपालिमा अहिलेसम्म पनि कालोपत्रे सडक पुगेको छैन । 

 

तर, यी ४ मध्ये रूपाले भने सडकमा ठूलो फड्को मारेको छ । २० मिटर पनि पक्की सडक नभएको अवस्थामा छिरेका यहाँका जनप्रतिनिधिको दुःखले सडक बनेको छ । पालिकाको बेगनासदेखि भोर्लेटार जोड््ने सडक कालोपत्रे हुँदै छ । वडा कार्यालय जोड्ने सडकमा पनि काम भइरहेको छ ।


यही वर्षभित्र ८५ किलोमिटर सडक कालोपत्रे गर्न टेन्डर गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए ।

 

पालिकाले अघिल्लो वर्षलाई पूर्वाधार वर्षको रूपमा घोषणा गरेर आधाभन्दा बढी बजेट सडकमै खर्च गर्‍यो । अहिलेसम्म १७ किलोमिटर कालोपत्रे र ६ किलोमिटर ढलान भइसकेको छ ।

 

रूपाकोटदेखि थुम्कीसम्मको १३ किलोमिटर सडक बनिसक्यो । बेगनास-भोर्लेटार १२ किलोमिटर सडकको काम भइरहेको छ । शिशुवा-पोल्याङटारसम्मको १६ किलोमिटर निर्णाधीन छ ।

 

पालिकभर ७ वटा मुख्य सडक छन् । सबै वडालाई छुने गरी रिङरोड बनाउने काम अघि बढेको छ । पालिकाको गौरवको योजनाका रूपमा रिङरोडलाई पूर्णता दिइने पालिकाले जनाएको छ ।

 

पालिकासँग जोडिने विभिन्न कनेक्टिङ सडकलाई समेत प्राथमिकतामा राखेर काम भइरहेको गाउँपालिकाका स्थानीय बताउँछन् ।

 

पालिकाका अनुसार सबै सडक कम्तीमा ५ मिटर फराकिला हुनेछन् । ढलान सडक भने ४ मिटर फराकिलो बनाइएको छ । यो वर्ष मात्रै सडक निर्माण र स्तरोन्नतिमा झन्डै २ अर्ब लगानी हुँदै छ ।