close

कोञ्ज्योसोमको केन्द्र जोड्ने सडक उद्घाटन 

कोञ्ज्योसोमको केन्द्र जोड्ने सडक उद्घाटन 

Trulli
ADVERTISEMENT

ललितपुर– बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जीर्णावस्थामा रहेको ललितपुरको लेले–चन्दनपुर सडक खण्ड मर्मत र विस्तारका लागि वैशाख पहिलो सातासम्म बहुवर्षीय योजनामा गएर टेन्डर हुने जानकारी दिएका छन् ।


मंगलबार प्रदेश सरकारको आर्थिक सहयोगमा निर्मित कोञ्ज्योसोम गाउँपालिकाको सिमभन्ज्याङदेखि गाउँपालिका केन्द्र जोड्ने सडक उद्घाटन गर्दै मन्त्री फुँयालले यसै वर्ष प्रदेश सरकारका तर्फबाट सबै निर्वाचन क्षेत्रमा लगभग १०० वटा निर्वाचन क्षेत्रमा बहुवर्षीय योजनाको काम अगाडि बढाइने जानकारी दिए ।


तीमध्ये एउटा ललितपुरको निर्वाचन क्षेत्र नम्बर १ को लेले–चन्दनपुर सडक हुने प्रतिबद्धता उनले व्यक्त गरे । ‘राजस्व र स्रोतको अवस्था हेरेर एउटा मात्र नभई थप साना–ठूला बहुवर्षीय योजनाका लागि पनि हाम्रो प्रतिबद्धता छ’, मन्त्री फुँयालले भने, ‘जहाँ गएर पनि जति माग छ, उति काम हुन्छ भनेर प्रतिबद्धता गर्ने होइन, स्रोत र सम्भावना हेरेर मात्रै प्रतिबद्धता व्यक्त गर्छौं ।’


सडक निर्माण र कालोपत्रे गर्दा कम्तीमा ८ देखि १० मिटरको हुने गरी काम गर्नुपर्ने भन्दै मन्त्री फुँयालले सो मापदण्डको सडकमा मात्र प्रदेश सरकारले लगानी गर्ने बताए ।


कोञ्ज्योसोम पुग्दा अत्यन्त साँघुरो बाटो देखेको भन्दै उनले भने, साँघुरो बाटो हामी बनाउँदैनौँ । मुसाको पुच्छरजस्तो बाटो के कालोपत्रे गर्नू !’ मतदानका लागि भोट माग्न आएजस्तो भाषण गर्न नआएको र देश र प्रदेश बनाउने कुरा गर्न कोञ्ज्योसोम आएको उनको भनाइ थियो ।


३४ किलोमिटरको लेले–चन्दनपुर सडक लामो समयदेखि जीर्णावस्थामा छ । यो सडकबाट कोञ्ज्योसोम गाउँपालिका हुँदै सुदूर ललितपुरको महाँकाल गाउँपालिका ठुलादुर्लुङ र काभ्रेको खानीखोला गाउँपालिका, मकवानपुरको बागमती गाउँपालिकासम्म पुग्न सकिन्छ ।


हाल प्रदेश सरकारले एक घर एक धारा, ऐतिहासिक राजकुलो संरक्षण, तालतलैया, ढुंगेधारा संरक्षण अभियान, गुरुयोजनासहितको सिँचाइ कार्यक्रम, कृषिको आधुनिकता र व्यावसायिकताका लागि सहुलियत ऋण कर्जालगायत जनमैत्री र किसानमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।


कार्यक्रममा बागमती प्रदेश सांसद चेतनाथ सञ्जेलले हाल अलपत्र अवस्थामा रहेका दक्षिण ललितपुरका लेले–चन्दनपुर सडक, नल्लु–चौघरे हुँदै मानिखेल जोड्ने मध्यमार्गी सडक (ठोट्ने खोलामा पुलसहित), निर्माण गरिने बताए ।


बिर्खेधारा–दलचोकी–शंखु हुँदै इकुडोल जोड्ने सडक र बागमती गाउँपालिकाको बगुवा आश्रांग गिम्दी हुँदै चन्दनपुर जोड्ने घुम्ती सडक हाल १० किलोमिटर कालोपत्रे भइसकेको र जतिसक्दो छिटो चन्दनपुर जोड्ने गरी यी ४ वटा सडकका लागि बहुवर्षीय योजना आवश्यक रहेकोतर्फ मन्त्री फुँयालको ध्यानाकर्षण गराए ।


यसैगरी २०३० देखि शंखुमा १८ किलोमिटर टाढाबाट ल्याइएको खानेपानी योजनामा ट्यांकी तथा पाइपलाइन सुधारका कार्यक्रममा बजेट उपलब्ध गराइदिन उनले आग्रह गरे । सांसद सञ्जेलले दलचोकीका खानेपानीका समस्या, सिलिंगे सडकको सन्दर्भमा समेत बहुवर्षीय योजना आवश्यक रहेको बताए ।


अर्की प्रदेशसभा सांसद लालकुमारी पुन ’सुशीला’ ले दक्षिण ललितपुरका समस्याबारे आफूहरूले पटक–पटक लेटरप्याडमा योजना लेखेर प्रदेश सरकारमा बुझाए पनि साना योजनाले गर्दा काम हुन नसकेकाले बहुवर्षीय योजना नै आवश्यक हुने बताइन् ।


सडक पूर्वाधार राम्रा र स्थायी नहुँदा गाउँमा उत्पादित तरकारी, दूधलगायत सामानले बजार नपाउने गरेको उनको भनाइ थियो । 

 

कोञ्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले पालिकाको केन्द्र जोड्ने नयाँ सडक निर्माणपछि पालिकाले मुहार फेर्ने दाबी गरे । उनले प्रदेश तथा संघीय सरकारबाट आएका अनुदान समयमै कार्यान्वयन गरिँदै आएको दाबी गरे ।


हरेक स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल पु¥याउने सरकारको योजनाअनुरूप बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्मित चौघरेको सिमभन्ज्याङदेखि गाउँपालिका केन्द्र जोड्ने १.९२ किलोमिटर सडकको मंगलबार उद्घाटन गरिएको हो ।


कुल ४ करोड ३३ लाख २४ हजार ६ सय ८ रुपैयाँ लागत स्टिमेटको उक्त सडक ४ करोड १९ लाख ९९ हजार ६ सय ४६ रुपैयाँमा १५०४ मिटर कालोपत्रे तथा ४१५ मिटर ढलान गरिएको छ ।


उद्घाटन कार्यक्रममा पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख दीपककुमार दास, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिति थियो ।