close

दार्चुला-टिंकर सडक: १२ वर्षमा बल्ल १५८ किलोमिटर ट्रयाक 

दार्चुला-टिंकर सडक: १२ वर्षमा बल्ल १५८ किलोमिटर ट्रयाक 

Trulli
ADVERTISEMENT

दार्चुला- महाकाली लोकमार्गअन्तर्गत दार्चुला-टिंकर सडक निर्माण सुरु भएको १२ वर्ष बितेको छ । कुल ४२५ किलोमिटर लम्बाइको यो सडकको अहिलेसम्म १५८ किलोमिटर ट्रयाक खुलाइएको छ । 

 

सुदूरपश्चिमको प्रमुख पर्यटकीय तथा उत्तर र दक्षिण जोड्ने गरी निर्माण भइरहेको रणनीतिक महत्त्वको यो सडकको १२ वर्षमा जम्मा ४० किलोमिटरमा मात्रै अस्थायी रूपमा गाडी गुड्छ । 


कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको छांगरु टिंकरसम्म यो सडक फैलिनेछ । सडक भारत र चीनसँगको सीधा व्यापारमा सहज पु¥याउने उद्देश्यले बनिरहे पनि निर्माणमा भइरहेको ढिलाइले जिल्लाबासी निराश छन् । 

 

महाकाली लोकमार्गअन्तर्गतको निर्माणाधीन दार्चुला-टिंकर सडकको कार्यप्रगति निरीक्षण गर्न आइतबार नेपाल सरकारका ३ जना मन्त्री दार्चुला आउँदै छन् ।

 

सडक निरीक्षणका लागि भौतिक योजना तथा पूर्वाधारमन्त्री वसन्तकुमार नेम्बाङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नासहितको टोली दार्चुला आउन लागेको हो ।


दार्चुला-टिंकर सडकको कार्यप्रगतिबारे नेपाली सेनाको हेलिकोप्टरमार्फत निरीक्षण गर्ने र सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । 

 

सडकको कार्यप्रगतिलगायत विषयमा आइतबार बिहान ११ बजे महाकाली नगरपालिकाको सभाहलमा अन्तक्र्रिया आयोजना गरिएको छ । मन्त्रीत्रय बिहान ९ बजे सुर्खेतबाट दार्चुलाका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।


२०६५/६६ बाट निर्माण सुरु गरिएको दार्चुला-टिंकर सडक निर्माणले १२ वर्ष पुग्दा पनि लक्ष्यअनुसार काम गर्न सकेको छैन । खलंगा जिरो प्वाइन्ट मानेर सुरु भएको यो सडकको कुल लम्बाई १३४ किलोमिटर हो । यसमा अहिलेसम्म ४३ किलोमिटरको मात्रै ट्रयाक खुला गरिएको छ । ४० किलोमिटर सडकमा अस्थायी रूपमा गाडी चल्ने गर्छन् । 

 

पछिल्लो समय यही सडकलाई महाकाली लोकमार्ग दार्चुला-टिंकर सडक नामकरण गरिएको छ । कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुला जोड्ने गरी यो सडक निर्माण गर्न लागिएको हो । यसको कुल लम्बाइ ४२५ किलोमिटर छ, जसमा अहिलेसम्म १५८ किलोमिटर सडकको ट्रयाक खुला गरिएको महाकाली लोकमार्ग दार्चुला-टिंकर सडक योजनाका सब-इन्जिनियर मुकेश मल्लले बताए ।

 

गत वर्ष दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नाको पहल तथा सरकारको निर्णयअनुसार दार्चुला-टिंकर सडकको ८७ किलोमिटर निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । 

 

अहिले सडक निर्माणका लागि नेपाली सेनाको निर्माण कार्यदल व्यास गाउँपालिकाको सुनसेरा र दुम्लिङमा क्याम्प राखेर बसेको छ । निर्माण दलले आगामी आर्थिक वर्षबाट निर्माण कार्य अघि बढाउने तयारी थालेको छ । 

 

सडक निर्माणको ढिलाइले जिल्लाबासी चिन्तित बनेका थिए । तर, पछिल्लो समय नेपाली सेनालाई जिम्मा दिएपछि समयमै सडक बन्नेमा जिल्लाबासी आशावादी छन् ।

 

यो सडक निर्माणले रणनीतिक रूपमा महत्त्वसमेत बोक्छ । पर्यटन र सामरिक महत्त्वको हिसाबले चीनसँग सीमा जोडिने सडकले आर्थिक विकासमा टेवा पुग्ने उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुन्ना बताउँछन् ।

 

चालू आर्थिक वर्षमा दार्चुला-टिंकर सडक निर्माणका लागि चालूतर्फ ३२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । २०७७ मा घाँटीबगर क्षेत्रलगायतको गोरेटो बाटोको ट्रयाक खुलाउन ५ करोड रुपैयाँ नेपाली सेनालाई दिइएको छ ।

 

महाकाली करिडोरलाई बहुवर्षे ठेक्कामा लगेर छिटो निर्माण सम्पन्न गर्न झन्डै ९३ करोड रुपैयाँको बोलपत्र आह्वान गरिएको छ । दार्चुला-टिंकर खण्डको खलंगादेखि सुनसेरासम्म सडक कालोपत्रका लागि पहल भइरहेको महाकाली लोकमार्ग दार्चुला-टिंकर सडक योजनाका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए ।

 

‘४० किलोमिटर सडक कालोपत्रे गर्न फाइल उठेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ठगुन्ना स्वयं यो सडक कालोपत्रे सँगसँगै अघि बढाउनुपर्छ भन्दै लाग्नुभएको छ’, योजना प्रमुख पन्तले भने, ‘छिट्टै कालोपत्रेका लागि प्रक्रिया अघि बढ्ला ।’ 

 

यो सडक निर्माणको ढिलाइले व्यासबासी अहिले पनि भारतीय मार्ग हुँदै गाउँ जानुपर्ने बाध्यता छ । उनीहरू महाकाली नदीमा तुइनको सहारामा आउजाउ गर्ने गर्छन् । तुइन विस्थापन गर्न पनि सुनसेरासम्म तत्काल कालोपत्रे सडक बनाउनु जरुरी रहेको व्यासबासी सुनाउँछन् ।

 

कार्यालयका अनुसार ५ वर्षभित्र मालिकार्जुन गाउँपालिकाको सलेतीदेखि खलंगा र खलंगादेखि सुन्सेरासम्म झन्डै ६० किलोमिटर सडक कालोपत्रे गर्न ६ अर्ब रुपैयाँ बढी बजेट स्टिमेटसहितको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ ।


चालू आर्थिक वर्षमा कालोपत्रेका लागि बहुवर्षे ठेक्का आह्वान गर्ने तयारीस्वरूप ९५ करोड बजेट माग गरिएको छ ।

 

एमाले नेता ठगुन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएपछि सोही मन्त्रालयको स्थानीय पूर्वाधार विभागअन्तर्गत रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआईपी) मार्फत दोस्रो चरणमा कार्यान्वयन गर्न दार्चुलाको भर्तोला-उकु-लाली-सेरा सडकको डिपिआरसमेत तयार भइरहेको छ ।

 

भर्तोला-जौलजिबी-सेरा सडक निर्माण सम्पन्न गर्न शुक्रबार मात्रै ३ करोड रुपैयाँ बजेट निकासा भएको छ । संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएका अधुरा आयोजना सम्पन्न गर्ने उद्देश्यअन्तर्गत चालू आर्थिक वर्षमा भर्तोला-जौलजिबी-सेरा सडकका लागि ३ करोड रुपैयाँ बजेट निकासा गरिएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ ।

 

नाम फेरियो, काम भएन

 

सदरमुकाम खलंगालाई जिरो प्वाइन्ट मानेर आर्थिक वर्ष २०६५/६६ बाट दार्चुला-टिंकर सडक निर्माण सुरु भयो । सदरमुकाम खलंगाको वीरेन्द्रवनदेखि टिंकरसम्म कुल १३४ किलोमिटर लम्बाइ सडक मापन गरिएको थियो । सडक निर्माण सुरु गरिएको १२ वर्ष बढी भयो । 


यो सडकको काममा अहिलेसम्म ४३ किलोमिटर मात्रै ट्रयाक खुलेको छ । व्यास गाउँपालिकाको तुसरपानी क्षेत्रसम्म सडकको ट्रयाक खुलाइएको छ भने ४० किलोमिटर क्षेत्रसम्म मुस्किलले सवारी साधन हिउँदमा सञ्चालन हुन्छन् । 


पछिल्लो समय यही सडक पुनः महाकाली करिडोरअन्तर्गत गाभियो । कञ्चनपुरको ब्रह्मदेवदेव, डडेल्धुरा, बैतडी हँुदै दार्चुला जोड्ने गरी कुल २९१ किलोमिटर सडक बनाइयो भने टिंकरसम्म पुग्न कुल ४२५ किलोमिटर सडक भयो ।

 

टिंकर सडक आफैंले गति नलिएका बेला महाकाली अञ्चलका ४ जिल्ला जोड्ने गरी सडक निर्माण गर्ने भनियो । सडकको काम बढाउन नसकेको भन्दै यो अवधिमा दर्जन बढी कार्यालय प्रमुख फेरिए । कार्यालय कार्यकर्ता भर्तीकेन्द्र बन्यो । जुन कार्यालय प्रमुखले अमुक दलका नेताको कार्यकर्ता राख्न सके, त्यो प्रमुख जिल्लामा बस्न सक्ने भयो ।

 

काम नगरे पनि उसको मूल्यांकन बन्ने कार्यालयको रूपमा यो परिचित बन्यो । अहिले पुनः यो सडक महाकाली लोकमार्गअन्तर्गत दार्चुला-टिंकर सडक भनेर राखिएको छ । यो सडकअन्तर्गतको ८७ किलोमिटर व्यास गाउँपालिका वडा नम्बर २ को कोठीधार हुँदै टिंकर जोड्ने सडक खण्ड नेपाली सेनालाई दिइएको छ । 

 

नेपाली सेना स्रोतका अनुसार सेनाले आगामी आर्थिक वर्षबाट निर्माण अघि बढाउने जनाएको छ । अहिले सेनाको २ वटा टुकडी व्यासको सुनसेरा र दुम्लिङमा राखिएको छ । घाँटीबगरमा समेत सेना राख्ने तयारी छ । 

 

महाकाली लोकमार्गको कुल १२५ किलोमिटर सडकको ट्रयाक खुलेको कार्यालयका सबइन्जिनियर मुकेश मल्लले जानकारी दिए । यो सडक लोकमार्गअन्तर्गत २६७ किलोमिटर सडकको ट्रयाक खुलाउन बाँकी छ ।

 

यो सडकलाई आर्थिक वर्ष २०७९/०८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, अहिलेको गतिले यो अवधिमा सडक निर्माण हुन सक्ने अवस्था छैन । 

 

हालसम्म कञ्चनुपरमा शून्य किलोमिटर, डडेल्धुरामा ११ किलोमिटर, बैतडीमा ५७ किलोमिटर र दार्चुलामा ९० किलोमिटर सडकको ट्रयाक खुलाइएको मल्लले बताए । अहिले कुल ११७ किलोमिटर सडकको ट्रयाक खुलाउन ठेक्का भएको योजनाले जनाएको छ । 

 

कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा १४ किलोमिटर, बैतडीमा ५८ किलोमिटर र दार्चुलामा ३४ किलोमिटर सडकको ट्रयाक खुलाउन ठेक्का भएको हो । लोकमार्गअन्तर्गतको दार्चुला-टिंकर सडकको साविकको कोठेधारसम्म ४ किलोमिटर सडकको ट्रयाक खुलाउनुपर्नेछ ।