close

बर्दघाटले बनायो आइसोलेसन 

बर्दघाटले बनायो आइसोलेसन 

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीस्थित ढेंडारीफाँटमा कोरोना कहरकै बीच नगरपालिकाले १० बेडको आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ ।


बर्दघाट नगरपालिकाले २०७७ असारमा कोभिड-१९ महामारीकै बीचमा निर्माण सुरु गरेर २०७८ वैशाखमै आइसोलेसन सञ्चालनमा ल्याएको हो । 


बहाल तिरेर सञ्चालन भइरहेको सरकारी स्वामित्वको चिसापानी अस्पतालका लागि भवन आवश्यक परेकाले बर्दघाटले आइसोलेसनकै नाममा सो भवन निर्माण गरेको थियो ।


बर्दघाट नगरले आर्थिक वर्ष २०७६÷७७ बाट उक्त भव निर्माण सुरु गरेको थियो । उक्त भवन निर्माण योजनालाई गत वर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकतामा राखिएको थियो ।

 

चिसापानी अस्पतालको आफ्नै जग्गा र भवन नहुँदा सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । पहिलो चरणमा करिब ७५ लाख र दोस्रो चरणमा करिब २० लाख रुपैयाँ खर्चिएर उक्त भवन बनाइएको हो ।

 

बर्दघाट नगरप्रमुख धीरज शर्मा बस्यालले कोभिड महामारीलाई लक्षित गरी स्वास्थ्य क्षेत्रको पहुँच बढाउन आवश्यक देखिएकाले आइसोलेसन सेन्टर बनाइएको बताए । अल्पकालीन रूपमा कोभिड आइसोलेसन र दीर्घकालीन रूपमा चिसापानी अस्पताल सञ्चालन गर्ने उद्देश्यले भवन निर्माण गरिएको उनले जानकारी दिए । 

 

‘अहिले १० शय्याको अक्सिजन सेवासहितको आइसोलेसन सेन्टर सुरु गरेका छौँ’, चिसापानी अस्पतालका अध्यक्षसमेत रहेका नगरप्रमुख बस्यालले भने, ‘छिट्टै २० बेडको आइसोलेसन बनाउनेछौँ ।’ 


आइसोलेसन सेन्टर आवश्यक सरसामानसहित तयार गरेको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताए ।


आइसोलेसन सेन्टरमा डा. शान्ति केसी, डा. पवन अग्रवालसहितका विशेषज्ञ चिकित्सकको निगरानीमा अक्सिजनसहितको बेडमा बिरामीलाई उपचार गरिनेछ ।

 

यो आइसोलेसन सेन्टरमा नगरभित्रका अक्सिजनको मात्रा कम भएका र श्वासप्रश्वासमा कठिनाइ भएका कोभिड बिरामीलाई उपचार गरिने ज्ञवालीले जानकारी दिए ।

 

यसअघि बर्दघाट नगरले संक्रमितलाई आइसोलेसन र बुटवलसम्म थप उपचारका लागि जानुपरे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरेको थियो ।