close

पूर्वाधारमा लुम्बिनी प्रदेशको बजेट: ११ जिल्लाका २१ पालिका जोड्ने गरी पहुँच मार्ग बनाइँदै 

पूर्वाधारमा लुम्बिनी प्रदेशको बजेट: ११ जिल्लाका २१ पालिका जोड्ने गरी पहुँच मार्ग बनाइँदै 

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेश सरकारले ११ जिल्लाका २१ वटा स्थानीय तहमा मुख्य तथा सहायक मार्गसँग जोड्ने गरी पहुँच मार्ग निर्माण गर्न ५६ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ । बजेटमा स्थानीय तह पहुँच मार्ग, पर्यटकीय स्थल पहुँच मार्ग, उद्योग पहुँच मार्ग, कृषि सडकलगायत उल्लेख छ । 


प्रदेशको गौरव आयोजनाको रूपमा रहेको पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोटसम्मको जीवराज आश्रित-कृष्णसेन इच्छुक मार्गका लागि आगामी आर्थिक वर्षमा १४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त मार्गको पाल्पा अर्घाखाँची, प्युठान र रोल्पामा सञ्चालित ३ वटा ठेक्का आयोजना सम्पन्न गर्ने र बाँकी खण्डको बहुवर्षे ठेक्का कार्यान्वयन गरिने बजेटमा उल्लेख छ ।

 

सडक पूर्वाधारतर्फ बजेटमा उल्लिखित दोस्रो ठूलो आयोजना धागो कारखाना-चरंगे-झुम्सा सडक रहेको छ । यो सडकमा ३ वटा पुल निर्माणका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । यसलाई सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा पहिरोको समस्या समाधानका लागि वैकल्पिक सडकको रूपमा लिइएको हो । 


त्यस्तै, पाल्पाको रानीमहल, बर्दियाको ठाकुरद्वारा, गुल्मीको विचित्र गुफालगायत १५ वटा पर्यटकीय स्थलमा पहुँच मार्ग निर्माण तथा स्तरोन्नतिका लागि २२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । कृषि सडकका लागि ९ करोड ९८ लाख रुपैयाँ छुट्याइएको छ । आगामी आर्थिक वर्षमा प्रदेशभित्र ८३ वटा पुल निर्माण सम्पन्न गर्ने, ५९ वटा पुलको डिपिआर तयार गरिने उल्लेख छ ।

 

४ स्थानमा विद्युतीय बसको चार्जिङ स्टेसन निर्माण, दाङको बेलझुन्डीमा आधुनिक सभागृह, बुटवलमा बहुतले व्यापारिक भवन लुम्बिनी ट्रेड सेन्टर निर्माण गर्ने, उत्तरकुमार ओली सडक सुरक्षा कार्यक्रमलगायतलाई बजेट विनियोजन गरिएको छ ।