close

वर्षाको कहरः पहिरोले हिल्साको पाइपलाइन बगायो, खानेपानीको हाहाकार

वर्षाको कहरः पहिरोले हिल्साको पाइपलाइन बगायो, खानेपानीको हाहाकार

Trulli
ADVERTISEMENT

हुम्ला- चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा क्षेत्रमा पहिरो जाँदा खानेपानीको पाइपलाइन बगाएको छ । हिल्साको नौमुलेमा रहेको मुहानमा माथिबाट आएको पहिरोले पाइप लाइन बगाउँदा खानोपानीको चरम समस्या भएको छ । 

 

शुक्रवार बेलुका खानेपानीको मुहान रहेको नौमुलेमा माथिबाट आएको पहिरोले सबै पाइप लाइन बगाएको हिल्साका होटेल व्यवसायी सन्डुप लामाले बताए । चीनसँगको सिमाना पर्ने हिल्सामा पहिरो जाँदा ९० घरधुरीले प्रयोग गर्दै आएको खानेपानीको पाइप लाइन बगाउँदा पानीको समस्या भएको लामाले बताए । 

 

मुहानबाटै धमिलो पानी बगेर आएपछि स्थानीय आकाशवाट परेको पानी थापेर पिउन बाध्इ छन् । खोलाको वहाव बढेपछि पानी लिन जानलाई समस्या हुनुका साथै पुरै खोला धमिलो आईरहेको लामाले जानकारी दिए । शुक्रबार देखि अहिले सम्म धमिलो पानी आउन रोकिएको छैन ।

 

यता सिमा सुरक्षा प्रहरी चौकी (विओपी) का सुरक्षाकर्मीललाई पनि खानेपानीको समस्या भएको छ ।  बस्ती तलको कर्णाली नदीको पानी पहिरोले धमिलो भएको कारण पिउन योग्य नरहेको उनले बताए । 

 

पहिरोले खानेपानीका पाईप लाइनका साथै बीस मिटर भन्दा बढी कर्णाली करिडोरको हिल्साको सडक पनि भत्काएको छ । लेदो धेरै भएको कारण तत्काल त्यसलाई मर्मत गर्न सकिने अवस्था नरहेको सुरक्षा चौकीले जनाएको छ ।


हाल हिल्सामा २२ जना सर्वसाधारण र १५ जना सीमा सुरक्षा चौकीका सुरक्षाकर्मी बस्दै आएका छन् । पहिरोवाट भएको क्षतिको विवरण भने आएको छैन । २०७० सालको साउन महिनामा सोही स्थानमा पहिरो आउदा चार जनाको ज्यान जानुका साथे केही घर बगाएको थियो ।