close

खेतीयोग्य जमिन बगर भएपछि तटबन्ध निर्माणमा जुटे स्थानीय (भिडियो खबर)

खेतीयोग्य जमिन बगर भएपछि तटबन्ध निर्माणमा जुटे स्थानीय (भिडियो खबर)

ADVERTISEMENT

कञ्चनपुर- हरेक वर्ष वर्षायाम सुरु भएसँगै बाढी र पहिरोको कहर सुरु हुने गर्दछ । यस वर्ष त साविकको भन्दा बढी पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले नै चेतावनी दिइसकेकेको छ । त्यसैले अन्य वर्षको तुलनामा विपद् यो वर्ष बढ्ने निश्चितप्राय छ । नदी वरपरका बस्ती डुवानमा पर्न थालिसकेका छन् ।

 

केही दिन अघि कञ्चनपुरको बेदकोट नगरपालिकास्थित हात्तीथला गाउँको पथरीया नदीमा आएको बाढीले धेरैलाई विस्थापित बनायो । केहीको जमिन बगायो । पटकपटक स्थानीय सरकारलाई बाँध बनाउन भनेपनि कुनै सुनुवाई नहुँदा नै बाढीले क्षति पुगेको गुनासो स्थानीयको छ । फेरि यस्तै क्षति नआओस् भनेर अहिले स्थानीय आफै खर्च जुटाएर बाढीबाट जोगिन बाँध बनाउन थालेका छन् ।

 

असार पहिलो साता आएको बाढीले कञ्चनपुरको बेदकोट नगरपालिकाका धनबहादुर धानुकको एक बिघा जमिन बगायो । बुढेसकालका लागि भन्दै जोडेर राखेको सम्पत्ति क्षणभरमै बाढीले बगाउँदा धानुक दम्पती न रुन सक्छन् न हाँस्न नै । पटकपटक स्थानीय सरकारलाई बाढीले क्षति गर्न सक्ने आकलन गर्दै बाँध बाँध्न आग्रह गर्दापनि नसुन्दा भएको क्षतिले उनीहरू आक्रोशित छन् । तर, अब जति नै आक्रोशित भएपनि जमिन पाउने आश भने छैन ।

 

धानुक दम्पती जस्तै पालिकाको हात्तीथला गाउँका २५ घरपरिवार हरेक वर्ष वर्षा लागेसँगै चिन्तामा हुन्छन् । जनधनको क्षति पो हुने हो कि भन्ने भयमा हुन्छन् । यही चिन्ताकाबीच अहिले हात्तीथला गाउँवासी आँफै बाँध निर्माणमा जुटेका छन् । नजुटुन् पनि किन र ? स्थानीय तहको निर्वाचन भएसँगै आएका जनप्रतिनिधिले उनीहरूको एक बोली सुनेनन् । पटकपटक बाँध बाँध्न गरेको आग्रह स्थानीय सरकारले नटेरेकाले नै अहिले बाढीको क्षति रोक्न आफै रकम खर्च गरेर बाँधका लागि डोजर लगाएको बताउँछन् । अहिले यहाँ नदीको धार परिवर्तन गर्ने काम भइरहेको छ । 


स्थानीयले गरेको पहललाई स्थानीय सरकारले हरेक पटक बजेट नहुँदा काम अघि बढाउन नसकेको बताउने गरेको छ । आगामी वर्ष बाँध बनाइदिने वाचा गरेको पनि चार वर्ष भइसक्दा अन्ततगोत्वः बाढीले क्षति गर्न थाल्यो । अहिले पनि स्थानीय सरकार भने बाँध बनाउने रट भने लगाउन छोड्दैन । तर, कहिले थाहा छैन । 


यो समस्या बेदकोटका स्थानीयले मात्रै भोगेका होइनन् । अहिले अधिकांश जिल्लामा यस्तै समस्या भोग्नुपरेको छ । स्थानीयले नदी कटानको डर देखेर पटकपटक बाँध बाँध्न पहल गरेपनि त्यो पूरा भएको छैन । हजारौँ खेतीयोग्य जमिन बाढीले नाश गरिरहेको छ । जब मनसुन सुरु हुन्छ तब मात्रै सबैलाई बाढीले पुर्‍याउने क्षतिको डर हुन्छ ।

 

अरु बेला कसैको ध्यान जाँदैन । त्यसैले पनि हरेक वर्ष यो नियति नागरिकले भोगिरहन्छन् । के सरकारको ध्यान यसतर्फ जानु पर्दैन ? के बाढीले क्षति पुर्‍याएपछि मात्रै राहत र सहयोग गरेर हुन्छ ? के अरु बेलामा क्षति कम गर्नका लागि आवश्यक पहल चाल्नुपर्दैन ? यि तमाम प्रश्न स्थानीय नागरिकले नै आफ्ना जनप्रतिनिधिलाई सोध्ने बेला आएको छ । होइन भने प्राकृतिक विपद्ले हरेक वर्ष धेरैको घर उजाडिनेछ ।