close

मादी गाउँपालिकाको बजेटमा सुरुङमार्गको प्रस्ताव

मादी गाउँपालिकाको बजेटमा सुरुङमार्गको प्रस्ताव

Trulli
ADVERTISEMENT

कास्की- कास्कीको मादी गाउँपालिकाले मनाङ जोड्ने सुरुङ मार्ग अध्ययन गर्ने भएको छ । पोखराबाट सुरुङ मार्ग मार्फत मनाङ निकै छोटो दुरीमा पर्छ । गाउँपालिकाको मद्क्यु (सिक्लेसको माथिल्लो भाग) देखि मनाङ जिल्लाको पिसाङ जोड्ने सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन सुरु गर्ने पालिका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले बताए । 

 

संघ र प्रदेश सरकारसहित अन्य लगानीकर्तालाई आह्वान गरेर सुरुङ मार्गको अध्ययन सहित निर्माण गर्ने उनको भनाई छ । आगामी वर्षको नीति तथा कार्यक्रममा सुरुङ मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ । यद्यपी बजेटमा भने यसको विशेष सम्बोधन भएको छैन । 

 

मादीले आगामी वर्षका लागि सामाजिक सुरक्षा भत्ता बाहेक ५६ करोड ४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालू वर्षको भन्दा ५ प्रतिशतले बढी हो । 

 

आर्थिक विकासका लागि ३ करोड, सामाजिक विकासका लागि २९ करोड, पूर्वाधार विकासमा १० करोड र वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि १ करोड एवं सुशासन र संस्थागत विकासमा ११ करोड ७९ हजार बजेट छुट्याईएको उपाध्यक्ष विष्णुमाया पौडेलले जानकारी दिइन् । 

 

जसमध्ये संघ सरकारले समानीकरण तर्फ ९ करोड ३ लाख, सशर्त २५ करोड १३ लाख, विशेष अनुदान १ करोड २० लाख, राजश्व बाँडफाँट ८ करोड २८ लाख तथा प्रदेश सरकारको वित्तीय समानीकरणमा ९९ लाख, राजश्व बाँडफाँटमा ६७ लाख ६८ हजार, सशर्त १ करोड अनुदान पाउँदै छ । आन्तरिक आम्दानी र यो वर्ष खर्च हुन नसकेको बजेट समेत अर्को वर्षलाई सारिएको छ । १० करोड ६९ लाख यसरी विनियोजन हुने उनले बताइन् । 

 

पालिकाले अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रम ल्याएको छ । त्यसमा ५० लाख छुट्याईएको छ भने कृषि उपकरणमा अनुदान दिन ६६ लाख, नर्सरी बनाउन १० लाख, स्वास्थ्य पूर्वाधार बनाउन ३६ लाख, एक घर एक धारा कार्यक्रमका लागि ४३ लाख, प्रारम्भिक वालविकास केन्द्रका कर्मचारीको तलवका लागि ८७ लाख बजेट छ । 

 

यसपालि पनि सडकमा बढी जोड दिईएको छ । सबै टोल बस्तीमा यातायातको पहुँच पुर्‍याउन, रणनीतिक सडक बनाउन र मर्मत सम्भारका लागि ३ करोड ६८ लाख विनियोजन गरिएको छ । 

 

थप पूर्वाधार विकास र मर्मतका लागि ४ करोड, सामुदायिक भवन निर्माणका लागि २ करोड ५५ लाख, विद्युतीकरणका लागि २१ लाख, बैकल्पिक उर्जा प्रबद्र्धन गर्न ७० लाख छुट्याईएको छ । कोभिड नियन्त्रण, रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण, भौतिक पूर्वाधार विकास लगायत कार्यक्रम प्राथमिकतामा छन् ।