close

 धमाधम ऋण लगानी गर्दै कोष (भिडियो खबर) 

 धमाधम ऋण लगानी गर्दै कोष (भिडियो खबर) 

ADVERTISEMENT

काठमाडौं- पछिल्लो समय नगर विकास कोषले विभिन्न नगरपालिकाले अघि सारेका आयोजनामा ऋण लगानी गर्दै आएको छ । स्थानीयको जीवस्तर उकास्न अघि बढाइएका आयोजनामा रकम अपुग भएपछि आयोजना सम्पन्न गर्न कोषले सम्झौता गर्दै हातेमालो गर्दै आएको छ ।

 

केही दिन अघि तीन नगरपालिका र तीन आयोजनामा ऋण लगानी गरेको कोषले शुक्रबार कैलालीको अत्तरीया साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थासँग ऋण सम्झौता  गरेको छ । सम्झौतापछि आयोजनाको काम विना अवरोध अघि बढ्ने अपेक्षा कोषले लिएको छ । शुक्रबार नगर विकास कोषले सह-लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत अत्तरीया सह-लगानी खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयन गर्ने सम्बन्धमा ऋण सम्झौता गरेको छ ।  

 

आयोजना कार्यान्वयन गर्ने सिलसिलामा कोषले तयार गरेको ‘नगर विकास कोष खानेपानी तथा सरसफाई क्षेत्र सह-लगानी निर्देशिका, २०७५’ अनुसार सरकारबाट ७० प्रतिशत अनुदान र सम्बन्धित उपभोक्ताहरुको सहभागिता न्यूनतम ५ प्रतिशत रहेको आयोजनामा कोषबाट अधिकतम २५ प्रतिशत रकम वार्षिक ५ प्रतिशत ब्याज दरमा ५ वर्षको सहुलियत अवधिको नीतिगत व्यवस्थाका आधारमा ऋण सम्झौता भएको छ ।

 

जसअनुसार कोषले दुई करोड ६३ लाख ९७ हजार ६ सय ६ रूपैयाँ ऋण दिएको छ । कोषले यो आयोजनालाई अहिलेसम्मकै महत्वपूर्ण र सफल आयोजना भएको समेत दावी गरेको छ । अत्तरीया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष टीकादत्त जोशीले यो गौरवपूर्ण आयोजनामा कोषसँग भएको ऋण सम्झौताले ठूलो सहयोग पुगेको दावी गरेका छन् । आयोजनाले निकट भविष्यमा नै समृद्धिको खाका कोर्न सफल हुने दावी जोशीको छ । 



पछिल्लो समय कोषले विभिन्न संस्था र आयोजनासँग ऋण सम्झौता गरिरहेको छ । कोषको सह-लगानी निर्देशिका अनुसार गरिएको सम्झौताले ति आयोजना निर्माण हुँदा कोष आफ्नो पनि सफलता भएको जनाउने गरेको छ । महत्वपूर्ण आयोजनामा आवश्यक रकम उपलब्ध गराउँदै आएको कोषले अझै थप सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।