close

छिनछिनमै बिजुली जाँदा उपभोक्तालाई हैरानी

छिनछिनमै बिजुली जाँदा उपभोक्तालाई हैरानी

Trulli
ADVERTISEMENT

तनहुँ– अघोषित रूपमा हुने लोडसेडिङका कारण तनहुँका उपभोक्ताले हैरानी खेपिरहेका छन् । बिनासूचना प्राधिकरणले पटक–पटक विद्युत् कटौती गर्दा अनलाइन पढ्ने विद्यार्थी र उद्योगी, व्यवसायी मर्कामा परेका हुन् ।

 

लामो समयदेखि दैनिक विद्युत् जाने÷आउने समस्या भइरहेको उपभोक्ताको गुनासो छ । ‘लाइन कति बेला जान्छ । कति बेला आउँछ, पत्तो हुँदैन’, शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ की समुन्द्र कार्की भन्छिन्, ‘यतिबेला बाबुनानीको अनलाइन क्लास चलेको छ । बेलाबेला लाइन जाँदा पढ्न समस्या भएको छ ।’

 

कहिलेकाहीँ दिनमा १० औँ पटक लाइन जाने गरेको कार्कीले सुनाइन् । उनका अनुसार बिहान, दिउँसो, बेलुका जुनसुकै बेला पनि लाइन जाने समस्या छ । विद्युत् जाने समस्याले अनलाइन कक्षा चलाउनै मुस्किल परेको ज्ञान बगैंचा बोर्डिङ स्कुल बेलचौताराका प्रधानाध्यापक सुरेश पौडेलले बताए ।

 

‘क्लास सुरु भयो लाइन जान्छ, फेरि आउँछ । हैरान बनाउँछ । यो समस्याले प्लानिङअनुसार पढाउन सकिँदैन । अस्तव्यस्त हुन्छ तालिका’, प्रधानध्यापक पौडेलले भने । 

 

लोडसेडिङ धेरै हुन थालेपछि विद्यालयले इन्भर्टर खरिद गरेको छ । विद्यालयले इन्भर्टर व्यवस्था गरेर कक्षा चलाउँदा विद्यार्थी भने लाइन गएका बेला एक–दुई जना मात्रै सहभागी हुने गरेको पौडेलले जानकारी दिए ।

 

बिनाजानकारी विद्युत कटौती गर्नुको सट्टा घोषित रूपमै लोडसेडिङ गर्दा सहज हुने उनको भनाइ छ । ‘लोडसेडिङको तालिका भए त्यहीअनुसार अनलाइन कक्षाको तालिका बनाएर पढाइन्थ्यो’, उनले भने । 

 

दैनिक विद्युत् अनियमित हुँदा उद्योग सञ्चालक पनि मारमा परेको शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ बताउँछन् । केही उद्योग धराशयी बन्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

 

पटक–पटक समस्या समाधानका लागी प्राधिकरणको ध्यानार्कषण गराए पनि समस्या नहटेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘अब छिट्टै समस्या समाधान हुँदै छ भन्ने जवाफ आउँछ । समस्या उस्तै रहन्छ’, श्रेष्ठले भने । 

 

विद्युत् अनियमितता हुन थालेपछि कतिपयले बिग्रेर थन्काएका इन्भर्टर ब्याट्री मर्मत गरेर पुनः प्रयोगमा ल्याउन थालेका छन् । 

 

तनहुँमा बेलचौतारा सब–स्टेसनबाट विद्युत् वितरण हुने शुक्लागण्डकी, भीमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाका विभिन्न क्षेत्रका उपभोक्ताले अघोषित लोडसेडिङको सास्ती खेप्नुपरेको हो ।

 

फिडरमा समस्या देखिएकाले लाइन काटिने समस्या भइरहेको विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख परितोष चौधरीले बताए । ‘माग नधानेर विद्युत् काटिएको हैन । फिडरमा प्राविधिक समस्या देखिएर हो । समस्या समाधानको प्रयासमा छौँ’, उनले भने ।