close

३५ वर्षपछि खुल्यो सहजपुर–बोगटान सडकको ट्रयाक

३५ वर्षपछि खुल्यो सहजपुर–बोगटान सडकको ट्रयाक

Trulli
ADVERTISEMENT

डोटी– जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्रयाक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको ३ करोड ८३ लाख रुपैयाँ लागतमा यो सडक निर्माण गरिएको थियो । 

 

बहुप्रतीक्षित बोगटान सडकको ट्रयाक आइतबार जोडिएपछि यहाँका नागरिकमा खुसियाली छाएको छ । उक्त सडक खड्काकृष्ण, बंगलामुखी र पवन निर्माण कम्पनीले संयुक्त रूपमा निर्माण गरेका थिए ।


२०४३ देखि सडक निर्माण सुरु भएको बताइएको छ । बडिकेदार गाउँपालिका वडा नम्बर १ का रोजबहादुर कलले भने, ‘वर्षौंपछि सडकको ट्रयाक जोडिएको छ, अब हामीले पनि घरैमा गाडी चढ्न पाउने भयौँ  । योभन्दा अरू खुसी के नै होला ।’

 

बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले अगामी दिनमा सडकको स्तोन्नतिका लागि पालिकाले लगानी गर्ने बताइन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास योजना ताकिएकै समयमा निर्माण सम्पन्न गर्न पटक–पटक निर्देशन दिएका थिए । 


सो गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले भने, ‘मुख्यमन्त्रीले पनि तोकिएको समयमा काम नसके कारबाही गर्ने निर्देशन दिनुभयो । हामीले पनि पालिकाका तर्फबाट आवश्यक सहयोगसहित अनुगमनलाई तीव्र बनाएपछि काम सम्पन्न भएको हो ।’

 

प्रदेश सरकारको प्रदेश गौरवको सडकमा समेत समावेश भएको सहजपुर–बोगटान सडकको ट्रयाक जोडिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए । उनले भने, ‘कच्ची ट्रयाक जोडिएको छ, अब कालोपत्रेका लागि पहल गर्नुपर्छ ।’ 


कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल–राजपुर जोडिने उक्त सडकको ट्रयाक खुलेपछि यहाँका नागरिकलाई आवागमनमा सहज भएको बडिकेदार गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।

 

उनले भने, ‘कच्ची ट्रयाक जोडिएको छ । यहाँका हजारौँ नागरिकलाई यातायात सुविधासहित राहत हुनेछ ।’ उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआई सिंह, जोरायल गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् भने अब यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउनेछन् । सडक सञ्जाल जोडिएपछि उत्पादित वस्तुले बजार पाउने र किसानको आयस्तर वृद्धि हुने स्थानीय टक्करबहादुर कलेलले बताए ।

 

जिल्लाको बोगटान क्षेत्र अदुवा, अमिलो, बेसार तथा सुन्तला उत्पादनका लागि प्रख्यात ठाउँका रूपमा चिनिँदै आएको छ । यो सडक डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा पुरानो र ठूलो सडक हो । 

 

२०१५ पछि धनगढीबाट दिपायलका लागि यो सडक काम सुरु गरिएको थियो । ‘धनगढी–दिपायल सडक’ को नामले निर्माण सुरु भएको सडक विगतमा पहुँचका आधारमा ‘धनगढी–डडेल्धुरा–दिपायल (डिडीडी)’ नामकरण गरेर निर्माण गरिएको कांग्रेस नेता दीपककुमार विष्टले जानकारी दिए ।

 

२०४३ मा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साविकका १० गाविस जोडेर दिपायल पुग्ने गरी यो सडक निर्माण सुरु भएको थियो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति हाल प्रदेशसभा सदस्य  भरतबहादुर खड्काले उक्त सडकको शिलान्यास गरेका थिए ।