close

जिससमार्फत चितवनका पालिकामा  ४१ करोडका योजना सम्पन्न 

जिससमार्फत चितवनका पालिकामा  ४१ करोडका योजना सम्पन्न 

Trulli
ADVERTISEMENT

चितवन– जिल्ला समन्वय समिति (जिसस) चितवनमार्फत जिल्लाका ७ पालिकामा ४१ करोड रुपैयाँ बढीका काम सम्पन्न भएका छन् । समितिको मौज्दात कोषबाट  ४१ करोड १९ लाख रकम विनियोजन गरी काम गरिएको हो ।

 

जिससले सबैभन्दा बढी रकम भरतपुर महानगरपालिकाका योजनामा खर्च गरेको छ । उक्त रकम पालिकामा प्रशासनिक भवन, वडा कार्यालय, विद्यालय भवन, स्वास्थ्य संस्था, खानेपानीलगायतमा खर्च गरिएको छ । जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार भरतपुर महानगरपालिकामा प्रशासनिक भवनका लागि १ करोड १० लाख, ११ वटा वडा कार्यालयका लागि ४ करोड १३ लाख, ४५ वटा विद्यालय भवनका लागि ३ करोड ९९ लाख, तीन स्वास्थ्य संस्थाका लागि  २३ लाख, ६ खानेपानी आयोजनाका लागि  २० लाख र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि  ६० लाख गरी  १० करोड २५ लाख रुपैयाँ खर्च गरिएको छ ।

 

जिससले खैरहनी नगरपालिकाका विभिन्न योजनामा ६ करोड ४ लाख खर्च गरेको छ । खैरहनीमा प्रशासनिक भवनका लागि १ करोड ६० लाख, ६ वडा कार्यालयका लागि २ करोड ५५ लाख, ९ विद्यालय भवनका लागि १  करोड ४९ लाख, ३ खानेपानी योजनाका लागि  ४० लाख खर्च गरिएको डल्लाकोटीले जानकारी दिए ।


 
यस्तै रत्ननगर नगरपालिकाका विभिन्न आयोजनामा ५ करोड ७८ लाख जिससले खर्च गरेको छ । प्रशासनिक भवनमा  २० लाख, १२ वडा कार्यालयका लागि २  करोड ७२ लाख, ११ विद्यालय भवनमा १ करोड २६ लाख, ३ स्वास्थ्य संस्थामा १ करोड २५ लाख र २ खानेपानी आयोजनामा  ३५ लाख बजेट खर्च भएको छ ।


 
राप्ती नगरपालिकामा ५ करोड २८ लाख बराबरका योजना सम्पन्न भएका छन् । जसमध्ये प्रशासनिक भवनमा २ करोड ५० लाख, पाँच वडा कार्यालयमा  १ करोड २२ लाख, आठ विद्यालय भवनमा  ७६ लाख, २ स्वास्थ्य संस्थामा  २० लाख, ५ वटा खानेपानी आयोजना  ६० लाख खर्च भएको छ ।


 
कालिका नगरपालिकामा प्रशासनिक भवनमा २ करोड, ८ वडा कार्यालयमा ३  करोड ५ लाख, चारवटा विद्यालय भवनमा  १७ लाख, एउटा स्वास्थ्य संस्थामा  १५ लाख, एउटा खानेपानी आयोजनामा ८  लाख जिससले खर्च गरेको छ । सो नगरपालिकामा सबै योजनामा गरी ५ करोड ४५ लाख बजेट खर्च भएको छ ।


 
माडी नगरपालिकामा ४ करोड १४ लाख बराबरका योजना सम्पन्न भएका छन् । जसमध्ये प्रशासनिक भवनका लागि १ करोड ५० लाख, तीन वडा कार्यालयका लागि  ९५ लाख, आठ विद्यालय भवनका लागि  ९९ लाख, २ स्वास्थ्य संस्थाका लागि  ३५ लाख र २ खानेपानी आयोजनाका लागि  ३५ लाख खर्च भएको छ ।

 

जिससले जिल्लाको एउटा मात्रै गाउँपालिका इच्छाकामनामा विभिन्न आयोजनामा ४ करोड २५ लाख खर्च गरेको छ । जसमध्ये प्रशासनिक भवनमा १  करोड ४० लाख, चारवटा वडा कार्यालय १ करोड २० लाख, ११ वटा विद्यालय भवनमा रु ७५ लाख, दुईवटा स्वास्थ्य संस्थामा रु ३० लाख, छ खानेपानी आयोजनामा रु ६० लाख खर्च भएको छ ।

 

जनप्रतिनिधि आएसँगै यी आयोजनामा जिससले बजेट पठाएको हो । गत वर्षको पुसयता काम भइरहेका आयोजनाको कूल बजेट आउन बाँकी रहेको डल्लाकोटीले बताए । कार्यालयमा वार्षिकरूपमा उठ्ने घरभाडा, पहिले–पहिले आउने मालपोतको राजस्व, नदीजन्य बोलपत्रका रकमलगायतका आन्तरिक आम्दानीबाट सङ्कलित मौज्दात रकम ती आयोजनामा खर्च गरिएको हो ।


 
डल्लाकोटीका अनुसार प्रदेश सरकारबाट प्राप्त रकम विभिन्न कार्यक्रममा खर्च गरिएको छ । यससँगै जिससले उपलब्ध गराएको जग्गामा अत्याधुनिक सिटीहल निर्माण भइरहेको छ । डल्लाकोटीले भने, ‘म आफू प्रमुख भएपछि जिसस परिसरमा सिटीहल बनाउने अवसर मिल्यो । यसलाई राम्रो अवसरका रूपमा हामीले लिएका छौँ ।’ भरतपुर महानगरपालिकाले अन्यत्र जग्गा खोजी गर्दा पाउन कठिन भएपछि जिल्लाको गौरवको आयोजना हुने भएकाले जिससले सिटीहल निर्माणका लागि जग्गा दिएको उनको भनाइ छ । सो जग्गामा महानगरको स्वामित्वमा लगेर सिटीहल निर्माणको काम भइरहेको छ ।