close

विकासमा फड्किँदै सुनवर्षी 

विकासमा फड्किँदै सुनवर्षी 

Trulli
ADVERTISEMENT

मोरङ– मोरङको सुनवर्षी नगरपालिका भारतसँग सीमा जोडिएको पालिका हो । साविकका अमरदह, डाइतनया गाविस र आंशिक रूपमा गोविन्दपुरका २, ५, ६, ८, ९, रंगेली नगरपालिकाको ९, १०, ११ र वरडंगा गाविसका २, ३, ६, ८, ९ लाई गाभेर सुनवर्षी नगरपालिका बनेको हो ।

 

सुनवर्षीमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि योजनाबद्ध ढंगले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको नगरप्रमुख कालीप्रसाद दासले जानकारी दिए ।

 

नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बहुवर्षीय योजना बनाएर विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा काम गरेको उनले बताए । ‘हामीले नगरपालिकाभित्रका ५३ किलोमिटर सडक कालोपत्रे बनाउने योजना तयार गर्‍यौँ । यसमा नगरपालिकाले संघ र प्रदेश सरकारसँग समन्वय ग¥यो । अहिले नगरपालिकाभित्रका वडा पिच सडक भइरहेका छन् । ५३ किलोमिटर सडक पिच गर्ने लक्ष्य लिएकामा अहिले ६० देखि ७० प्रतिशत सडक पिच भइसकेको छ । करिब ३० देखि ३५ किलोमिटर सडक पिच भएका छन्,’ प्रमुख दासले भने ।

 

सीमा जोडिएको भारतको बोर्डर क्षेत्रदेखि सुनवर्षी नगरपालिका हँुदै उत्तरमा अमरदह, सुगा जोड्ने सडक बन्दै छ । १८ किलोमिटरमध्ये ९ किलोमिटर सडक निर्माण पूरा भइसकेको उनले बताए । यस्तै, घुगी टोलदेखि केचनासम्म जोड्ने सडकको काम पनि भइरहेको छ । रामसिवाकोटीदेखि सुनवर्षीसम्मको कालोपत्रे चलिरहेको छ ।  सुनवर्षी वडा नम्बर २ अमरदहको बराहचोकदेखि पीपलचोकसम्मको सडक निर्माण सम्पन्न भएको छ । पीपलचोकदेखि ३ वडा जोड्ने सडक निर्माणाधीन छ । 

 

कल्भर्ट र रिटेनिङ वाल निर्माण धमाधम

 

नगरपालिकाभित्रका सकडमा आरसिसी कल्भर्ट निर्माण भइरहेका छन् । कल्भर्ट निर्माणपछि सडकका दुवैतिर रिटेनिङ वालको काम भइरहेको प्रमुख दासले जानकारी दिए ।

 

‘सुनवर्षी नगरपालिकाभित्र धेरैजसो हुलाकी र ग्रामीण क्षेत्रका सडक छन् । एक पटक बनाएको सडक मजबुत बनाउन हामीले अहिले धेरै ठाउँमा रिटेनिङ वाल लगाउन थालेका छौँ,’ उनले भने । 

 

बर्खायाममा सुनवर्षीभित्र डाँसखोला बढेर आउँदा स्थानीयलाई आउजाउमा समस्या हुने गरेको छ । नगरपालिकाले वडा नम्बर १ मा पर्ने डाँसखोलामा झोलुंगे पुल निर्माण गरेको छ । 

 

नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर पनि सुधारिँदै छ । विद्यालयको भौतिक संरचना र स्तरोन्नति गरेर शैक्षिक गुणस्तर सुधारमा गाउँपालिका लागिपरेको प्रमुख दासले सुनाए । 

 

स्वास्थ्यमा सुधार

 

नगरपालिकाले स्थानीय स्तरमा स्वास्थ्यको पहुँच पुर्‍याउन चिकित्सक राखेरै स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ९ वटा वडा रहेको सुनवर्षीका सबै वडामा स्वास्थ्य चौकी स्थापना भइसकेको नगरप्रमुख दासले जानकारी दिए ।

 

भवन निर्माण गरी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको पदपूर्ति गरेर अहिले नगरबासीलाई सेवा दिँदै आएको उनले बताए । सुनवर्षीको वडा नम्बर २ अमरदहमा ५ शय्याको अस्पताल सञ्चालनमा ल्याइसकिएको । यो अस्पतालमा एमबीबीए चिकित्सकले स्वास्थ्य सेवा दिँदै आएका छन् । 

 

यस्तै, वडा नम्बर ९ को डाइनियामा बर्थिङ सेन्टर पनि खोलिएको छ । ‘यहाँका गर्भवती महिलाले स्थानीय स्तरबाटै स्वास्थ्योपचार पाएका छन् । असहाय, गर्भवती महिला, विपन्न घरपरिवारका सदस्य बिरामी हुँदा निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएका छौँ,’ नगरप्रमुख दासले भने, ‘ज्येष्ठ नागरिकका लागि स्थानीय स्तरमा स्वास्थ्योपचार पुर्‍याइएको छ ।’


 
कोभिड–१९ मा पनि नगरपालिकाले रोकथाम र नियन्त्रणमा धेरै पहल गरेको प्रमुख दासले दाबी गरे । ‘हामीले नगरपालिकाभित्र १४ वटा क्वारेन्टाइन बनायौ । विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने गरेका थियौँ । कोभिड देखिए नगरपालिकाले बनाएको आइसोलेसनमा राखेका थियौँ भने नदेखिएकालाई घर पठाउने गरेका थियौँ,’ उनले भने । 

 

कृषकलाई अनुदान 


कृषि क्षेत्रमा पनि पराम्परागत तरिकाले गर्दै आएको खेती प्रणालीलाई आधुनिक र औद्योगिकीकरण गर्दै नगरपालिका अगाडि बढिरहेको दासले बताए । कृषि उत्पादन बढाउन नगरपालिकाले कृषकलाई आधुनिक खेती प्रणाली अवलम्बन गराएर कृषि उपकरण अनुदानमा दिने गरेको छ ।

 

मकै, धान, तरकारी, केरा खेतीको पकेट क्षेत्र छुट्याइएको दासले जानकारी दिए । किसान समूहलाई नगरपालिकाले अनुदान दिने गरेको छ । यसले कृषकको उत्पादन वृद्धि भई व्यावसायिक बनाउन सहयोग पुगेको उनको भनाइ छ ।