close

सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल

सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल

Trulli
ADVERTISEMENT

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ को सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल सुरु भएको छ । कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्यालय र स्थानीयसँग छलफल थालिएको हो । 

 

प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले कार्यालय स्थापनाका लागि पहल थालेका हुन् । ‘नगरपालिकाले जग्गा उपलब्ध गराए ६ महिनाभित्र प्रिफ्याब भवन निर्माण गर्छौं, ट्रायल सेन्टरसहितको यातायात कार्यालय स्थापना गर्न प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको छ’, उनले भने । नगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसके काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगकै अन्य नगरपालिकामा यातायात कार्यालय स्थापना गरिने उनको भनाइ छ । 

 

कागेश्वरी मनोहराकी उपप्रमुख बिन्दु सिंखडा पुडासैनीले जग्गा व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको बताइन् । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले कागेश्वरीमा यातायात कार्यालय स्थापना गर्न जग्गा व्यवस्था नभए आफ्नो वडामा पहल गर्न तयार रहेको जानकारी दिए ।

 

उक्त क्षेत्रमा कार्यालय स्थापना गर्न सके बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंखरापुरका साथै यस क्षेत्रमा सीमा जोडिएका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरका बासिन्दा लाभान्वित हुनेछन् ।