close

दुई जिल्ला पस्ने मुख्य राजमार्ग हिलाम्य भएपछि नागरिकलाई कष्ट

दुई जिल्ला पस्ने मुख्य राजमार्ग हिलाम्य भएपछि नागरिकलाई कष्ट

Trulli
ADVERTISEMENT

भोजपुर–भोजपुर र संखुवासभा प्रवेश गर्ने मुख्य नाका धनकुटाको लेगुवा–हिले सडक खण्ड हिलाम्य हुँदा यहाँका नागरिकको जनजीवन कष्टकर बनेको छ । 
यो सडक खण्ड निर्माणमा बेवास्ता गरिँदा दुई जिल्लाका नागरिक प्रत्यक्ष मारमा परेका हुन् । 


यो सडक खण्ड हिलाम्य हुँदा दुवै जिल्लामा यातायातका साधनसँगै खाद्यान्न ढुवानीमा समस्या भएको छ । दुई जिल्ला जोड्ने मुख्य राजमार्गका रूपमा रहेको यो सडक खण्ड वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा वर्षौंदेखि यस क्षेत्रका मानिसले सास्ती भोगिरहेका छन् । 

 

भोजपुर सदरमुकामबाट पूर्वी क्षेत्र हुँदै धनकुटाको सिमाना अरुण नदीको लेगुवाघाटसम्मको भोजपुर खण्डमा पर्ने ६६ किलोमिटर सडक कालोपत्र छ । तर, धनकुटाको लेगुवा–हिले सडक खण्डको करिब २६ किलोमिटर निर्माणमा ढिलाइ हुँदा भोजपुर, संखुवासभा र धनकुटाका विभिन्न स्थानीय तहका नागरिक मारमा परेका छन् । 


     
वर्षा सुरु भएपछि यस सडक खण्डमा ६ घन्टासम्म सवारी तथा ढुवानीका साधन फस्ने गरेका छन् । सवारीका साधनलाई गन्तव्यसम्म पु¥याउन दुई वटासम्म ट्रयाक्टरले तान्नुपर्ने अवस्था रहेको सवारी चालक बताउँछन् ।


आकस्मिक दुर्घटना तथा जिल्ला अस्पतालमा उपचार हुन नसकेर रेफर गरिएका बिरामी, सुत्केरी तथा वृद्धवृद्धालाई झनै समस्या भएको छ । कतिपयले यस सडकका कारण अकालमा ज्यानसमेत गुमाएका छन् । ‘धरान, विराटनगर, काठमाडाँं जाने मुख्य सडक नै यही हो । दैनिक हजारौँको संख्यामा यही सडक भएर सवारी तथा ढुवानीका साधन चल्छन् । बाटोको अवस्था बेहाल छ’, उनले भने । उनका अनुसार ६/७ घन्टासम्म हिलोमा सवारी साधन फस्छन् । सरोकारवाला रमिता हेरेर बसिरहेको प्रभावितको गुनासो छ ।


भोजपुरमा उपचार हुन नसकेका बिरामीलाई बाहिर लैजाने मुख्य मार्ग यही हो । अरू मानिस घन्टौँ बाटोमा अपलत्र परेर पनि गन्तव्यमा पुग्लान् । तर, हिलाम्य बाटोका कारण अकालमा ज्यान गुमाएकाको जिम्मा कसले लिने ?’ 


     
भोजपुर र संखुवासभाका लागि खाद्यान्न ढुवानी गर्ने मुख्य मार्ग पनि यही हो । चाडवाड नजिकिएसँगै खाद्यान्न ढुवानीमा समेत समस्या भएको व्यापारी बताउँछन् । हिलो सडकमा ठूला साधन फसेपछि अन्य सवारीसाधन दिनभरजसो बाटोमा अलपत्र पर्ने गरेका छन् ।

 

विभिन्न काम विशेषले यात्रा गर्ने यस सडक खण्डमा पुगेसँगै गन्तव्यहीन हुने गरेका छन् । सडक खण्डबाट दैनिक हजारौँको संख्यामा यात्रुवाहक तथा ढुवानीका साधन आउजाउ गर्छन् । यति धेरै सवारी साधनको चाप हुँदा पनि सरोकारवाला पक्षले कुनै पहल कदमी नगरेको चालकको गुनासो छ । पाख्रीबास नगरपालिकामा रहेको करिब एक किलोमिटर सडक हिलाम्य छ । यहाँबाट हजारौँ यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।


सवारी चालक उज्ज्वल श्रेष्ठले भने, ‘दैनिक यही बाटो भएर यात्रा गर्नुपर्छ । बाटोमा लामो समयसम्म गाडी हिलोमा फस्छ । झनै एउटा मालवाहक ट्रक फस्यो भने त्यो निकाल्न कोसिस गर्दागर्दै दिनरात यही बित्छ । ट्रयाक्टर ल्याएर सवारीसाधनलाई तान्नुपर्छ । समयमा गन्तव्यमा पुग्न सकिँदैन । समयमा खान पाइँदैन । यात्रुको झनै विजोग हुन्छ । यस्तो अवस्था देख्दा पनि यहाँका जनप्रतिनिधिसँगै सरोकारवाला पक्ष मौन छन् ।’


बाटोमा सवारीसाधन घन्टौँसम्म रोकिँदा विशेष कामले यात्रामा निस्केका मानिसलाई झनै समस्या भएको छ । यो क्षेत्रको सडक विस्तारको काम नहुँदा स्थानीयलाई सास्ती भएको छ । सवारी तथा ढुवानीका साधनलाई दुई वटासम्म ट्रयाक्टरले तानेर गन्तव्यसम्म पुर्‍याउनुपर्ने अवस्था छ । तर, सरोकारवाला पक्ष भने मौन छन् । 

 

ठेकेदार कम्पनीले सडक निर्माणमा ढिलाइ गर्दा यात्रुवाहक तथा ढुवानीका साधन यहाँ घन्टौँसम्म हिलोमा फस्ने गरेका छन् । विगतका दिनमा यो सडकमा ग्राभेल गरिएको थियो ।

 

सडक निर्माण गर्न भन्दै यहाँ लगाएको ग्राभेल भत्काइयो तर काम भएन । भोजपुर क्षेत्रको सडक कालोपत्र भए पनि सो क्षेत्रमा सडक निर्माणमा बेवास्ता गरिदा यहाँका नागरिकले मार खेप्दै आएका छन् । भोजपुरबाट ६ देखि सात घन्टामा धरान पुग्दै आएका यात्रु अहिले १० देखि १२ घन्टामा मात्र धरान पुग्ने गरेका छन् ।

 

बाटो हिलाम्य भएर यातायात सञ्चालनमा समस्या हुँदा संखुवासभाबाट अन्य अस्पताल रिफर गरिएका कतिपय बिरामीको बाटोमै ज्यान जाने गरेको संखुवासभाका सवारी चालक दीपक राईले बताए ।


मानवीय समवेदनासँग जोडिएको सडक निर्माणको काममा ढिला हुँदा पनि यसलाई बेवास्ता गरिएको उनको भनाइ छ । चालक राईले भने, ‘यो संखुवासभाका नागरिकको दैनिकीसँगै जोडिएको छ । यहाँ चाहिने खाद्यान्न तथा सवारीसाधन यात्रा गर्ने मुख्य सडक यही हो । तर, सडक निर्माणमा गरिएको बेवास्ताले धनकुटाका भन्दा पनि हाम्रो ठाउँका मानिस प्रत्यक्ष मारमा छन् । बाटोका कारण मानिसको अकालमा ज्यान गइरहेको छ । बिरामी बोकेका एम्बुलेन्स घन्टाँै हिलोमा फस्छन् । हामीलाई पनि यात्रुलाई गन्तव्यसम्म लैजान सास्ती छ ।’ 

 

पाख्रिबास नगरपालिकाले भने सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताएको छ । निर्माण व्यवसायीलाई चाँडो काम गर्न ताकेका गरिररहेको नगर उपप्रमुख देवकला पौडेल तिमल्सेनाले जानकारी दिइन् । उनले भनिन्, ‘यो सडकका कारण धेरै नै समस्या छ । हामीले निर्माण कम्पनीलाई समयमा काम गर्न भनिरहेका छौँ ।’

 

विगतमा निर्माण कम्पनीकोतर्फबाट काममा ढिला भएको हो । दुई वटा भागमा काम भइरहेको छ । ठेक्का लागेको सडक भएकाले बजेट विनियोजन गरेर काम गर्ने अवस्था नभएको उनले बताए । तर,  बेलाबेला आफ्नै एक्साभेटर प्रयोग गरेर सडकलाई मर्मत गरिरहेको उनको दाबी छ ।  सडकलाई सहज रूपमा सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । विभिन्न वहाना बनाएर सडक निर्माणमा ढिलाइ भएको उनीहरूको अरोप छ ।