close

केन्द्रका कुरै नगरौँ, प्रदेशबाट पनि ठगिएका छौँ     

केन्द्रका कुरै नगरौँ, प्रदेशबाट पनि ठगिएका छौँ     

Trulli
ADVERTISEMENT

गुमानसिंह अर्याल
नगरप्रमुख, बेँसीसहर नगरपालिका, लमजुङ

 

लमजुङको बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल केन्द्रले स्थानीय तहलाई अधिकार नदिइरहेको भनिरहँदा प्रदेशबाटै ठगिनुपरेको गुनासो गर्छन् । अर्यालसँग बेँसीसहरको विकास मोडल, प्रदेश र संघीय सरकारसँग समन्वयलगायत विषयमा गरिएको कुराकानी :


 

संविधानले स्थानीय तहलाई दिएका अधिकार प्रयोग कसरी गरिरहनुभएको छ ? 

 

नेपालको संविधानले मुलुक संघीयतामा गएपछि संघ, प्रदेश र स्थानीय तह बनायो । त्यहीअनुसार सहअस्तित्व स्वीकारेर काम गर्ने भनियो । जे जति अधिकार स्थानीय तहलाई दिइएको छ त्यसैभित्र रहेर हामीले काम गरिरहेका छौँ । 

 

बेँसीसहरले चार वर्षे अवधिमा के–के काम गर्‍यो  ? 

 

हामीसँग बस्ने भवन थिएन । कर्मचारी थिएनन् । ऐन, कानुन थिएन । झन्डै ८० वटा कानुन बनाएका छौँ । ऐन, नियम, निर्देशिका, कार्यविधि बनाएर चलेका छौँ । नगरसभाबाट नीति पास गरेका छौँ । पूर्वाधार, पर्यटन, संस्कृति, पशुपालन, कृषिका क्षेत्रमा नीति बनाएका छौँ । कार्ययोजना पास गरेका छौँ । यसै क्षेत्रभित्र रहेर काम गर्ने गरी घोषणापत्र जारी गरेका थियौँ  । 

 

बेँसीसहरले अगाडि बढाएको विकासको मोडल कस्तो छ ? तपाईंका प्राथमिकतामा परेका योजना के–के हुन् ? 

 

सह–लगानीका आधारमा हामी अघि बढेका छौँ । यो मात्रै त्यस्तो पालिका हो, पूर्वाधार क्षेत्रमा पनि सह–लगानीमा छौँ । समपुरक योजनामा सहभागिता जनाएका छौँ । पालिकाले सडक निर्माणमा ६० प्रतिशत लगानी र नागरिकबाट ४० प्रतिशतमा निर्माण गरेका छौँ । सामुदायिक भवन निर्माणमा पनि हामीले त्यसरी नै सह–लगानी गराएर अघि बढेका छौँ । 

 

कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले अघि सारेका योजनाको प्रतिफल कस्तो आइरहेको छ ? 

 

असाध्यै राम्रो छ । हामीले १२ सय टनेल वितरण गर्‍यौँ । नगरबाट उत्पादन हुने तरकारी झन्डै ८० प्रतिशत हामीले नै खपत गर्छौं । किसानलाई ३ सय वटा हाते ट्रयाक्टर पनि सह–लगानीमा वितरण गर्‍यौँ । 

 

सामाजिक सुरक्षाका क्षेत्रमा तपाईंको कुनै नयाँ कार्यक्रम छ कि ? 

 

लागूऔषध रोक्ने योजना बनाएर अघि बढ्ने तयारी गरिरहेका छौँ । बजारमा सिसीक्यामेरा जडान गरेका छौँ । विपन्नलाई औषधोपचारबापत खर्च उपलब्ध गराएका छौँ । भोकमरी कम गर्ने, अपांगता, सीमान्तकृत समुदायलाई भवन बनाउने, विद्युत्, पशुपालनमा सहयोग गरेका छौँ । 

 

स्थानीय सरकारका कामलाई सहज बनाउने सवालमा प्रदेश र संघीय सरकारको भूमिका कस्तो पाउनुभएको छ ? 


सहयोग आएको छ । तर, समन्वय कम छ । बजेट पनि दिइएको छ । यो वर्ष हामी प्रदेश सरकारबाट पनि ठगियौँ । प्रदेश सरकारले महत्त्वपूर्ण रणनीतिक सडक, जुन प्रत्येक वडामा पुग्ने सडक थिए । त्यो बनाउन सकेनौँ । पहिले बजेट आउँथ्यो, अहिले रोकियो । 

 


अन्त्यमा, जनप्रतिनिधिका रूपमा चार वर्ष काम गर्दाको अनुभव कस्तो रह्यो ? 

 

असाध्यै खुसी लागेको छ । काम धेरै गरेका छौँ । पर्यटन, पूर्वाधार र संस्कृतिका क्षेत्रमा काम गरेका छौँ । हामीले सरकारले घोषणा गर्नुअघि नै अधिकांश विपन्नका घरको खरको छाना हटाइसकेका थियौँ । विद्यालयमा शौचालय निर्माण, सिँचाइ सुविधा उपलब्ध गराएका छौँ । कोरोना महामारीमा अधिक काम गरियो । लकडाउनका बेला डायलासिस गर्न नागरिकलाई विभिन्न स्थानमा पुर्‍याऔँ । धेरै स्वास्थ्य सामग्री खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गरायौँ । आवधिक योजना केही दिनमै काम हुँदै छ । आन्तरिक राजस्वको दायरा पनि बढाए राजस्व चुहावट पनि रोकेका छौँ ।