close

चुनावका बेला गरेका बाचा पूरा गर्दा-गर्दै समय बितेको पत्तै भएन : उपाध्यक्ष देउवा

चुनावका बेला गरेका बाचा पूरा गर्दा-गर्दै समय बितेको पत्तै भएन : उपाध्यक्ष देउवा

Trulli
ADVERTISEMENT

बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्ष बिस्ना देउवा बम ‘बोगटान फुड्सिल गाउँपालिकाको नारा, महिला हिंसारहित सारा’ अभियानका साथ जनताको सेवामा व्यस्त छिन् । महिलाहरूकै भोटका कारण निर्वाचित भएको बताउँने उनी महिला दिदीबहिनीका समस्यालाई आफ्नै सम्झेर समाधानको खोजी गर्नुहुन्छ । आफ्नो जीतलाई महिला दिदीबहिनीहरूको जीत भन्ने उपाध्यक्ष देउवासँग पालिकाखबरकी पार्वती साउदले गरेको अन्तरवार्ताको सम्पादित अंश:

गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएपछि के कस्ता काम गर्नुभयो ?

निर्वाचित भएर जनताको सेवा गरेको १८ महिना भयो । बोगटान फुडसिल गाउँपालिका विकासका हिसाबमा एकदमै दुर्गम क्षेत्रमा हो । यहाँ आवश्यकता र अभावको चाङ धेरै छन् । स्वास्थ्य, शिक्षा र सडक विस्तारलगायत तमाम कामहरु अधुरा छन् । गाउँपालिकाअन्तर्गत प्रत्येक वडामा सडक विस्तारको काम अघि बढाइरहेका छौं । यसका साथै महिलाका विषयमा जनचेतनामुलक कार्यक्रम, लैङ्गिक हिंसासम्बन्धी कार्यक्रमजस्ता जनचेतनामूलक काम गर्दै आइरहेका छौं । 

यहाँ विभिन्न हिंसाका घटना समय/समयमा हुँदै आएको छ । यसमा महिलाहरू नै बढी पीडित छन् । अप्रिय घटना नहोस् भनेर सचेतनामुलक कार्यक्रम गर्दै आइरहेका छौँ । त्यसका साथै गाउँघरका महिला दिदीबहिनीलाई कुटानी पिसानी गर्न परम्परागत ढिकी जातोबाट छुटकारा दिने प्रयासमा पनि छु । 'महिलासँग उपाध्यक्ष' कार्यक्रममार्फत् मिल उपलब्ध गराउन सफल भएको छु । 

प्रत्येक वडामा बालबालिकासम्बन्धी बाल समिति गठन गरेका छौं । स्वास्थ्य र शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेर बोगटान फुड्सिल गाउँपालिकालाई अगाडि बढाउने छौं । भौगोलिक क्षेत्रलाई आवश्यकताअनुसार खानेपानीदेखि लिएर सबै किसिमका सानादेखि ठूला कार्यक्रमहरुबाट सबै कुरा समेटेर काम गरिरहेका छौं ।  

यो १८ महिना जनप्रतिनिधिको रुपमा सेवा गर्दा के-कस्ता समस्या भोग्नुभयो ?

यहाँ विभिन्न अप्ठेराहरु छन् । भौगोलिक हिसाबले विकट क्षेत्र भएकोले सजिलो छैन ।  बस्ती टाढा-टाढा भएकाले विकास निर्माणका काम पनि साेचेअनुरुप हुन सकेकाे छैन । अर्को कुरा छाउपडी प्रथा उन्मुलन गर्दा साह्रै चुनौती छ । छाउपडी निर्मुल गर्न जनचेतनाका कार्यक्रम गरी एकैपटक परिवर्तन गर्न नसके पनि पहिलेको भन्दा केही परिवर्तन गरेका छौं ।

छाउपडी प्रथाको कुरा गर्नुभयो । दिदीबहिनी अहिलेसम्म पनि छाउगोठमा बस्न बाध्य छन् र ?
आजभन्दा २/३ वर्ष पहिलादेखि नै घरदेखि टाढा छाउगोठमा बस्ने चलन थियो । छाउपडी कुप्रथा  मात्रै हाे अरु केही होइन भनेर सचेतना कार्यक्रम गरी घरदेखि टाढा बस्ने दिदीबहिनीलाई छाउबाट हटाएर अर्को कोठमा राख्न सफल भएका छौं । पूर्ण रुपमा निर्मुल पार्न नसके पनि केही हद व्यवस्थित गर्दै आएका छाैँ ।

 छाउपडी प्रथाले त्यहाँका जनमानसको मानसिक सोचमा जरा गाडेर बसेको छ । यसले गर्दा पनि छाउपडीलाई पूर्ण रुपमा निर्मुल गर्न सकेकाे छैन । छाउपडी निर्मुलका लागि गाउँबस्तीमा गयौँ भने उल्टै समस्यामा परिएला कि भन्ने लाग्छ । विस्तारै भए पनि परिवर्तन हुनेमा विश्वास्त छु ।

महिला जनप्रतिनिधि भएकोले समस्या, अवसर र चुनौतीहरु के–के छन् ?
भौगोलिक विकट भएकोले समस्या नै समस्या छन् । विकासका कामहरु गर्न समय कति लाग्छ त्यसमा भर पर्छ । कहिलेकहीँ पाँच वर्षकाे छोटो समयमा परिवर्तन गर्न सकिँदैन कि भन्ने लाग्छ । बाँकी ३ वर्षमा सबै काम पुरा गर्न सकिँदैन होला चुनावका बेला गरेका बाचा पूरा गर्न लाग्दा समय बितेको पत्तै भएन; समस्या जस्ताका तेस्तै छन् । 

यहाँ अधिकांश स्थानीयहरु कृषि पेशामा निर्भर छन् । कृषि क्षेत्रको विकासका लागि के कस्ता कार्यक्रम ल्याउनुभएको छ ?
गाउँपालिकामा कृषि पेशामा आवद्ध कृषकका सहजताका लागि ४ वटा वडामा सुन्तला पकेट क्षेत्र घोषणा गरेका छौं । त्यसैगरी कृषकलाई प्रोत्साहन भत्ता, अनुदानमा कृषि सामग्रीलगायत वितरण गर्ने गरेका छौं । कृषकलाई अब्बल तरिकाले कृषि क्षेत्रमा आवद्ध हुन सुन्तला, अदुवा बेसारलगायतको उत्पादनमा जोड दिएका छौ । कृषकका मागअनुसार आवश्यक कृषि सामग्रीहरु गाउँपालिकाले वितरण गरेका छौं ।  उनीहरुको समस्या र मागअनुसार सहयोग गर्दै आएका छौ ।

तपाईको आगामी कार्यकालको बाँकी समयमा मुख्य योजनाहरु के–के छन् ?

पालिकाले गर्नुपर्ने र गर्न सकिने कामहरु धेरै छन् । विभिन्न समस्याका बावजुत दिदीबहिनीहरूलाई सक्षम बनाउनुछ । आज राजनीति गर्दै गर्दा महिला प्रतिनीधि खोज्दै जानु पर्ने समस्यालाई हटाउनु छ । शिक्षा क्षेत्रमा फड्को मार्नु पर्नेछ । यो क्षेत्रमा महिलालाई अगाडि बढाउनु पर्ने छ । 

यसका साथै गाउँपालिकाको दुरदराजका महिला दिदीबहिनीको स्वास्थ्य ज्यादै नाजुक रहेको छ । पाठेघरको क्यान्सर भएका तथा रोग लुकाएर बस्नु पर्ने बाध्यता रहेको छ । यससम्बन्धी पनि जनचेतनाका कार्यक्रम गरेका छौं । महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत् गत वर्ष १८/२० जना महिला दिदी बहिनीको पाठेघरको अप्रेसन गरेका छौं।

महिला दिदीबहिनीले कुनै किसिमका हिंसाहरु सहेर बस्न नपरोस् भनेर जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेछ । साथै महिला दिदीबहिनीको भोटले यो स्थानमा आएको हुँ भनेर मैले बिर्सनु हुँदैन ।