close

सामाजिक कामले रात पर्दा परिवारका सदस्य लिन आउनुहुन्छ : वडाध्यक्ष गौरीकुमारी

सामाजिक कामले रात पर्दा परिवारका सदस्य लिन आउनुहुन्छ : वडाध्यक्ष गौरीकुमारी

Trulli
ADVERTISEMENT

जनप्रतिनिधि सेवक हुन्, जागिरे होइनन् । महिला जनप्रतिनिधिको काँधमा थप जिम्मेवारी हुन्छ । अधिकांश घरको धन्धा छोरीमान्छेले नै गर्छन् । त्यसैले बिहान र राति घरको सबै काम गरेर दिनभर जनताको सेवामा निस्किनु सामान्य होइन । अझ नेपालमा त महिला जनप्रतिनिधि अति न्यून छन् । देशभर ६ हजार ७३३  वडाअध्यक्ष निर्वाचित हुँदा ६९ जनामात्र महिला वडाध्यक्ष छन् । ६९ जना महिलामध्ये बझाङको खप्तडछान्ना गाउँपालिका-३ को वडाध्यक्षमा निर्वाचित गौरी कुमारी अधिकारी रावलसँग पालिकाखबरकी पार्वती साउदले गरेकाे कुराकानीकाे सम्पादित अंश:

तपाईं निर्वाचित हुँदाको क्षण सम्झौं न, वडाध्यक्षको जीतमा कतिको चुनौती अनि महिला हुनुको सहानुभूति कस्तो थियो ?
गाउँपालिकामा स्थानीयले मलाई विश्वास गर्नुभयो । जनप्रतिनिधि तथा स्थानीयले युवालाई राजनीतिमा ल्याउनु पर्छ भन्ने थियो । सबैको साथले नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा जित्न सफल भए । 

महिला वडाध्यक्ष भएकै कारण असहयोग त छैन नि ?
कार्यालयको काम होस् या स्थानीयको समस्या समाधान होस् कुनै पनि जनप्रतिनिधिले भोलि आउछु भनेर बहना बनाउँदैनन् । जतिबेला काम पर्‍यो उतिबेला सबैजना एकता हुने गर्छन् । वडाका सबै जनप्रतिनिधि उतिकै खटेका छौं । स्थानीय र अरु वडासदस्यहरूको सहयोग उत्तिकै छ ।

पालिकाबाट गरिने सहयोग कस्तो छ ?
महिला वडाअध्यक्ष भएकै कारण भेदभाव गरेको छैन । प्रत्येक वडामा जति बजेट दिनुभएको छ त्यति नै बजेट हाम्रो वडामा पनि दिएको छ । महिला वडाअध्यक्षलाई सहयोग र सपोर्ट गर्नुपर्छ भन्ने सोच भएका छन् ।  उहाँहरूले महिलालाई हरेक काममा सहयोग गरेको पाएको छु ।

स्थानीयले चाहिँ के भन्ने गरेका छन् ?
सुरुमा टिकटको लागि दाबी गर्दा महिलाले पनि राजनीति गर्ने भए भनेर कुरा काट्थे । कांग्रेसकै पार्टीबाट बागी समूहले पनि चुनावमा आउन खोजिरहनु भएको थियो । उहाँहरूले टिकट पाउनु भएन । यहाँका जनताले मलाई नै विश्वास गरेर भोट दिनुभयो । अध्यक्ष भएर जनताको सेवामा लागिरहेकी छु । कहिलेेकहीँ कार्यालयको कामले गर्दा साँझ पर्छ त्यतिबेला म एकजना मात्र महिला हुन्छु अरु सबै पुरुष जनप्रतिनिधि भएका कारणले अप्ठयारो महशुस हुन्छ । आगामी चुनावमा महिला जनप्रतिनिधिहरु बढ्छन् भन्ने आशा छ । 

विवाहित हुनुहुन्छ, घर र समाजको जिम्मेवारीलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? 
घरपरिवारले भरपूर साथ दिएका छन् । कार्यालयको कामको कारणले बिहान ३/४ बजे गए पनि परिवारले अहिलेसम्म पनि किन यत्ति छिटो जाने र किन ढिलो आएको भनेर प्रश्न गरेको छैन । त्यसैले मैले अहिलेसम्म ढुक्कले जनताको सेवामा काम गर्दै आएको छु । कार्यालयको कामले रात पर्दा परिवारका सदस्य लिन आउनुहुन्छ ।

वडाबासीले के अपेक्षा राखेका छन् ?
अरुको वडामा भन्दा हाम्रो वडामा केही राम्रो र फरक काम गरेको भए हुन्थ्यो भन्ने छ । वडाध्यक्ष महिला भएको कारणले अलि बढी अपेक्षा महिला दिदीबहिनीले नै गर्नुभएको छ । उहाँहरुलाई केही समस्या भए आएर मलाई नै भन्नुहुन्छ । हाम्रो वडाका दिदीबहिनीका समस्या त राख्नुहुन्छ अर्को वडाका दिदीबहिनीले पनि आफ्ना समस्या राख्नुहुन्छ । तपाई महिला भएकै कारणले हामीलाई सीपमूलक तालिमलगायतका अन्य कुरामा तपाईले भनिदिनुभएको भए हाम्रो काम छिटो हुन्छ कि भन्ने अपेक्षा राख्नुहुन्छ ।