close

सबैसँग मिलेर सुनवर्षीलाई समृद्ध बनाउने छु : उपप्रमुख केवरत

सबैसँग मिलेर सुनवर्षीलाई समृद्ध बनाउने छु : उपप्रमुख केवरत

Trulli
ADVERTISEMENT

माेरङ - स्थानीय निर्वाचन २०७९ बाट कार्यकारी तहमा महिलाको संख्या निकै कम छ । निर्वाचन आयोगको तथ्यांक अनुसार ३४ हजार ७ सय ४१ जना जनप्रतिनिधिमध्ये १३ जना नगरप्रमुख, १२ जना पालिका अध्यक्ष, उपनगरप्रमुख २२१ र उपाध्यक्ष ३३५ जना निर्वाचित भएका छन् । त्यसमध्ये एक हुन् सुनवर्षी नगरपालिकाकी उप–प्रमुखमा मिरादेवी दास केवरत । नेकपा एमालेबाट निर्वाचित भएका उनी सुनवर्षीलाई समृद्ध बनाउन तत्पर छन् । जनताको आशा र भरोसालाई बलियो आधार बनाएका उनले स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग सहकार्य गरी जिम्मेवारी पूर्ण रुपमा बहन गर्ने बताउँछिन् । उनै केवरतसँग पालिकाखबरकर्मीका पार्वती साउदले गरेको कुराकानीको सम्पादित अंश:

तपाई निर्वाचित हुनुभएको डेढ वर्ष नाघ्नै लाग्यो आफूले सम्पादन गरेको काम प्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? र कसरी समिक्षा गर्नुहुन्छ?
निर्वाचितपछि जनताको सेवामा छु । महिला  जनप्रतिनिधि भएकाले मसँग धेरै चुनौती छन् । पुरुष जनप्रतिनिधिको तुलनामा महिलालाई कठिन नै छ । जनताले विश्वास गरेपछि पाँच वर्षका लागि उपप्रमुखमा निर्वाचित  भए । महिला उपप्रमुख भएर काम गर्दा कठिनाइ, आरोहअवरोह आउँदो रहेछ  । तर पनि जनताको सेवामा लागिरहँदा खुसी छु । यस्ता चुनौतीको बावजुत पनि जनताको सेवामा रहेर काम गर्दा खुसी नै छु । पालिकामा मात्र नभई देशभरीका महिलालाई समस्या छ ।

राज्यले जिम्मेवारी त दिएको छ । साेही अनुरुप हामीले जिम्मेवारी बहन गर्दै आएका छाैँ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ले उपप्रमुखलाई अनुगमनको संयोजकको जिम्मेवारी दिएकाे छ । साेहीका आधारमा कार्यसम्पादक मेयर र वडाध्यक्षले गर्नुहुन्छ  भने बजेट पनि उहाँहरुसंग नै हुन्छ । तर उपप्रमुखलाई आर्थिक अधिकार दिएकाे छैन ।  

निर्वाचनपछि स्थानीय सरकारमा आएर के–के समस्या भोग्नुभयो ? यसै दौरानमा के–के चुनौती आए? त्यसलाई कसरी फेस गर्नुभयो ?
जनताका लागि भनेर स्थानीय तहमा आएपछि विभिन्न किसिमका समस्या आए । समस्यालाई छिचोल्दै अन्य जनप्रतिनिधि र स्थानीयसँग सहकार्य गर्दै अगाडि बढ्दै आएकी छु । पुरुषप्रधान देशमा महिलालाई हरेक काममा चुनौती छ । हाम्रो समाजमा महिला र पुरुषमा एकदमै विभेद गरेको पाइएको छ । महिलाले पनि राजनीतिमा प्रवेश गरे राम्रै काम गरेर देखाउँछन भन्ने कुरा बुझ्दैँन समाजले । आफ्नो कार्यकालमा जस्तोसुकै चुनौती आए पनि महिला भएर काम गरेर देखाउनु छ र गर्दै छु । जस्तोसुकै विभेद र चुनौती आए पनि मिलेर नै काम गर्दै आइरहेका छौँ ।

महिला जनप्रतिनिधि भएको नाताले तपाईको अनुभव कस्तो रह्यो ? आगामी दिनमा यहाँका के–के योजनाहरु छन ?
समृद्ध नगरपालिका बनाउने हाम्रो प्रतिवद्धता छ । हाम्रो प्रतिवद्धतालाई पुरा गर्ने प्रयासमा छौँ । नगरपालिकामा सानातिना उद्योग खोल्न प्रदेश सरकारलाई घच्घचाइरहेका छौँ । पालिकामा उद्योग सञ्चालनमा आएदेखि यहाँका युवाहरु स्वदेशमै रोजगार हुने थिए । 'हाम्रो सुनवर्षी सुन्दर र समृद्ध सुनवर्षी' बनाउने योजनामा छ । आफ्नो पालिकालाई सुन्दर र समृद्ध सुनवर्षी बनाउन यहाँका जनप्रतिनिधि पनि लागि परेका छौँ ।
 

तपाईले गर्न चाहेको तर गर्न नसकेको कामहरु केही छन् कि ?
गर्न चाहेका काम धेरै छन् तर आर्थिक अभावका कारण काम रोकिने गरेको छ । बजेट अभावको कारणले काम पनि रोकिने अवस्था सिर्जना हुन्छ । हामीहरुले बजेट बनाएर त पठाउँछौ तर माग गरेअनुसारको बजेट प्रदेश सरकार र संघीय सरकारले पठाउदैँनन् । त्यसैले बजेट अभावका कारणले बन्न लागेका योजनाहरु विथोलिन्छ ।

तपाई न्यायिक समिति संयोजक पनि हुनुहुन्छ ? कस्ता खालका मुद्दाहरु बढी आउँछन् र तिनीहरुलाई कसरी समाधान गर्नुहुन्छ ?
नगरपालिकाको उपप्रमुख तथा न्यायिक समिति संयोजकको नाताले स्थानीयका समस्याहरु सकभर समाधान गरेको छु । पालिकामा स्थानीयका समस्याहरु लिएर आउनु हुन्छ । स्थानीयकाे समस्यालाई पनि मध्यनजर गर्दै मेलमिलाप गर्छौ । गाउँघरमा सिमाना मिचेका, वस्तुले बाली खाएको, घरेलु हिंसालगायतका मुद्दाहरु बढी आउने गरेका छन् । यस्ता मुद्दाहरुलाई पालिकामै मिलोमतो गराएका छौँ । यस्ता मुद्दाहरु दुवै पक्षलाई बोलाएर छिनोफानो गरेका छौँ । पालिकामा आएका मुद्दाहरु जिल्ला पठाउने गरेका छैनौँ । जिल्ला पठाउने खालका मुद्दा आएका पनि छैनन् । समग्रमा भन्नुपर्दा आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाको छिनोफाने पालिकामै गरेका छौँ ।

तपाईका योजना र सपनाहरु त धेरै छन् होलान् आगामी कार्यकालमा सबै पक्षलाई समेटेर कसरी अगाडी बढनुहुन्छ ?
पालिकामा बहुमतको सरकार रहेको छ तर पनि पार्टीगत हिसाबमा नभइ यहाँका जनताको सरकार बनेर अगाडि बढ्ने छौँ । हामीबाट जनताले कत्तिको सेवा लिनुहुन्छ सेवा दिन तत्पर छौँ । म महिला जनप्रतिनिधि भएकोले महिलालाई सिलाईकटाई, पो उन्ने, गुडिया बनाउनेलगायतका सिपमुलक तालिम दिने गरेका छौ ।