close

धादिङवेँसीका अधिकांश सीसी क्यामेरा बन्द

धादिङवेँसीका अधिकांश सीसी क्यामेरा बन्द

Trulli
ADVERTISEMENT

धादिङ- जिल्ला प्रहरी कार्यालय धादिङमा कन्ट्रोल कक्ष राखेर सदरमुकाम धादिङवेँसीमा जोडिएका अधिकांश सीसी क्यामेरा बिग्रिएर काम गर्न छाडेका छन् ।


सदरमुकामको शान्ति सुरक्षालाई ध्यानमा राखेर बजार क्षेत्रमा ३८ स्थानमा सीसी क्यामेरा राखिएकामा केही महिनादेखि २१ वटाले काम गर्न छाडेका थिए ।
    

जिल्ला सदरमुकाममा सुरक्षा निगरानी गर्नका लागि नीलकण्ठ नगरपालिकाको सहयोगमा सीसी क्यामेरा जडान गरिएको थियो । सदरमुकामका मुख्यमुख्य चोक र मानिसहरूको भीडभाड बढी हुने स्थानमा सीसी क्यामरा जडान गरिएको थियो ।


सीसी क्यामेरा राखेपछि सुरक्षा अवस्था निगरानी गर्न सहयोग पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेश खड्काले बताए ।


बजार क्षेत्रभित्र कहाँ के भइरहेको छ भनेर सीसी क्यामेरामा हेरेर प्रहरीले कन्ट्रोल रुमबाटै निगरानी गर्ने गरेको थियो ।  
    

बिग्रिएका सीसी क्यामेरा नीलकण्ठ नगरपालिकाले मर्मत गर्ने भएको छ । क्यामेरा बिग्रिएपछि बन्द भएका सीसी क्यामेरा मर्मतका लागि नगरपालिकालाई अनुरोध गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।


सदरमुकामभित्र हुने चोरीका घटनाहरू, लुटपाट, सवारी दुर्घटना, महिला हिंसा, बालअधिकार हननलगायतका विभिन्न घटनाहरू नियाल्न र न्यूनीकरण गर्न क्यामेराले महत्त्वपूर्ण सहयोग गरेको खड्काको भनाइ छ ।