म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर- ७ धारापानीकी सकमाया फगामीका पाखुरा मुंग्रोले चुटेर पुवा प्रशोधन गर्दा असाध्यै दुख्थे । चुट्ने क्रममा उड्ने पुवाको धुलोले बिरामी हुने डर पनि उत्तिकै ।
‘अब पाखुरा दुख्ने गरी मुंग्रोले पुवा चुट्नुपर्ने दुःख हरायो,’ उनले भनिन्, ‘मेसिनले पुवा चुट्न थालेपछि दुःख र झन्झट हटेको छ ।’ धारापानीको नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ प्रालिले पुवा चुट्ने औजार भित्र्याएपछि उद्यमीलाई सुविधा भएको हो ।
‘पहिले दिनभरि लगाएर १ जनाले १० किलो पुवा चुटेर भुवा बनाउँथ्यौँ’, अर्की उद्यमी बालकुमारी विकले भनिन्, ‘मेसिन भएपछि एकै दिनमा सय किलो पुवा प्रशोधन गर्न थालेका छौँ ।’
पुवा प्रशोधन गरेर भुवा बनाउने औजार भित्रिएपछि उद्यमीको समयको बचत र अल्लो कपडाको उत्पादन लागत घटेको छ । छोटो समयमै धेरै भुवा तयार पार्न सकिने भएको छ । यो उद्योगमा डिभिजन बन कार्यालय म्याग्दीको सहयोगमा ५ वटा पुवा चुट्ने औजार जडान भएको छ ।
जंगलमा संकलन गरिने पुवालाई पानीमा भिजाउने र पकाएपछि रेसादार भुवा बनाउन काठको मुंग्रोले चुट्ने परम्परागत प्रविधि थियो । टाउलो र दिप्चीमा पकाउँदा धेरै समय लाग्थ्यो । ठूलो भाडामा आगोले पकाएर औजारले चुट्दा कम लागतमा छिटो प्रशोधन हुन थालेको उद्योगका संचालक किरन थापाले बताए ।
‘पुवा चुटेर प्रशोधन गर्ने मेसिन ल्याएपछि उद्योगको क्षमता बढेको छ’, उनले भने, ‘वार्षिक २० हजार टनसम्म अल्लो पुवा प्रशोधन गर्न सकिन्छ ।’ यसअघि वार्षिक ३ हजार टनको हाराहारी अल्लो प्रशोधन हुने गरेको थियो ।
भुवाको धागो बनाउने कार्डिङ र धागोबाट कपडा बुन्ने औजार पनि ल्याउन लागेको थापाले सुनाए । अल्लो प्रशोधन गर्न र पकाउने औजार खरिदका लागि डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा १७ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको निमित्त कार्यालय प्रमुख सन्तोष खनालले जानकारी दिए ।
२०७३ सालमा स्थापना भएको अल्लो प्रशोधन र कपडा उत्पादन गर्ने यो उद्योगमा ५ जनाले नियमित रोजगारी पाएका छन् । नियमित काम गर्नेले मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । घरधन्दा र खेतबारीको कामबाट बचेको समय उद्योगमा काम गर्न आउँछन् ।
१२ लाखमा सुरु भएको उद्योगमा हालसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी पुगेको छ । गुर्जा, मुदी, लुलाङ, मल्कवाङ, रुमको जंगलमा खेर गइरहेको अल्लो उद्योगलाई बेचेर स्थानीयले आम्दानी गरेका छन् । उद्योगले प्रतिकिलो १३० रुपैयाँका दरले अल्लो खरिद गर्दै आएको छ ।
पुस, माघमा अल्लोको पुवा संकलन हुन्छ । बजार टाढा हुँदा यसअघि अल्लो पुवा कुहिएर खेर गइरहेको थियो । गाईवस्तु बाँध्ने दाम्लो र भारी बोक्न प्रयोग हुने नाम्लो बनाउनेबाहेकका काममा अल्लो सदुपयोग हुन सकेको थिएन ।
क्षमता बढाएकाले छिमेकी बागलुङ, पर्वत र रुकुमको अल्लो पनि खपत हुन थालेको छ । समुद्री सतहदेखि १ हजार ५०० देखि ३ हजार ५०० मिटरको उचाइमा पाइने रेसादार अल्लोको पुवालाई प्रशोधन गरेर तयार भएको धागोबाट कपडा बनाउने गरिन्छ ।
अल्लो कपडाबाट कोट, झोला, पछ्यौरा, सल तयार पार्न सकिन्छ । गुणस्तरअनुसार प्रतिमिटर ५५० देखि ८५० रुपैयाँका दरले अल्लोका कपडा बिक्री हुन्छ ।
यो उद्योगमा यसअघि १ हजार ५०० मिटर हाराहारी कपडा उत्पादन हुन्थ्यो । प्रविधिको प्रयोग हुन थालेपछि वार्षिक ५ हजार किलो भुवा तयार पार्न सकिने संचालक थापाले बताए ।
काठमाडौंको ठमेल, पोखरालगायत पर्यटकीय स्थल र विदेशमा अल्लो कपडा बिक्री हुने गर्छ । बलियो, हलुका, वातावरण अनुकूलित विशेषता रहेको अल्लोको धागोबाट आवश्यकताअनुसारका कपडा तयार पार्न सकिन्छ ।