close

कार्तिक नाचलाई ललितपुर महानगरको ५० लाख सहयोग

कार्तिक नाचलाई ललितपुर महानगरको ५० लाख सहयोग

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुर महानगरपालिकाले ललितपुरको ३ सय ७९ वर्ष पुरानो प्रसिद्ध कार्तिक नाचको अक्षयकोष स्थापनाका लागि ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।


ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

 

चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र समितिका अध्यक्ष चित्रकारले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यो नाच मल्ल राजा सिद्धिनरसिंह मल्ल सुरु गरेको मानिन्छ । कार्तिक नाच कार्तिक महिनामा देखाइन्छ ।

 

महानगर प्रमुख महर्जनले कार्तिक नाच संरक्षणका लागि अक्षकोषमा रकम उपलब्ध गराइएको बताए । उनले भने, ‘अघिल्लो वर्ष मैले यही डबलीबाट यो नाचको अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गर्ने वचन दिएको थिएँ । आज त्यो पूरा हुँदा खुसी छु ।’ 

 

ललितपुर महानगरले मूर्तसँगै अमूर्त सम्पदाको संरक्षण गर्न धेरै काम गरेको उनले बताए । नाच, जात्रा अमूर्त सम्पदाअन्तर्गत पर्छन् । उनले मूर्त र अमूर्त सम्पदा महानगरको पहिचान भएको जानकारी दिए ।


पाटन दरबार क्षेत्रमा रहेको नरसिंह मन्दिरको निर्माण पनि महानगरले छिट्टै थाल्ने महानगर प्रमुख महर्जनले बताए । ‘व्यापारीको आराध्यदेव भीमसेन मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । देगु तलेजुको पनि पुनर्निर्माणको काम सुरु भएको छ’, महर्जनले भने ।

 

ललितपुर महानगर वडा नम्बर १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले महानगरभित्रका सम्पदा र संस्कृति नेपालकै चिनारी भएको बताए । वडा नम्बर १६ ले यसअघि नै कात्र्तिक नाचका लागि वडास्तरीय बजेटबाट १० लाख दिइसकेको छ ।

 

कार्यक्रममा नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले महानगरलाई धन्यवाद दिँदै अक्षकोषको रकम ५ वर्षभित्र १० करोड पुर्‍याउने जानकारी दिए । अक्षयकोष स्थापनापछि प्रत्येक वर्ष नाच सञ्चालनका खर्च जोहो गर्दै हिँड्नु नपर्ने धारणा राखे ।


कार्यक्रममा पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईले मूर्त र अमूर्त सम्पदा, कला-संस्कृतिमार्फत पर्यटकलाई आकर्षित गर्न सकिने बताए । उनले यस कार्यका लागि बोर्ड सम्बन्धित निकायसँग सहकार्य गर्न तयार रहेको धारणा राखे ।

 

पाटन संग्रहालयका प्रमुख सरस्वती सिंहले ललितपुरको कला, संस्कृति र सम्पदाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाएको बताइन् । कार्यक्रममा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो ।