close

वास्तविक सहिदको योगदान सधैँ ओझेलमा

वास्तविक सहिदको योगदान सधैँ ओझेलमा

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रजातन्त्र स्थापनाका लागि बलिदान दिने सहिदको सम्झनामा शुक्रबार देशभरै सहिद दिवस मनाएर औपचारिकता पूरा गरिँदै छ । तर, पछिल्लो समय र कुन सहिदले देश र जनताका लागि के योगदान गरेका थिए भन्ने तथ्यांक सरकारसँगै छैन ।

 

सहिद नाममा भएको राजनीतिले देश र जनताको नाममा बलिदानी दिने सहिदको महत्त्वलाई फिक्का बनाइदिएको छ । प्रत्येक वर्ष १६ माघमा सहिद दिवस मनाइने गरे पनि राज्यले उनीहरूको सम्मान दिन नसकेको सरोकारवालाको बुझाइ छ ।

 

१० देखि १६ माघसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएका छन् । २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष १६ माघमा सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

 

स्वतन्त्रताको माग गर्दा १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई १० माघमा काठमाडौंको टेकुस्थित पचलीमा, १३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएको थियो ।


सहिद भन्नेबित्तिकै जहानियाँ राणा शासनविरुद्ध आवाज उठाउँदा ज्यान गुमाएका गंंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई चिनिन्छ । यी ४ बाहेक थुप्रैले स्वतन्त्रता र परिवर्तनको आन्दोलनमा ज्यान दिएकाहरू छन् । 


तर, पछिल्लो समय दुर्घटनामा मारिएकादेखि हदयाघात भएर मरेकासम्मलाई सहिद घोषणा गरिँदा वास्तविक सहिदको योगदान ओझेल परेको छ । सहिद शब्दकै अपमान भएको छ । सरकारसँग सहिदको यकिन तथ्यांकै छ । नाम त धेरै परको कुरा । खासगरी सहिदसम्बन्धी हेर्ने निकाय नै नतोकिएकाले समस्या भएको सरकारी अधिकारीहरू बताउँछन् ।

 

सरकार र सत्ता फेरिनेबित्तिकै आफ्ना कार्यकर्ताको सामान्य मृत्युलाई पनि सहिद घोषणा गर्ने परिपाटीका कारण वास्तविक सहिदको योगदान ओझेल परेको छ । विभिन्न सरकारको पालामा सहिद घोषणा गरिएका छन् । तर, वास्तविक सहिदलाई राज्यले बेवास्ता गरेको भन्ने गुनासा पनि उत्तिकै छन् ।


गृह मन्त्रालयको तत्थ्यांकअनुसार सहिदको संख्या १२ हजार २ सय ३० पुगेको छ । सहिदको सूचीमा परेकामध्ये ९ हजारभन्दा बढीका परिवारले सरकारबाट १० लाख रुपैयाँ राहत लिएका छन् । 

 

गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेका आनुसार ७ सय ५५ जना घाइतेले सरकारबाट आंशिक र पूर्ण जीवनयापन भत्ता पनि लिँदै आएका छन् ।


मन्त्रालयका अनुसार २०५२ देखि २०६२/६३ सम्म ज्यान गुमाएका तत्कालीन माओवादीका करिब ८ हजार कार्यकर्तालाई सहिदको सूचीमा समावेश गरिएको छ । पुष्पकमल दाहाल र बाबुराम भट्टराईको प्रधानमन्त्री भएका बेला उनीहरू सहिदको सूचीमा समावेश गरिएका हुन् ।


३ वर्षअघि सशस्त्र द्वन्द्वकालमा ज्यान गुमाएका २ हजार ८ सय ९४ जना सुरक्षाकर्मीलाई एकै पटक सहिद घोषणा गरियो । २२ माघ २०७४ मा पुनः एकै पटक २ सय ९ जनालाई सहिदको सूचीमा समावेश गरिएको थियो ।

 

मधेस आन्दोलन, थरुहट आन्दोलनलगायतका क्रममा ज्यान गुमाएका पनि सहिदकै सूचीमा अटाएका छन् । अन्य घटनामा मारिएका कतिपय व्यक्ति पनि सहिदको सूचीमा परेका छन् ।