close

सुनवलमा भूमि समस्या समाधान आयोगको लगत संकलन इकाइ

सुनवलमा भूमि समस्या समाधान आयोगको लगत संकलन इकाइ

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीको सुनवल नगरमा भूमिसम्बन्धी समस्या समाधान आयोगले लगत संकलन इकाइ स्थापना भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले इकाइ कार्यालय उद्घाटन गरे ।

 

कार्यक्रममा अध्यक्ष ज्ञवालीले विगतमा धेरै आयोग बने पनि सबै सकुम्बासी भूमिहीनको समस्या समाधान हुन नसकेको अवस्थामा वास्तविकता अध्ययनमा आयोग लागिपरेको बताए । विगतमा बाँडिएका पुर्जाको पनि आयोगले अध्ययन गर्ने उनको भनाइ छ ।


लगत संकलन र प्रमाणीकरणको काम आयोगले केन्द्रमा बसेर गर्न नसक्ने बताउँदै यसको सम्पूर्ण जिम्मेवारी स्थानीय तहका जनप्रतिनिधिको भएको अध्यक्ष ज्ञवालीले जानकारी दिए । ‘जनप्रतिनिधिले सही भूमिहीन पहिचान गरेर आयोगको काममा साथ दिनुपर्छ’, उनले भने । सुनवल नगरप्रमुख भीमबहादुर थापा क्षेत्रीले नगरका सबै भूमिहीनको सही पहिचान गरिने प्रतिबद्धता जनाए ।

 

नगरप्रमुख संयोजक र उपप्रमुख सह–संयोजक रहने लगत संकलन इकाइ कार्यालय सुनवल नगरपालिका भवनमा स्थापना गरिएको हो । यसअघि आयोगले सूचना प्रकाशित गरिसकेकाले लगत संकलकलाई तालिम प्रदान गरेपछि गाउँ–गाउँमा पुगेर विवरण संकलन गरिने छ ।

 

कार्यक्रममा नगर उपप्रप्रमुख दधिराम अर्याल, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायत सहभागी थिए ।

 

पश्चिम नवलपरासीका तीन स्थानीय तह सुनवल, रामग्राम र बर्दघाट नगरपालिकामा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने गरी आयोगले काम थालेको हो ।