उदयपुर- वरिष्ठ संगीतकार एवम् लोक बाजा संरक्षण अभियन्ता बुलु मुकारुङले लोक बाजाहरु लोप हुँदै जाँदा नेपाली पहिचानहरु गुम्दै जाने चिन्ता व्यक्त गरेका छन् ।
उदयपुरको गाईघाटमा पत्रकारहरुसँगको भेटघाटमा यस्तो चिन्ता व्यक्त गरेको हो । नेपालका विविध जातजाति, धर्म, संस्कृति, संस्कार, चाँडपर्व नै नेपालको पहिचान र सम्पत्ति हो भन्दै त्यससँग जोडिएका लोक बाजाहरुको विषेश महत्व रहेको बताए ।
क्षेत्री, ब्राह्मण, दलित समुदाय, आदिवासी जनजाति समुदाय भित्रका राई, मगर, लिम्वु, तामाङ, दनुवार, चौधरी आदिले प्रयोग गर्ने लोकबाजाहरु उनीहरुको पहिचानसँग जोडिएको हुदा महत्वपूर्ण छ । तर लोकबाजाहरु लोप हुने क्रम बढ्दो रहेकोले नेपाली पहिचान गुम्ने र नेपाली सम्पदा गुम्ने खतरा बढेको उनको भनाइ छ ।
सबै जातिको लोक बाजा र उनीहरुको भाषा, धर्म, संस्कार, संस्कृति जगेर्णा, संरक्षण र सम्बद्र्धनमा राज्यको ध्यानाकर्षण गराउन लाग्नुपर्नेमा उनको जोड छ ।
लोपोन्मुख लोक बाजाहरुको संकलन गरी संग्राहलय निर्माणमा जुट्नु पर्ने भन्दै उनले यसका लागि आफु लोक बाजाहरुबारे सोधखोज गरी पुस्तक नै प्रकाशन गर्ने लक्ष्यका साथ अभियानमा जुटेको जानकारी दिए ।
लोक बाजा लोप हुदै जानुमा लोक बाजासँग मानिसको आयआर्जन नजोडिनु, आधुनिक बाजागाजाको प्रयोग बढ्नु, मौलिक संस्कृति भन्दा पाश्चात्य संस्कृतिमा रमाउनु जस्ता कारणहरु रहेको उनको तर्क छ ।