close

विदेशिएका युवाको रकमले वडामा राहत कोष 

विदेशिएका युवाको रकमले वडामा राहत कोष 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ वडा कार्यालयको समन्वयमा वैदेशिक रोजगारमा रहेका युवाहरूको आर्थिक सहयोगले वडामा राहत कोष खडा गरिएको छ । 

 

सिस्ने वडा नम्बर ३ पोखरा घर भई हाल वैदेशिक रोजगारको सिलसिलामा अमेरिका रहेका सुधीर ओली, पुष्पजंग केसी, रवीन्द्र केसी र कृष्णबहादुर खड्कालगायत ३३ जना युवाले वडाका विपन्न घरपरिवार, विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत कोष स्थापना गरिएको वडाध्यक्ष पशुपति खड्काले जानकारी दिए । 

 

उक्त राहत कोष स्थापना भएदेखि हालसम्म २ लाख २ हजार रुपैयाँ जम्मा भएको वडाध्यक्ष खड्काले बताए । 

 

उक्त रकमले हाल गाउँमा विपत्तिमा परेका र विपन्न परिवारलाई सहयोग गरिँदै आएको छ । ‘मंगलबार क्यान्सर रोगबाट निधन भएका वडा नम्बर ४ का भीमबहादुर केसीको घरपरिवारलाई १० हजार रुपैयाँ सहयोग गरेका छौँ’, वडाध्यक्ष खड्काले भने । 

 

वडामा खडा गरिएको राहत कोषबाट हालसम्म ५ जना व्यक्तिलाई आर्थिक सहयोग र जिल्लामा कोरोना भाइरस संक्रमणको समय वडाबासीलाई ८ सय ७ पिस सर्जिकल मास्क वितरण गरिएको छ । 

 

सिस्ने वडा नम्बर ३ का जंगे ढमाई र तिलकुमारी सार्कीको घर आगलागी हुँदा नगद २५/२५ हजार रुपैयाँ सहयोग गरिएको छ भने, सोही वडाकै विपन्न परिवारका काली खत्री र सुनिता नेपालीलाई नगद ५/५ हजार रुपैयाँ सहयोग गरिएको छ । 

 

हालसम्म राहत कोषबाट ९० हजार १ सय ७५ रुपैयाँको सहयोग गरिएको छ । राहत रकम जुट्ने क्रम जारी रहेकामा हाल कोषमा १ लाख ११ हजार ८ सय २५ रुपैयाँ बाँकी रहेको वडाले जनाएको छ ।