close

सैनामैनामा सुरुभयाे 'महिलासँग उपप्रमुख’ कार्यक्रम

सैनामैनामा सुरुभयाे 'महिलासँग उपप्रमुख’ कार्यक्रम

Trulli
ADVERTISEMENT

रूपन्देही(सैनामैना)- रूपन्देहीको सैनामैना नगरपालिकामा 'महिलासँग उपप्रमुख’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।


नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ बमोजिम नगरमा सोमबारदेखि १ महिने हाते ढाका बुनाइ ( होजियारी) तालिम सुरु भएको हो । 


सैनामैनाको वडा नम्बर १ रानिबगियामा तालिम उद्घाटन गर्दै सैनामैना नगरप्रमुख चित्रबहादुर कार्कीले नगरमा रहेका महिला दिदीबहिनीलाई उद्यमी बनाउने योजनाअनुरूप तालिम सञ्चालन गरिएको बताए । उनले भने, ‘घरघरमा उद्यमी महिला उत्पादन गर्ने नगरको लक्ष्य छ । यसमा महिला दिदीबहिनीको साथ आवश्यक छ ।’


तालिममा सिकेका कुरालाई व्यवहारमा परिणत गर्नुपर्नेमा जोड दिँदै प्रमुख कार्कीले सीप सिकेर व्यवसाय गर्न चाहनेलाई मेसिन उपकरणसमेत सहयोग गर्ने प्रतिबद्धता जनाए । 


घरेलु उद्योगलाई प्रवर्द्धन गर्दै लघु उद्यममा प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिका भत्र भएका पछि परेका, विपन्न, जनजाति तथा फरक क्षमता भएका महिलालाई लक्षित गरी तालिम सुरु गरिएको उपप्रमुख बिना रानाले जानकारी दिइन् ।

 

उनले महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न खाले कार्यक्रम सञ्चालन गरिरहेको र ढाका बुनाइबाट राम्रो आम्दानी लिन सकिने भएकाले सबै वडाका महिलालाई लक्षित गरेर सञ्चालनमा ल्याइएको बताइन् ।


नेपाल मगर संघ सैनामैनाका अध्यक्ष सूर्यविक्रम रानाले ढाका बुनाइ परम्परागत कला रहेकाले यसले नेपालीको पहिचानसमेत दिलाउने धारणा राखे ।


नगरमा रहेका महिला दिदीबहिनीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिई ११ वटै वडाका करिब २२ जनालाई तालिम दिन थालिएको नगरको महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीको भनाइ छ । 

 

आगामी १८ फागुनसम्म सञ्चालन हुने तालिमको प्रशिक्षण सैनामैना परम्परागत हाते तान उद्योगकी सञ्चालक लेखा दगामी मगरले दिनेछिन् ।