close

राजनीतिक प्रतिशोधले खरानी बनाएको एउटा सपना

मेरो ट्याक्सी जलाएर प्रचण्ड र माधव नेपालले के पाए त हजुर ? 

राजनीतिक प्रतिशोधले खरानी बनाएको एउटा सपना

मेरो ट्याक्सी जलाएर प्रचण्ड र माधव नेपालले के पाए त हजुर ? 

Trulli
ADVERTISEMENT

काठमाडाैं– नीलकण्ठ नगरपालिका वडा नम्बर २, धादिङका ४१ वर्षीय कुम्भनारायण श्रेष्ठलाई गाडी चलाउँदाचलाउँदै एक्कासि प्यारालाइसिस अर्थात् पूरै शरीर नचल्ले भयो । पारिवारिक अवस्था सामान्य भएका कारण उपचारमा निकै समस्या छँदै थियो । आर्थिक अवस्था कमजोर भएपछि घरबारी बेचेरै उनले नयाँ जुनी पाए ।

 
लामो समयको उपचारपछि प्यारालाइसिस निको भयो । तर, त्यसभन्दा बढी भोको पेट कसरी भर्ने भन्ने पिरोलोले छोप्यो । सबैतिरबाट माम जुट्ने सम्भावना टाढिएपछि विकल्पमा उनी पहिलादेखि नै गर्दै आएको काम ड्राइभिङ गर्ने सोच बनाएर काठमाडौं छिरे । श्रेष्ठको दैनिकी काठमाडाैंको सडकमा ट्याक्सी कुदाउने बन्यो । 


घरजग्गा सबै उपचारमै स्वाहा भएपछि परिवार पाल्ने एक मात्र आधार ट्याक्सी बनेको श्रेष्ठ सुनाउँछन् । प्यारालाइसिस निको पार्न करिब १६ लाख रुपैयाँ खर्च भयो । घरजग्गाले पुगेन । 

 

भएभरको जायजेथा उपचारमा सकिएसँगै सन्तान पाल्ने कुनै आधार नभएपछि उनकी श्रीमतीले नुवाकोटमा जग्गा भाडामा लिएर जीविका चलाउँदै आए् । श्रेष्ठ दम्पतीका २ छोरी र १ छोरा छन् । श्रीमतीले नुवाकोटको जग्गामा वार्षिक २८ हजार रुपैयाँ भाडा तिरेर गाई–बाख्रा पाल्दै छन् । 

 

कमाइ खाने श्रीसम्पत्तिको नाममा रहेको साहूको ट्याक्सी राजनीतिले जलाइदिएपछि श्रेष्ठ झनै पीडामा छन् । नेकपा प्रचण्ड–माधव खेमाको आमहडतालका क्रममा काठमाडौैंको सामाखुसीमा ट्याक्सी जलेपछि अब के गर्ने भन्ने सुर्तामा छन् उनी ।

 

श्रीमान्ले चलाउँदै आएको ट्याक्सी जलेको उनकी श्रीमती अस्मिता श्रेष्ठलाई थाहै थिएन । श्रीमान्ले बिहानै फोन गरे । फोन उठाउनासाथ श्रीमान्ले बिलौना कहे, ट्याक्सी आन्दोलनकारीको निशानामा पर्‍यो र खरानी भयो ।

 

कमाइ खाने माध्यम ट्याक्सी जलेको सुनेपछि अस्मिताका आँखा आँसुले भरिए । पछ्यौराको छेउले आँसु पुछ्दै उनले भनिन्, ‘श्रीमान्ले गाडी जल्यो, नागरिकता चाहिने भयो । काठमाडौं आऊ भनेपछि नुवाकोटबाट हिँडे । बन्द भन्ने थाहा थिएन । कतै हिँड्दै त कतै तरकारीको गाडीमा बल्लतल्ल यहाँ आएँ ।’

 

गरिबलाई जताबाट पनि मर्कामा पारेको गुनासो उनको छ । उनले भनिन्, ‘१४ वर्षीय छोरीलाई काठमाडांैमा अर्काको घरमा काम गर्न राखेकी छु । एउटा छोरा, अर्की छोरी मसँगै बस्छन् ।’


उपत्यकामा हरप्रहर दौडने ट्याक्सी चालक श्रेष्ठलाई राजनीतिप्रति उति चासो थिएन । न उनलाई देश–दुनियाँको समाचारमा चासो थियो, न त कुनै राजनीतिक दलले कहिले कहाँ के गर्दै छन् भन्ने जानकारी नै । 

 

श्रेष्ठको दैनिकी भोको पेट भर्न र शरीर ढाक्न साँझ–बिहान नभनी सडकमै दौडिनु हुन्थ्यो । ट्याक्सी साहूलाई तिर्र्नुपर्ने मासिक रकम, घर खर्चको आधार भनेकै सोही ट्याक्सी कुदाएरै जुटाउँथे । 

 

सदाझैँ बिहीबार पनि एकाबिहानै उनी प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको आफूनो रोजीरोटी ट्याक्सी लिएर सडकमा निस्किए । थापाथलीबाट यात्रु बोकेर सोह्रखुट्टे पुगे । त्यहीँबाट सामाखुसी जाने मान्छे भेटे । 

 

सामाखुसीबाट फर्किनै लाग्दा १ जना व्यक्तिले चाबहिल जाऊँ भने । बन्दका बेला खाना खर्च जुट्ने आशमा उनी चाबहिल हानिन तयार भए । 

बिहान झिसमिसे नभइसकेको अवस्थामा उनले ती व्यक्तिलाई राम्रोसँग चियाउन पनि पाएका थिएनन् । ‘मिटरमा जाऊँ न,’ ती व्यक्तिले चाबहिलको कति लिने भनेर सोध्नेबित्तिकै उनले जवाफ फर्काए । 

 

‘सिटबेल्ट बाँधेर ट्याक्सी कुदाउन स्टेरिङ घुमाउँदै थिएँ । एक्कासि ट्याक्सीमा आगो सल्किएको देखेँ । पछाडि राखिएको चकटीमा आगो दन्किरहेको थियो’, श्रेष्ठले गहभरि आँसु झार्दै भने, ‘के गरौँ, कसो गरौँ भयो । आत्तिँदै चकटी फ्याकेँ तर अघि चाबहिल जान्छु भन्नेसँगै आएका व्यक्तिले पेट्रोल खन्याइसकेको देखेँ ।’

 

गरिखाने ट्याक्सीमा आगो दन्किरहेको हेर्नुबाहेक उनीसँग अरू उपाय थिएन । ‘घरबारी सबै सकियो । अरू कुनै आधार छैन । मुख जोड्ने साहूको ट्याक्सी जलेसँगै उनका सपना पनि जले । कसैलाई नपिरोले पनि आफूलाई राजनीति गर्नेहरूले पिरोलेको सम्झिए, श्रेष्ठले ।

नयाँ बानेश्वरको एक होटलमा खाना खाँदै गरेका उनले भने, ‘अहिलेसम्म मैले जानेकै यही ट्याक्सी चलाउन हो । यो पनि जलेपछि साहूले के भन्लान् । चिन्तामाथि चिन्ता थपियो ।’ ट्याक्सी चलाएर गाउँमै थोरै जग्गा किनेर घर बनाउने सपना पनि अब विपना भएको उनको गुनासो छ ।

‘बेलैमा ट्याक्सीमा आगो सल्केको थाहा पाएँ र बचँे । रोगले मरेर बाँचेको मलाई आफ्नो दोस्रो पुनर्जन्म भएजस्तो लाग्यो,’ श्रेष्ठ भक्कानिए । 

 

साहुले चलाउन दिएको ट्याक्सीसँगै उनको सपना पनि खरानी भयो । परिवार पाल्ने एउटा भाँडो दलीय आन्दोलनले खायो । बेलुका घरमा के खाने भन्ने चिन्तासँगै उनलाई साहु बुझाउने अर्को चिन्ता  थपिएको छ । 

 

भन्छन्, ‘मजस्ता गरिखानेको साधन जलाएर नेताले त कुसी पाउलान तर मैले के पाएँ ?’ आन्दोलनको नेतृत्व गरेका प्रचण्ड र नेपाल दिनभर गाडीमा हुँइकिदा उनीहरुको सवारीमा कसैले पेट्रोल छर्किने हिम्मत गरेन । भक्कानिदै सोध्छन्, ‘मेरो गाँसमा पेट्रोल हालेर आखिर के पाए प्रचण्ड र नेपालले ?’  

 

जति आक्रोस पालेपनि अव उनीसँग परिवार पाल्न तत्काल अर्को विकल्प छैन । दाताले दिएको १० हजार रुपैयाँ गोजीमा हाल्दै बानेश्वरमा भेटिएका श्रेष्ठ भन्छन्,  ‘मजस्ता गरिखानेको भाँडोसँगै म र मेरो परिवारको जस्तो मन अव कहिल्यै नजलाइयोस् ।’