close

मुगेली महिलाका पीडा : छाक टार्न १० बर्षदेखि बजाउँदै छन् ढुंगा 

मुगेली महिलाका पीडा : छाक टार्न १० बर्षदेखि बजाउँदै छन् ढुंगा 

Trulli
ADVERTISEMENT

मुगु- हातमा हतौडा, औँलामा गाडीको ट्युबको पञ्जा । घाँटीमा पहेँलो पोतेको माला, टाउकोमा रुमाल, मुखमा मास्क, नाकमा फुली, बुलाकी अनि पछ्यौराले ढाकिएकी एक महिलाको दैनिक गिटी कुटाइमै बित्ने गरेको छ । 

 

गिटी नकुटी दैनिक छाक टार्न मुस्किल पर्ने छायानाथ रारा नगरपालिका वडा नम्बर ५ ढुमगाउँकी दलित महिला रन्नदेवी विकको दैनिकी यसरी बितिरहेको छ ।

 

उनलाई बिहान उठ्नेबित्तिकै कुन ठाउँ जाने, के गर्ने, के खाऔँ, के लाऔँ भन्ने पिरालो छैन । चिन्ता छ, केवल गिटी कति कुट्ने भनेर । पछिल्लो समय मुगुका अधिकांश महिलाले गिटी कुटैर आफ्नो घरपरिवार धान्न थालेका छन् । 


यहाँका महिला पुस र माघको ठिहिर्‍याउँदो चिसोमा गिटी कुट्दै जीवन धान्न बाध्य छन् । विशेषगरी छायानाथ रारा नगरभित्रका थार्प, रुगा, लुम, ढुम, तलितुमलगायत अन्य गाउँका दलित महिलाले गिटी कुटेरै जीवन धान्न बाध्य छन् । अधिकांश दलित महिलाहरूले गिटी कुटेरै जीवन धानिरहेका हुन् । 

 

छायानाथ रारा नगरपालिका वडा नम्बर ५ की २६ वर्षीया रामती कामीले गिटी फोरेको आम्दानीबाट घरखर्च चलाउँदै आएको बताइन् । बिहानै गिटी फोर्न घरबाट निस्केएकी उनी बेलुका मात्र घर फर्किन्छन् ।

 

सदरमुकाम गमगढी बजारलगायत आसपासका स्थानमा गिटी कुट्ने गरेको उनले सुनाइन् । कामीले भनिन्, ‘गिटी कुटेर मासिक ५ देखि १० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । यो आम्दानीबाट घरखर्च, छोराछोरीलाई पठनपाठनमा चलेको छ ।’


उनले गिटी कुट्न लागेको करिब १० वर्ष बितिसक्यो । गिटी कुटेर रकम नबचे पनि दैनिक जीविका भने चलिरहेको कामी सुनाउँछिन् । कामी मात्र होइनन्, सोही वडाकी ४० वर्षीया रन्नदेवी विकको पनि उस्तै कथा छ । रन्नदेवीको गिटी कुटाइमा श्रीमान्ले पनि साथ दिन्छन् । 


‘छाक टार्नैका लागि गिटी कुट्नुपरेको छ । अरू आम्दानीको आश छैन । थोरै भए पनि यसबाटै कमाइ हुने गरेको छ’, रन्नदेवी खुसी सुनिइन् ।

 

मुगेली महिलाले गिटी कुटाइलाई स्वरोजगार ठान्ने गरेका छन् । ‘श्रीमान्-श्रीमतीले गिटी कुटेर मासिक २० हजार रुपैयाँसम्म कमाइ गर्दै आएका छौँ’, रन्नदेवीका श्रीमान् नारायणसिंह कामीले भने । 


यस्तै, बालमन्दिर आधारभूत विद्यालय चैनगाउँमा कक्षा ३ मा अध्ययनरत ११ वर्षीया बालिका भैपुरा कामीले पनि आफ्नी आमा र काकीसँग दैनिक गिटी कुट्न बजार पुग्ने गरेको बताउँछिन् । गिटी कुटैर आफ्नो पढाइ खर्च टरेको उनको भनाइ छ । 

 

उनले भनिन्, ‘आमाले पनि गिटी कुटेरै मलाई पढाइ रहनुभएको छ । आमाको एकल कमाइले घर खर्च जुटाउन हम्मे-हम्मे परेपछि पढाइ छाडेरै गिटी कुट्ने गरेकी छु ।’  नियमित विद्यालय जाने रहर भए पनि बाध्य भएर ढुंगासँग खेल्नुपरेको बालिका भैपुरा सुनाउँछिन् । 


मुगुका अधिकांश महिला तथा युवायुवती घर खर्च चलाउन निजी र सरकारी भवन निर्माणको कामसमेत गर्दै आएका छन् । घरखर्च टार्नैका लागि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । निमार्णको काममा महिलालाई न्यून पारिश्रमिक दिइने गरेको उनीहरू सुनाउँछन् ।


महिलाहरूले एक कट्टाको ५० देखि ६० रुपैयाँ मात्र पाउने गरेका छन् । उनीहरूले दिनभरि बढीमा ३ कट्टा मात्र गिटी फोड्न सक्छन् । हिउँदमा खेतीपाती नहुने हुँदा थोरै पारिश्रमिकमा पनि काम गर्न बाध्य भएको उनीहरूको भनाइ छ ।

 

छायानाथ रारा नगरपालिका प्रमुख हरिजंग शाही नगरभित्रका बेरोजगार युवा-युवती र महिलालाई व्यवसाय सञ्चालनका लागि विभिन्न सीपमूलक तालिम कार्यक्रम ल्याइरहेको र केही सञ्चालनमा आइसकेको बताउँछन् । मुगुका स्थानीय पर्यटन, जल, जडीबुटीबाट समृद्ध भए पनि सदुपयोग नहुँदा गरिबीमै बाँच्न बाध्य छन् ।